• ७ असार २०८२, शनिबार

समयको सग्लो चित्र : अभिशप्त कुइनेटाहरू

blog

मेरो हातमा जीवराज भट्टराईद्वारा लिखित ‘अभिशप्त कुइनेटाहरू’ कथासङ्ग्रह छ । कथाकारको यो तेस्रो कृति रहेछ । म भने बल्ल लेखकलाई पहिलो पटक पढ्दै छु । भौतिक रूपमा पनि म कथाकारसँग परिचित रहिनछु । लेखकसँग परिचित नभईकन एकै चोटि उसको सिर्जनासँग नजिकिनु अपरिमित आनन्द हो भन्ने लाग्छ मलाई । यसो गर्दा सिर्जनाको वास्तविक पठन हुन्छ भन्ने लाग्छ मलाई । 

समसामयिक विषयका २२ वटा शीर्षक विषयसूचीमा सजिएका छन् । सरसर्ती शीर्षकमा आँखा दौडाउँछु । प्रतीकात्मक शीर्षकले नै मलाई कथा पढ्ने उत्कण्ठा बढाइरहेको पाउँछु । सुरुको कथा ‘अमलेखित होरिलाल’ कारागारका विषयमा लेखिएको कथा हो । निर्दोष व्यक्तिलाई फसाएर कसरी कारागारमा पु¥याइन्छ र दोषी कसरी उम्कन्छ भन्ने जान्न यो कथा उपयुक्त छ । एउटा औँठाछापको नाममा कम्पनी खडा गरिदिनु र १२ करोडभन्दा बढी राजस्व छली गरेको कसुरमा जेल हालिएको होरिलालको कथा हो यो । प्रथम कथा आस्वादनबाटै कथाकारप्रतिको विश्वास दरिलो हुँदै जान्छ । उहाँ राम्रा स्रष्टा हुनुहुन्छ भन्ने भाव कथाले प्रदान गर्छ । बडो अभिरुचिपूर्वक कथा पढ्दै जान्छु । कतै प्रेमका सुस्केराहरू उद्वेलित छन् कतै विश्वासघात र धोकाका । आफ्नै प्रेमिकालाई लामो समयपछि अनपेक्षित रूपमा देख्दाको अवस्थालाई बडो मार्मिक रूपमा ‘लक्ष्मी भाउजू उर्फ लक्ष्मनिया’ मा चित्रण गरिएको छ । शरीर राजनीतिसँग मिल्ने नारीशक्तिमा आधारित ‘तुफानी तरङ्ग’ कथाले कथाकारको नारीप्रतिको दृष्टिकोणलाई अभिव्यक्त गरेको छ । 

जातीय विभेदले समाजलाई अझै पनि गाँजिरहेको सन्दर्भ ‘उजेलीको आलोक’ कथामा पढ्न पाइन्छ । आफ्नै देशको जडीबुटी र पर्याप्त पर्यटनको सम्भावना पहिचान गर्न नसक्नुको अवस्थालाई ‘असमाधान’ शीर्षकको कथामा अभिव्यक्त गरिएको छ । वर्तमान समाजमा वैदेशिक रोजगारीले पारेका प्रभावहरू अकल्पनीय छन् । पारिवारिक वियोगसँगै तिनले निम्त्याउने आर्थिक, सामाजिक, यौनिक समस्याको पाटो विकराल बन्दै गइरहेको छ । 

‘ग्लोबल भिलेज’ को संसारमा बाँच्न जति सहज छ, उति नै यसका अँध्यारा पक्षसँग साक्षात्कार गर्न कठिन छ । यिनै यथार्थलाई पनि भट्टराईले कथाको विषय बनाउनु्भएको छ । ‘विदेशको बसाइँ’, 

‘विदेशीसँगको बिहे’ कथामा यी सन्दर्भलाई सटिक ढङ्गले  भेट्न सक्छौँ । विदेशीसँग घुलमिल हुन नसक्दाको अवस्थालाई ‘दुई ध्रुव : एक फन्को’ कथामा चित्रण गरिएको छ । कतिपय सम्बन्ध निकट भईकन पनि साइनोविहीन हुन्छन् । साइनोमा बाँधिएकाहरू टाढिन्छन् । बिनासाइनोका सम्बन्धहरू नजिकिन्छन् । त्यस्तै भावना बोकेको कथा हो, ‘अपरिभाषित सम्बन्ध’ । वर्तमान समयमा यस्ता सम्बन्ध बढ्दै गइरहेका छन् । शीर्षकथा ‘अभिशप्त कुइनेटाहरू’ मा मनमा कुभावना नहुँदानहुँदै पनि कहिलेकाहीँ परिस्थितिले नसोचेको स्थिति भोग्न बाध्य पार्ने कथाबारे चित्रण गरिएको छ । ‘रातो गलबन्दी’ शक्तिमा पुग्नेहरूले कसरी शक्तिको दुरुपयोग गर्छन् भन्नेबारेमा लेखिएको कथा हो । वर्तमान समाजमा हामीले भोगिरहेको यो कथाले समाजको यथार्थ चित्रण गरेको छ । गरिबीले लखेटिएर रञ्जिता जस्ता पात्रहरू कसरी दोहोरी साँझ र रेस्टुरेन्टमा आफ्नो श्रमसँगै इज्जत बेच्न बाध्य छन् भन्ने कुरालाई चित्रण गरिएको कथा हो, ‘रञ्जिता’ । 

कथाकार जीवराज भट्टराई पत्रकार पनि भएकाले उहाँमा कथालेखनका विषयवस्तु विविध छन् । उहाँ कतै ‘सरोगट मदर’ बनेर बाँच्नुपर्ने अहिलेको समाजलाई खोतल्न पुग्नुहुन्छ । कहिले मजदुर आन्दोलनले अस्तव्यस्त बनेको उद्योगको अवस्थालाई कथामा चित्रण गर्नुहुन्छ । समयमै मजदुरको समस्या समाधान गर्ने कौशल नहुँदा कस्तो समस्या आइपर्छ भन्ने कुरा बुझ्न ‘एउटा उद्योगको कथा’ शीर्षक काफी छ । निजी अस्पतालको चर्को शुल्क तिर्नुभन्दा बिरामी नै परेको छैन म भन्ने नाटक गरेर बाँच्न विवश पात्रको कथा ‘दुर्घटना’ कथामा अभिव्यक्त गरिएको छ । ‘अवतरण’ कथामा मितव्ययी पात्रको मनोभावना केलाइएको छ । अहिलेको पुस्ता आधुनिकीकरण र सहरीकरणको चपेटामा परेर सोखिन जीवन बाँच्न कसरी लालायित छ भन्ने कुरा यसमा देखाइएको छ । पैत्रिक सम्पत्ति बाँडफाँट गर्दा कतिपयले छोरीलाई छुट्याउँदैनन् तर कथाकार उदार देखिन्छन् । ‘अवतरण’ कथाको एक अंश यहाँ राख्नु सान्दर्भिक ठान्छु–

श्रीमतीको माग आधा पेन्सनको थियो । रुद्रले त्यसलाई स्विकारेपछि ३४ वर्षको तनावपूर्ण सम्बन्ध अन्त्य भयो । गाउँको जग्गा बेचेपछि केही छोरीलाई छुट्याएर बाँकी तीन भाग लगाइयो । रुद्रको बाहेक अरू तीन जनाको पैसा लिएर छोरो काठमाडौँतिर लाग्यो ( अवतरण, पृ.६७ ) ।  

यस कथासङ्ग्रहमा सङ्गृहीत कथाहरूको शिल्पपक्षले पाठकलाई मज्जाले तान्छ । कथामा प्रयोग गरिएका शब्दचयन र कथाले दिन खोजेको सन्देश उपयुक्त छ । पाठकलाई टपक्क बाँधेर राख्ने क्षमता कथाहरूमा भेटिन्छ । वर्तमान समाजमा बढ्दै गइरहेको एकाङ्कीपन, निराशा र कुण्ठाको विषयमा पनि लेखकको कलम चलेको देखिन्छ । सामाजिक यथार्थवादी कथाहरूका विषय नै प्रस्तुत कथासङ्ग्रहमा समेटिएको पाइन्छ । कथा मझौला आयामका छन् । भाषा कलात्मक भईकन पनि सरल छन् । कतिपय मौलिक शब्दको प्रयोगले कथालाई माझेका छन् । अझ छोटा छोटा वाक्यगठनमा कथा सिर्जना गरिएको भए अझ सुन्दर बन्थे कथा । कुनै कुनै कथाको अन्त्य हतारपूर्वक आएको छ । यद्यपि वर्तमान यथार्थ, सामाजिक, सांस्कृतिक घटना र परिवेशमा आधारित कथाले हरेक पाठकले आफ्नै कथा लेखिएको महसुस गर्छन् ।  

समाजका विसङ्गति र विकृतिप्रति औँला उठाउन साहित्य लेखनको ठुलो महत्व हुन्छ । यस्तो लेखकीय सीप सबैमा हुँदैन । जोसँग हुन्छ उसले यसरी कथा सिर्जना गरेर नेपाली साहित्यलाई प्रवर्धन गर्नु महत्वपूर्ण कुरा हो । कथा लेखनको खडेरी परिरहेको वर्तमान अवस्थामा विविध विषयवस्तु समेटिएको कथासङ्ग्रह नेपाली साहित्यले प्राप्त गर्नु उल्लेखनीय कुरा हो । प्रातःकालीन भ्रमणमा जाँदा देखेका कतिपय कुरालाई कथाको विषय बनाएको कुरा गर्ने लेखकमा पर्याप्त लेखकीय चेत रहेको महसुस हुन्छ । कथा लेखनको यो सिलसिला सदैव कायम भइरहोस् र नेपाली साहित्यले अझ यहाँका कृति प्राप्त गरोस् भन्ने शुभकामना पनि म व्यक्त गर्दछु ।