अदुवा
आलु
पिँडालु
खुर्के झैँ किन
सकिरहेकी छैन
खुर्किन
मनभित्रका नकरात्मक कुरा ।
लौका
घिरौँला
चिचिन्डा झैँ
ताछेर फाल्न मिल्ने भए
अन्तर्मनका विकारहरूलाई ।
लसुन
प्याज
बन्दाकोपी झँै
पत्र पत्र निकालेर मिल्ने भए
पकाउन
मिठो व्यञ्जन ।
सुन्तला
भोगटे
ज्यामिर झैँ
केस्रा केस्रा छोडाएर
साँद्न मिले
कति स्वादिलो हुन्थ्यो होला
जीवन आहा !
अन्नपात झैँ
नाङ्लोमा निफनेर
पिठो झैँ चालेर
च्याँख्ला झैँ छिन्किँदा पनि
कहिल्यै नसकिएका
आदिम दुःखपीडा
निफनिरहेछु सदियौँदेखि
केलाइरहेछु
खुर्किरहेछु
ताछिरहेछु
चामल झैँ पखालिरहेछु
पखालिरहेछु... ।