धेरै हिसाब किताब सँगालेर ढल्किँदै गइरहेको थियो, उनको उमेर । युवा वयका खुट्किलाहरू चढ्दै गर्दा पनि एक्लै थिए, उनी । पारिवारिक सम्बन्धका हिसाबले उनी दरिद्र थिएनन् । बाबु थिए, आमा, हजुरबा, हजुरआमा, दिदी, भाइ सबै । सबैका स्नेहले तृप्त र देदिप्यमान देखिन्थे । उनको जीवन–परिधि भने आलोकवृत्तको साँध–सीमाभित्र अट्न नसकेर क्रमशः धूमिल हुँदै गइरहेको थियो ।
उमेरले मध्याह्न पार गरी दक्षिणायण दिशातिरका पर्वत शृङ्खला ताक्दै गर्दा पनि अविवाहित जिन्दगीमै रमाइरहेका थिए, उनी । समकालीन छोराछोरी हुर्काउने उपक्रममा थिए । बग्रेल्ती होइनन्, एकाध मात्र । उनी भने....।
“अङ्कल नमस्ते !” समवयीका छोराछोरीले दुवै हात उठाएर अभिवादनको भाषा बोल्दा उनी आफूभित्र लज्जाबोध उमार्दै भन्थे, “नमस्ते, नानु ! अँ, अस्ति तिमीले राम्रो पर्फमेन्स देखाएछौ नि, हैन ?”
“हो, अङ्कल । कसरी थाहा पाउनु भो तपाईंले ?”
“अरू कोबाट थाहा पाउनु । तिम्रै बाबाबाट ।”
“थ्याङ्क्यु, अङ्कल ।” आफ्ना साथीभाइका छोराछोरीबाट यस्ता शब्द आउँदा उनी खुसी हुन्थे र शतप्रतिशत भाव–द्रवित पनि । उनी भन्थे, “मैले तिमीलाई एउटा गिफ्ट ल्याइदिएको छु ।”
उनी आधुनिक टाइपको ब्यागबाट एउटा सानो वस्तु निकालेर दिन्थे । बालबालिकाप्रतिको अथाह स्नेहभाव हेर्न उनको व्यावहारिक धरातललाई नियाल्न करै लाग्थ्यो ।
“धेरै धेरै थ्याङ्क्यु अङ्कल !” बालबालिका उनीप्रति कृतज्ञताको फूलमाला बर्साउँथे । साँच्चै, बालबालिकाको खुसीको तह सुनामी झैँ छाल उरालेर फैलिन्थ्यो, निकै टाढा टाढासम्म । कहिले त केही परको शिवपुरीको उच्च र समृद्ध पर्वतमालासम्मै हुत्तिँदै जान्थ्यो ।
बालबालिकामा पलाएका अपार खुसीसँगै उनी केही सोचमग्न देखिन्थे ।
०००
एकदिन मैले उनीप्रति अतिशय भावुकता देखाएँ र आफूभित्रको उकुसमुकुसलाई सतहमा निकाल्दै सोधेँ, “अचेल तिमी दिनदिनै उदास र बेचैन बन्दै गइरहेका छौ ? यो मेरो हेराइ गलत पनि हुन सक्छ तर तिमी निकै उदास देखिँदै छौ ।”
“के म तपाईंले भने जस्तै देखिन्छु र ?” उनले अन्तर्यमा सञ्चित अर्धप्रतिशत मुस्कान यो मुस्कानविहीन पर्यावरणमा छर्दै भने ।
“त्यस्तै लाग्यो मलाई त ।” मैले भनेँ र उनको अवस्था बुझेर थपेँ मैले, “उमेर बढ्दै जाँदा जीवनसाथीको आवश्यकताबोध झन् बढ्दै जान्छ । हामीले कति सम्झाउनु तिमीलाई भाइ ! सोच त एक पटक । उमेर ढल्किँदै जाँदा अनेक समस्या ताँती लागेर आउँछन्, बर्सातका कमिला झैँ । यस्तो बेला...।” म धेरै नै भावुक बन्न पुगेँ ।
“तपाईंले त्यही बिहेको कुरा गर्नुभएको होला, हैन र ?” उनी पटक्कै गम्भीर देखिएनन्, पहिला पहिला जस्तै । “हो ।” मैले भनेँ, “अब तिमीले बिहे नगरी हुँदैन । तिमीले बिहेलाई कसरी बुझेका छौ ? मलाई थाहा छैन तर जीवन यात्रालाई गतिशील बनाउन र परिवारका सदस्यका ओठमा अप्रतीम मुस्कान भित्र्याउनका लागि भए पनि बिहे गर्नै पर्छ ।”
“म यो वैवाहिक ढाँचाको विरोधी हुँ ।” आफूलाई दार्शनिक भावभूमिमा उभ्याउँदै थपे, “म विवाह–संस्थाको विरोधी हुँ । हाम्रो विवाह–संस्थाले महिलालाई सधैँ शोषणको माध्यम मात्र बनाउँदै आयो । पितृ सत्ताको यौनिकताको राजनीतिक चरणबिच हाम्रो समाज सत्ता गुज्रिरहेको छ ।”
“त्यति भावुक नबन । आधुनिकता, उत्तरआधुनिकता के के ‘ता’ हुँदै गुज्रिएर आएको यो एआईको जमानामा तिम्रा कुरा थोत्रा भइसके ।” मैले पेलान दिन खोज्दै भनेँ, “हामी जुन समाजका हिस्सेदार हौँ, त्यो समाजले परम्परागत रूपदेखि अपनाउँदै आएका हरेक ढाँचाका अनुयायी बन्नु पर्छ । नभए हामी एक्लो बृहस्पति जस्तै हुने छौँ ।” मैले उनलाई विवाह संस्थाको ढर्रागत शैलीलाई पछ्याउँदै उपदेशात्मक दबाब दिएँ ।
मेरो उपदेशात्मक दबाबको ‘डोज’ ले उनलाई पटक्कै छोएन । उनी डोजविहीन हुँदै मलाई उल्टै उपदेशरूपी काउछो भिराउन तयार भए, “तपाईंले एउटा भनाइ सुन्नुभएको होला, प्रत्येक सफल पुरुषको पछाडि एउटी महिलाको हात हुन्छ ।” तर प्रत्येक असफल पुरुषको पछाडि नि ?
“महिलाकै त हुन्छ होला नि !” मैले पञ्चतन्त्रको गँगटोले झैँ सहज उत्तर दिएँ ।
“हैन । बिल्कुलै हैन ।” उनले इन्कार गर्दै भने, “प्रत्येक असफल पुरुषको पछि पुरुषकै हात हुन्छ । यो हाम्रो परम्परागत वैवाहिक संस्थाले उब्जाएको मुख्य समस्या हो ।” यस पटक भने उनको हाँसो फुत्कियो तर तत्क्षणै सेलायो पनि
उनको हाँसो ।
म उनीसामु नतमस्तक भएँ ।
०००
काठमाडौँको उत्तरी कुनो, बुढानीलकण्ठ । त्यही ठाउँस्थित दुइटा कोठामा बस्दै आएको दशकौँ बितिसक्यो, उनको । एक्लै बस्छन्, जाँगर उब्जिएका बेला आफैँ पकाइतुल्याई खान्छन्, नभए बाहिरतिरै । एक प्रकारले अनियमित जस्तै छ, जीवनशैली । मनमौजी तरिकाले जीवन बिताउनेका पदचिह्नलाई पछ्याउनेमा उनी पनि पर्छन् ।
एकाध वर्ष भयो । उनी र म एउटै कार्यालयमा आबद्ध छौँ । कार्यारम्भदेखि नै उनी र मबिच मिल्दै आएको छ, वेभलेन्थ । एकदिन अरू दिनभन्दा केही ढिला कार्यालयमा झुल्किए उनी । जाडोको महिना । आँखा चिम्सा देखिन्थ्यो । निन्याउरो थियो, अनुहार । शरीरमा स्फूर्तिको थोपै विम्ब थिएन जस्तो आभास भयो मलाई ।
“सन्चो छैन कि क्या हो ?” मैले उनको अनुहारको भावानुवाद छिचोल्दै सदाशयता देखाएँ ।
“अँ ।” यति मात्रै बोले र थपे, “आज मलाई काम गर्ने त्यति जाँगर नै छैन, दाइ ।”
“के भो ?” मैले हठात् सोधेँ ।
“रातभरि सुत्न सकेको छैन ।” उनले झोलाबाट एक बट्टा औषधी निकाल्दै भने, “खोकीले ग्रस्त तुल्यायो । यो औषधीले पनि खासै काम गरेन ।”
“एक/दुई दिन खाएपछि काम गर्ला नि ! आजको आजै त काँबाट काम गर्छ र ?”
“मैले त हिजो राति....।”
“के ?”
“मलाई त आजको रात नै मेरो अन्तिम रात होला जस्तो लागिरहेको थियो दाइ !” उनले आफूलाई अतिशय भावुकताको नाभिमा उभ्याउँदै भने, “रातभरि खोकिरहेँ । निरन्तर जसो नै । उठेर पानी तताउने जाँगरसम्म पलाएन ।”
“मैले त तिमीलाई भनेकै थिएँ नि...।” बल्छीमा माछा परे झैँ मैले उनलाई अल्झाउँदै भनेँ, “मैले पटक पटक भन्दै आएको छु, तिमी विवाहविरोधी नबन । विवाह गर्नु पर्छ । कम्तीमा तिमी बिरामी पर्दा तिम्री स्वास्नीले हेरविचार त गर्छिन् । त्यो हिजो तिम्ले पानी तताउन सकेनौँ । तिम्री स्वास्नी भएकी भए उनले तताएर दिन्थिन् । तिमी बिरामी पर्दा स्वास्नीको हेरचाह, स्वास्नी बिरामी पर्दा तिम्रो हेरचाह ।”
आज भने उनको अनुहारको भाव भङ्गी नियाल्दा केही गम्भीरताबोध भित्रिए जस्तो अनुभूति भयो मलाई ।
उनी एक कुनामा टोलाएर बसे र दुवै हातले मुख छोपेर खोक्न थाले । उनको खोकाइले केही अन्तरालपछि मात्र स्थगनको दिशा अँगाल्यो ।
०००
त्यो दिन उनको अनुहार खुलेको थियो, शरद्कालीन पूर्ण चन्द्र झैँ । मैले भर्खर पाइन हालिएको उनको धारिलो अनुहारतिर नियाल्दै सोधेँ, “आज धेरै प्रफुल्ल देखिन्छौँ नि, के भयो त्यस्तो ?”
मात्र हाँसे उनी ।
मैले उनको हाँसोको अन्तर्य बुझ्न चाहेँ । कुनै पनि कोणबाट उनको हाँसोको आयतनलाई नाप्न सकिनँ र सोधेँ, “यस्तो हाँसो आज कसरी उत्पन्न भयो, मेरो भाइको मुहारमा ?” “दाइ, यो फागुनमा जन्ती जानु पर्छ है ।” धेरै खुले आज उनी ।
“हो ? साँच्चै हो ?” म पुलकित बनेँ ।
“अँ ।” उनले भने, “सबैका एउटै चिन्ता रह्यो । अरू चिन्तित हुँदा म पनि गम्भीर बन्न थालेँ । यो उमेरसम्म आइपुग्दा सङ्घर्षका अनेक गल्छेँडाहरू पार गरेँ । अब भने आफ्नै खुट्टामा उभिन र कोही कसैलाई उभ्याउन पनि सकुँला भन्ने आत्मविश्वास जागृत भयो । हजुरबाले पनि नराम्ररी भन्नु भो...।”
“के भन्नुभयो त्यस्तो ?”
“मैले बिहे गरेर के गर्नु हजुरबा, स्वास्नी र छोराछोरीलाई पाल्न सकिनँ भने के गर्नु ? भनेको थिएँ । उहाँले झपार्दै भन्नुभयो, तँ त हाम्रो घरको काली कुकुर जतिको ह्याउ भएको पनि रैनछस् । त्यो कुकुरले हरेक वर्ष पाँच÷सात वटा बच्चा जन्माएर हुर्काउँछे । तँ त...। छोयो हजुरबाको कुराले ।” उनले भने ।
म गज्जबले हाँसेँ, यस पटक भने ।
०००
बिहानैदेखि पूरै मनमस्तिष्क फुकाएर खुल्न चाहिरहेको थिएन, आजको दिन । आकाशको वृत्तलाई सघन तुवाँलोले आफ्नो नातेदार बनाइसकेको प्रतीत हुन्थ्यो । हिउँदका दिन गतिशील हुन थालेपछि यस्तै दृश्य विम्बसँग बातचित गर्ने औसर जुर्ने गर्छ ।
“थाहा पाउनुभो, दाइ ?” सखारै एक जना भाइले भने ।
मैले अनपेक्षित खबरको प्रतीक्षा गर्दै सोधेँ, “के कुरा ?”
“श्याम त रहेनन् नि !”
“हो र ?”
“अँ, हिजो राति हार्टएट्याक भएर बितेछन्, बरा !” उनले एकै पटक सहानुभूतिको बारकोड पहिल्याउँदै भने ।
स्तब्ध भएँ, केही क्षणसम्म । मोबाइलमा कुनै संवाद भएन, केही सेकेन्ड । स्थगित संवादलाई पुनः जोड्दै सोधेँ, “कहाँ बितेछन्, बरा !”
“बेहोस भएर उनी आफ्नै कोठामै ढलेका रहेछन् ।” उनको आवाज आद्र देखिँदै थियो, “उनी बेहोस भएर ढलेपछि छेउकै कोठामा बस्ने मानिसले अस्पताल लिएर गएका रहेछन् तर अस्पताल पु¥याएपछि डक्टरले मृत घोषणा गरे छन् ।”
मैले आफूलाई संवेदनाको आलीमा उभ्याउँदै भनेँ, “यही फागुनमा बिहे गर्दै छु दाइ भन्दैथ्यो । बिचरा, बिहे नै नगरी बिते । कति पीडादायी कुरा !”
ती भाइले भने, “बिहे नगरी यो उमेरमै बित्यो । ठिकै भो दाइ । बिहे गरेका भए त स्वास्नी, छोराछोरीको के हविगत हुन्थ्यो । एक्लो थियो, एक्लै गयो, बिचरा !”
यो दुःखद खबर मैले आफ्नी पत्नीलाई पनि सुनाएँ, “आज बिहानै कस्तो दुःखद खबर सुन्नुपर्यो, श्याम त हिजो राति बितेछन् नि !”
अवरुद्ध भयो मेरो गला ।
“के भएर ?”
“हार्टएट्याक भएछ ।” मैले थपेँ, “भर्खर ३० वर्षमा हिँड्दैथ्यो । बिहे पनि गरेको थिएन ।”
मेरी पत्नीको मुखबाट पनि तिनै शब्द–भाव व्यक्त भयो, “यति चाँडै जानु रहेछ । बिहे नगरेकै राम्रो भयो । बिहे गरेका भए त स्वास्नी, छोराछोरीको बिजोग नै हुन्थ्यो ।”
मेरी पत्नीको संवेदित मन उनको श्रद्धाञ्जलीतिर नभई उनका सम्भावित पत्नी र छोराछोरीतिर केन्द्रित हुन पुग्यो । म अवाक् बनेँ ।
साँच्चै, उनी एक्लै गएका थिए ।
सूर्यास्तको समय थियो ।
मैले आफ्नो संवेदनारूपी जङ्गलमा हुर्किंदै गएका करुण वृक्षका करुण हाँगातिर नियाल्न थालेँ । निकै दूरस्थ क्षितिजका समवेत स्वरहरूमा सूर्यले उद्दिग्न आलापद्वारा भरिभराउ त्यो दिनको अन्तिम कोरस गाइरहेको प्रतीत हुन्थ्यो ।