• ७ असार २०८२, शनिबार

अखबारको सुवास !

blog

कतिपय देशमा अखबार बिस्तारै बन्द हुँदै छन् । कतिले छापिने प्रति घटाउँदै छन् । पाठक बिस्तारै अनलाइन माध्यममा आकर्षित हुनु अखबारका लागि ‘साढेसातीको दशा’ बनिरहेको छ । नेपालमै पनि ‘गोरखापत्र’ बाहेकका अखबार नराम्ररी दुब्लाएका छन् । आकारको हिसाबले मात्र होइन, सामग्री प्रस्तुतिका दृष्टिले पनि उनीहरू भुत्ते बनेका छन् । 

नेपालको सन्दर्भमा विशेषतः सन् २०१९ को अन्त्यतिर आएको कोरोना भाइरस सङ्क्रमणपछि अखबार थलिएका हुन् । अर्थतन्त्रमा आएको मन्दी र पाठकको परिवर्तित रुचिका मारमा अखबार परेका हुन् ।  कोरोना कालमा कतिपय पत्रिकाको प्रकाशन ठप्प भयो । सङ्क्रमणको असर कम हुँदै गएपछि पुनः प्रकाशित हुन थाले । पाठकले रुचाएका कतिपय साप्ताहिक पत्रिका (ट्याबलोइट र म्यागाजिन) बन्द नै भए ।

अनलाइन पत्रकारिता र फेसबुक, ट्विटर, टिकटक, युट्युब जस्ता सामाजिक सञ्जालमा पल पल आइरहने खबरले छापा मात्रै होइन; प्रसारण माध्यम पनि सङ्कटमा परेका छन् । अनलाइन माध्यमले छिटोछरितो खबर दिने र प्रसारण र प्रकाशन दुवैको काम एउटैले पूरा हुने भएका कारण पुरानो माध्यमबाट पाठक, श्रोता, दर्शक नयाँतिर आकर्षित भइरहेका छन् । फेरि अखबार होस् वा टेलिभिजन रेडियोले समय अनुसार आफूलाई ढाल्न नसक्दा पनि यी पछि पर्दै गएका देखिन्छन् । 

कतिपय अखबार त आफूलाई बचाउने नाममा पत्रकारिताका न्यूनतम आचारसंहिता भुलिरहेका देखिन्छन् । रासस जस्ता एजेन्सीका सामग्रीको बहुलता, समाचार राम्ररी नहेरी हुबहु प्रकाशन गर्ने जस्ता समस्या बग्रेल्ती देखिन्छन् । आठदेखि १० पेजमा पठन सामग्रीभन्दा विज्ञापनको बहुलता देखिन्छ । आचारसंहिताद्वारा बर्जित रक्सी बियरका विज्ञापनको ज्याकेट लगाउन पनि उनीहरू हिचकिचाउँदैनन् । सम्पादकीय÷विचार पृष्ठमा विज्ञापनलाई लाज पचाएको मान्ने कि !  

अनलाइन माध्यमको व्यापकता भए पनि छापा माध्यम (अखबार) को आफ्नै महìव छ । तत्कालको खबर छिटोछरितो रूपमा दिन अनलाइनको महत्व भए पनि समाचारको विस्तार, विश्लेषण र विचारका दृष्टिले अखबार नै उपयुक्त मानिन्छ । अखबारको एउटा अर्को गुण, त्यसलाई जतिखेर पनि पढ्न सकियो, केही क्षणमा वा राखेर कुनै समयमा तर अनलाइनमा त्यो ज्यादै कठिन छ । पल पल आउने समाचारले अघिल्ला समाचार कहाँ पु¥याइदिने हो कहाँ ।

यही सन्दर्भमा वरिष्ठ पत्रकार किशोर श्रेष्ठ लेख्छन्, “अनलाइन शीघ्र सूचना साझेदारी गर्न पाइने प्ल्याटफर्म त हुँदै हो, तर यसको एउटा कमजोरी पनि पाइयो, बेलैमा पढिएन भने खोजेको सामग्री फेला पर्न मुस्किल, खोज्दैको हैरान तर पत्रिकाको स्वाद यस्तो कि सबैथोक त्यहीँ हुने । तात्तातै या आफ्नो अनुकूल फुर्सदमा पढ्न पनि सकिने ।” 

दुई दशकअघि अखबारबाटै लेखन सुरु गरेको र डेढ दशकदेखि सक्रिय पत्रकारितामा रहेको मलाई पनि पत्रकारिताका अन्य माध्यमभन्दा छापा माध्यम नै प्रिय लाग्छ । एकाबिहानै हातमा पर्ने अखबारको गन्धले नै मन हर्छ । त्यहाँ रहेका विषय (समाचारदेखि विभिन्न व्यक्तिका विचार र विज्ञापनसम्म) को विविधीकरण ज्यादै रोचक लाग्छ ।

अखबारसँगको नाता पुरानो छ, भक्तपुरको सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयबाट ४ बजे निस्कन्थेँ । जडीबुटीस्थित निवासबाट बिहान ९:३० बजे निस्कने, बुवाको कार्यालयकै गाडीमा आउने, त्यसैमा घर फर्किने दैनन्दिन थियो । छुट्टी भएपछि एक घण्टा बुवाको कार्यथलो पुग्थेँ । त्यहाँ हुन्थे, गोरखापत्र र समाज दैनिक । कक्षा ३–४ पढ्दै गर्दा अखबारका भाषा के बुझ्नु ? गोरखापत्रले पहिलो पृष्ठमा नअटाएको समाचार ‘बाँकी १० औँ पृष्ठ सातौँ लहरमा’ लेखेको हुन्थ्यो । त्यो रमाइलो लाग्थ्यो । कहाँ होला भन्दै लहर गन्न थाल्थेँ ।

अलि बुझ्न सक्ने भएपछि बुवाले त्यहीँको पुस्तकालयमा जाने व्यवस्था मिलाइदिनुभयो । शुक्रबार १ बजे नै छुट्टी हुने हुँदा पुस्तकालयमा बढी समय बिताउन पाउथे । पुस्तकालयमा पुस्तकभन्दा गोरखापत्र, युवामञ्च र मधुपर्क जस्ता पत्रिका प्राथमिकतामा पर्थे । साप्ताहिक पत्रिका खासै आउँदैनथे । पछि २०४६ सालमा प्रजातन्त्रको आगमनसँगै छापा माध्यम निकै फस्टायो । बुवा कार्यालयबाट फर्किंदा कुनै न कुनै पत्रिका बोकेर आउनुहुन्थ्यो । गोरखापत्र त छँदै थियो, आजको समाचारपत्र, श्रीसगरमाथा, कान्तिपुर, हिमालय टाइम्स र  अन्नपूर्ण पोस्ट पनि हुन्थे । यस्तै छलफल, दृष्टि, देशान्तर र जनआस्था जस्ता साप्ताहिक पनि  आउँथे । साँझपख यी विविध विषयवस्तुले अखबारमा रस बस्दै गयो । 

विद्यालयको पढाइ सकेर क्याम्पस पढ्दै गर्दा अब बुवाको हातमा अपराह्नतिर आउने अखबारले नपुग्ने भयो । बिहानै चाहियो । अखबारको ग्राहक बनियो । ६ बज्नुअघि नै आँगनमा फ्यात्त आवाज आएपछि कुदेर गयो । ‘साइकल ब्वाई’ ले भुइँमा फ्याँकेको अखबार हातमा उठाएर हेर्दै गर्दा आउने कागज र आलो मसीको गन्ध निकै मन पर्ने । पलेँटी कसेर चियाको सुर्कोसँगै अखबार पल्टाउनु र पढ्नु साँच्चै आनन्ददायक थियो । 

त्यसपछि म्यागाजिनको समय सुरु भयो । ‘हिमाल’ खबरपत्रिका पाक्षिक रूपमा आउँथ्यो । म्यागाजिनको गन्ध फेरि अर्कै किसिमको । बजारमा आउने (१ र १६ गते) भन्दा अघिल्लो दिन नै पसलमा गएर किनिन्थ्यो । ग्राहक प्रति एक दिनअघि नै आउँथ्यो । पछि हिमालको प्रतिस्पर्धीका रूपमा ‘नेपाल’ साप्ताहिक निस्कियो । पछि दुवै साप्ताहिक बने । एकताका समय नामको साप्ताहिक पनि प्रतिस्पर्धामा थियो । कान्तिपुरले शुक्रबार निकाल्ने ‘ग्लामरस’ साप्ताहिक पत्रिका त्यति प्राथमिकतामा राखिएन । पछि त्यसका प्रतिस्पर्धीका रूपमा अन्य पब्लिकेसनका प्रकाशन आएपछि विविधता आयो । तिनले ग्लामरस मात्र नभई समाज संस्कृतिका विविध पक्ष, साहित्य आदि पनि छाप्थे । यी सबै साप्ताहिक कोरोना कालमा सुतेपछि उठ्न सकेनन् । म्यागाजिन पनि बन्द भए । 

‘परिवार’ जस्ता मासिक पत्रिका पनि त्यही कालमा बिलाए ।

दुई दशकअघि अखबारबाटै लेखन सुरु गरियो । सुरु सुरुमा कम्प्युटर इन्स्टिच्युटमा टाइप गरी प्रिन्ट गरेर निकालेको प्रति अखबारको कार्यालयमा बुझाइन्थ्यो । पछि त्यहीँबाट मेल पठाउन थालियो । लेख पठाएपछि कहिले छापिन्छ भन्दै अखबार पल्टाउनु दैनन्दिनको अंश बन्यो । स्थानीयस्तरबाट निस्किने साप्ताहिक र मासिक पत्रिकामा रिपोर्टिङ र सम्पादनको काम थालियो । पूर्णकालीन रूपमा टेलिभिजनबाट यात्रा सुरु गरियो डेढ दशक टेलिभिजनमा समाचार सम्पादन अहिले अनलाइन पत्रिकामा रमाइएको छ । जीविकाको सवालले गर्दा अहिले पहिले जस्तो अखबार लिएर चियाको सुर्कोसँगै अखबार पल्टाउने समय त रहेन । एकाबिहानै कार्यालय पुग्दा साइकल ब्वाइले छोडेका आधा दर्जनभन्दा बढी अखबारको चाङ उठाएर कार्यस्थल उक्लिँदै गर्दा त्यही गन्धले आकर्षित गर्छ । कामबाट एकछिन विश्राम लिएर सबै अखबार एक पटक सरसर्ती पल्टाउनु र पढ्नैपर्ने विषय । पछि पढे पनि हुने खालका अखबार सङ्कलन गरेर राख्नु दैनन्दिन बनेको छ । मधुपर्क र युवामञ्च कहिले निस्केलान् महिनैपिच्छे प्रतीक्षा हुन्छ ।

अखबारप्रेम यति छ कि एउटा कोठा पुराना अखबारले भरिएको छ । त्यहाँ छन्, दैनिक, साप्ताहिक, पाक्षिक र मासिक अखबार । कुनै पूरै अखबारका अङ्क, कुनै आवश्यक पृष्ठ त कतै अत्यावश्यक काटिएका टुक्रा । विविध विषयमा अध्ययन र लेखनमा रुचि भएकाले ती सामग्री कुन बेला आवश्यक पर्छ थाहै हुँदैन । आफूलाई चाहिएका बेला झिक्यो । सन्दर्भ सामग्री बनायो । थन्क्यायो ।

अनलाइन माध्यममा काम गरिरहँदा अनुभव गरेका कुरा, अखबारमा कुनै सामग्री छापिएपछि छापियो, छापियो । छापिएर कुनै गल्ती भए पाठकको हातमा परेपछि मात्र थाहा हुने । अखबारले थाहा पाए भोलिपल्ट भुल सुधार छाप्नु पर्छ । सच्याउनु पर्छ । त्यो दृष्टिले अनलाइन माध्यम प्रभावकारी छ । हतारमा समाचार लेखेर गल्ती भए थाहा पाउनेबित्तिकै तत्काल सच्याउन सकिन्छ तर यसरी सच्याउने क्रममा तथ्य नै तलमाथि पार्ने सम्भावना हुने रहेछ । प्रकाशक सम्पादकले पाठकले थाहा नपाउने गरी कुनै सामग्री परिवर्तन गर्न वा हटाउन सक्ने रहेछ । आचारसंहिता अनुसार यस्तो गर्न पाइँदैन । कुनै समाचारमा त्रुटि वा गल्ती भए त्यसको जानकारी (गम्भीर त्रुटि भए क्षमायाचना) सहित सच्याउनु पर्छ तर यसको पालना न्यून मात्रामा भएको पाइन्छ ।

अर्को पक्ष पत्रिकामा छापिएका उपयोगी वस्तु मैले जस्तै कोठामा चाङ लगाएर राख्न सकियो । पुस्तकालयमा सङ्ग्रह गरे पढ्न पाइयो । फोटो खिचेर अहिलेको प्रविधिमा डिजिटलाइजेसन गर्न सकियो । आफैँले भोगेको तथ्य, केही वर्षअघि अनलाइनमा प्रकाशित लेख रचना अहिले खोजेर भेटिँदैन । आफूसँग रहेको सामग्री हराएर खोज्दा त्यहाँ पनि पाइएन । अनलाइन पत्रिकाको भण्डारण सीमित हुने रहेछ । नयाँ समाचारले धकेल्दै पुराना सामग्री हराउने रहेछ । यो हिसाबले पनि अखबार नै उपयुक्त देखियो ।

हुन त अखबार छाप्नेहरू पनि ‘डिजिटल प्ल्याटफर्म’ मा गइसकेका छन् । अखबार मात्र होइन पुस्तकसमेत डिजिटल माध्यमबाट पढ्न सकिने भएको छ । डिजिटल युग भए पनि कागज पल्टाउँदै पढ्नुका फाइदा धेरै छन् । आँखा वा मानसिक स्वास्थ्यका हिसाबले समेत डिजिटल पढाइभन्दा कागजमा पढ्नुको फाइदा रहेको चिकित्सक बताउँछन् । 

म जस्ता हजारौँ लाखौँ पाठक अहिले पनि अखबार पढ्छन् । अखबारको गन्ध मन पराउँछन् । त्यहाँका विषयवस्तु चाटीचुटी (अखबारमा छापिएका सबै) पढ्न मन पराउने पनि धेरै छन् । त्यसैले अखबारलाई जोगाउन प्रकाशक/सम्पादकले पनि सामग्रीमा विविधतालाई ध्यान दिनु पर्छ । अखबारलाई कसरी जोगाउन सकिएला भन्ने सन्दर्भमा वरिष्ठ पत्रकार श्रेष्ठकै भनाइ “मेहनत गरौँ, छापा माध्यमलाई जोगाउन सकिन्छ ।”