राधा लुइटेल
फिदिम, असार ७ गते। एघारौं अन्तर्राष्ट्रिय योग दिवस पाँचथरको सदरमुकाम फिदिममा विविध कार्यक्रमको आयोजना गरेर मनाइएको छ। ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योग’ भन्ने मुल नारासहित पतञ्जली योग समिति नेपाल, पाँचथरको अगुवाइमा दिवस मनाइएको हो।
दिवसका सन्दर्भमा प्रभातफेरी र योगको महत्त्वमा चर्चा परिचर्चासँगै योग आसनका नमूना प्रदर्शन र शुभकामना आदान प्रदान कार्यक्रम सञ्चालन भएको हो। फिदिम १ स्थित पतञ्जली योग समितिको साधना कक्षबाट सुरु भएको प्रभातफेरी शिवालय मन्दिर पुगेको थियो।
कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य भिष्मराज आङदेम्बेले योग गरेर आर्जन गर्ने स्वस्थ जीवनले रोग लाग्न नदिन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। पतञ्जली योग समिति पाँचथरका अध्यक्ष हरिप्रकाश सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रम फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरका प्रमुख टेकनाथ अर्याल र पतञ्जली योग समिति नेपालका केन्द्रीय सदस्य शान्ता गौतम लगायतले नियमित योग गर्दा हुने फाइदा, महत्त्वका विषयमा चर्चा गर्नुभएको थियो।