सिराज खान
नेपालगन्ज, असार ७ गते । बाँके जिल्लाको खजुरा गाउँपालिकाबाट वैदेशिक रोजगारीमा जानेहरूको अवस्था निकै सोचनीय रहेको पाइएको छ ।
सो पालिकाबाट वैदेशिक रोजगारीमा विभिन्न देशमा गएकाहरू मध्ये हालसम्म २८ जनाको मृत्यु भइसकेको गाउँपालिकामा रहेको रोजगार सेवा केन्द्रले जनाएको छ ।
गत दुई वर्षभित्र मात्रै पालिकाबाट वैदेशिक रोजगारीमा गएका १४ जनाको मृत्यु भएको जनाउँदै खजुरा गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख लोकराज संज्यालले हालसम्मको तथ्याँक अनुसार खजुराबाट वैदेशिक रोजगारीका लागि जानेहरू मध्ये कुल २८ जनाको ज्यान गइसकेको बताउनुभयो । उहाँले चार जनाको अङ्गभङ्ग भएको घटना आएको पनि बताउनुभयो ।
रोजगार सेवा केन्द्रका अनुसार हालसम्म खजुरा गाउँपालिकाबाट ६ हजार ४०० जना वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको मृत्यु हुनेमा सबैभन्दा बढी खाडी मुलुकहरू रहेको पाइएको छ ।
यसैबिच खजुरामा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारबाट फर्किएकासँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
गाउँपालिकाको रोजगार सेवा केन्द्रले आयोजना गरेको सो कार्यक्रममा खजुराबाट वैदेशिक रोजगारीमा गएर फर्केकाहरूको सहभागिता रहेको थियो । रोजगार सेवा केन्द्रका प्रमुख संज्यालले वैदेशिक रोजगारीमा जाँदा पूर्ण श्रम गरेर मात्र जान अनुरोध गर्नुभयो ।
केन्द्रले एकल महिला रोजगार कार्यक्रम अन्तर्गत जीवन उपयोगी सीप, हाते औजार बनाउने तालिम लगायत सञ्चालन गरिरहेको पनि जनाइएको छ ।
रोजगार सेवा केन्द्रले सुरक्षित आप्रवास (सामी) कार्यक्रम सञ्चालन गरी वैदेशिक रोजगारीमा जाने, जान चाहने र फर्किएकाहरूका लागि विभिन्न सीपमूलक तालिम दिने गरिएको सेवा केन्द्र प्रमुख लोकराज संज्यालले बताउनुभयो ।
सेवा केन्द्रले नागरिकमा सूचनाको पहुँच, कानुनी सहजीकरण, सीप विकास तालिम, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता प्रदान गर्ने गरेको उहाँले बताउनुभयो ।