• ७ असार २०८२, शनिबार

बाँकेमा गर्मीले झाडापखाला र ज्वरोका बिरामी बढे

blog

गर्मीका कारण भेरी अस्पतालमा पुगेका बिरामीको चाप। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार ७ गते। बाँकेमा अत्याधिक गर्मीबाट झाडापखाला, ज्वरो र छालाका बिरामीको सङ्ख्या बढ्दै गएको छ। 

अत्यधिक गर्मी बढेका कारण जिल्लाका विभिन्न स्थानमा रहेका अस्पतालमा झाडापखाला, ज्वरो र छालाका बिरामी उपचारका लागि पुग्नेक्रम बढ्दै गएको अस्पतालले जनाएका छन्। 

भेरी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा. संकेतकुमार रिसालका अनुसार गर्मीले गर्दा पखाला लागेको, ज्वरो आएका र छाला सम्बन्धी विभिन्न समस्या लिएर आउने बिरामी बढ्दै गएका छन्। 

डा. रिसालले अत्याधिक गर्मीकै कारण अधिकांशलाई छाला सम्बन्धी समस्यासँगै प्रेसर घटबढ हुने तथा पखाला र रुघाखोकी एवं ज्वरो समेत देखिएको बताउनुुभयो। 

यसैगरी सञ्जीवनी मेडिकल साइन्सेस प्रालिको नेपालगन्ज शिक्षण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाइले हाल आएर झाडापखाला र छालाजन्य रोगका बिरामी शिक्षण अस्पतालमा आउनेक्रम बढेको बताउनुभयो। उहाँले अत्यधिक गर्मीकै कारण बालबालिकामा रातो बिमिरा आउने र पाकेर घाउ बन्ने जस्ता संक्रमण पनि देखिएको जनाउनुभयो। 

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जिल्लाको सहरी तथा ग्रामणि क्षेत्रका स्वास्थ्य संस्थामा गर्मीबाट बिरामी परेका बालबालिका, वृद्धवृद्धा  र अन्य महिला पुरुष पुग्नेक्रम बढेको जानकारी आएको बताउनुभयो।