साठीको दशकमा शिक्षकका रूपमा पाँच वर्ष जति बिताएको भएर होला भावनात्मक सम्बन्ध साइनो छ स्याङ्जासँग । त्यही ठाउँमा वैशाखमा जाने साइत जु¥यो ।
‘गाउँमै केही गरौँ’ भन्ने उद्देश्यसहित स्याङ्जामा मुरली गाई फार्म सञ्चालन गरिरहेका साथीको निम्ता मान्न वैशाख १९ गते आँधीगङ्गा जाने बस चढियो । गण्डकीतिरका लोकसुसेली सुसेल्दै बस अघि बढिरह्यो ।
कचपचिलो निद्रासँगै बिहान ४ बजे ब्युँझँदा स्याङ्जाको पुतलीबजार टेकिसकिएछ । आँधीखोला आफ्नै लयमा बगिरहेको थियो, सँगसगै म चढेको बस पनि पहाडी नागबेली बाटोमा गन्तव्य भेट्न कुदिरहेको थियो । बिहान ५ बजे पाठखोलामा ओर्लिएर फोनमार्फत खगेन्द्र भाइलाई जानकारी गराएँ । एकैछिनमा बाइक लिएर खगेन्द्र आइपुग्नुभयो ।
खगेन्द्रका पाँच वर्षका छोरा प्रीतमले हामीलाई आँगनमै स्वागत गरे । प्रीतमको र मेरो यो पहिलो भेट थियो । अघि फोन गर्दा देवेन्द्र सरले के ल्याइदिनुहुन्छ मलाई भनेको सुनेको थिएँ । आहा ! बच्चा कति निश्छल र आशावादी हुँदा रहेछन् । उनले मलाई मेरै बाल्यकालको सम्झना गराए । केटाकेटी बेला घरमा सधैँ पाहुना आइदिएहुन्थ्यो भन्ने लाग्थ्यो । त्यसको कारण केही न केही कोसेली खान पाइन्छ भन्ने चाहना मनभरि हुने गथ्र्यो ।
बिहानी नित्य कर्म सकेर आमाले पकाएर दिनुभएको स्वादिष्ट खाना खायौँ । खाना खाएर गल्याङ नगरपालिका–९ स्थित ज्ञानोदय माध्यमिक विद्यालयतर्पm प्रस्थान ग¥यौँ । विद्यालयका प्रधानाध्यापक विष्णु सरले मलाई विशेष आमन्त्रण गर्नुभएको थियो । १० बजे विद्यालय पुग्यौँ । करिब एक घण्टा शिक्षक साथीमाझ शिक्षण अनुभवका आफ्ना कुरा राखेँ । त्यसपश्चात् मलाई पुस्तकालय हलमा लगियो । त्यहाँ कक्षा ६ देखि ११ सम्मका विद्यार्थी आएर बसिसकेका रहेछन् । म त्यस हलमा प्रवेश गर्दैगर्दा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक गीत ‘धर्तीको गीत’ (देवेन्द्र पौडेल म र खेम प्रसाईको रचना, महेश खड्काको सङ्गीत तथा दीपक लिम्बू र रेजिना बस्नेतको स्वर) घन्किरहेको थियो । आफ्नो सिर्जनामाथिको सम्मानले पनि म अभैm खुसी भएँ र उनीहरूप्रति आभार व्यक्त गरेँ । त्यसपछि मैले विद्यार्थीमाझ परिवार, माटो, कर्मशीलता र पढाइको महत्वका विषयमा आफ्ना विचार राखेँ ।
ससम्मान बिदाइसहित कहिल्यै नपखालिने मनमा लगाएको सम्मानको टीका लिएर सबैसँग सामूहिक तस्बिर खिची त्यहाँबाट बिदा भयौँ । स्थानीय आँधीखोलाका माछा खाने योजना अनुसार आँधीखोलाछेउमा अवस्थित चिउरी भन्ने ठाउँमा पुग्यौँ । आहा ! सुपसहितको स्वादिष्ट माछा त्यो पनि भुजासँग ।
गोजीमा मोबाइलले घन्टी हानिरहेको थियो । हिजो रातिदेखि नै फोन सम्पर्कमा रहेका पूर्वविद्यार्थी पुकार खनालले कृषि स्रोतकेन्द्र त्रियासी बजारबाट हाम्रो आगमनको प्रतीक्षा गर्दै फोन गर्नुभएको रहेछ । त्यसपछि आधा घण्टाको बाटो पार गरेर खनालको अफिसमा पुग्यौँ । करिब १२ वर्षपछिको यो भेटले हामीलाई औधी खुसी तुल्यायो ।
वैदेशिक झिलिमिली र सुख, मोहलाई त्यागेर कृषिविज्ञका रूपमा माटोका साथी किसानका सारथि बनेकामा बधाई र शुभकामना दिएँ । पुकारले स्रोतकेन्द्रका सबै ठाउँ घुमाएपछि नजिकको खाजा पसलतिर लाग्यौँ ।
यत्तिकैमा मेरा अर्का प्रिय भाइ, नेपाल टेलिभिजनका पत्रकार सुशील सुवेदीको सिरुबारी होमस्टे जाऊँ भन्ने प्रस्तावसहितको फोन आयो । सिरुबारी जाने असाध्यै रहर पनि थियो । सुशील भाइ र भरत कँडेल सर आइपुग्नुभयो । नवलपरासीबाट प्रदीप काफ्ले भाइको ३२ जनाको समूह पनि सिरुबारी आउँदै रहेछन् । सोही समूहमा सामेल हुन हामी चार जना सिरुबारीतर्फ प्रस्थान ग¥यौँ ।
हामीले छिटो पुग्ने आसमा अर्जुनचौपारी हुँदै जाने कच्ची बाटो रोज्यौँ । अर्जुनचौपारी बजारसम्म त आँधीखोला जस्तै सललल बगिरह्यौँ । त्यसपछि त हाम्रा दुःखका दिन सुरु । ठाडै उकालो बाटो, ढुङ्गा र धुलो उस्तै सुनसान वन । दुःख, सन्त्रासबिच हिम्मत नहारी अघि बढ्यौँ । पटक पटक बाइकबाट चिप्लेर लड्दै कछुवा गतिमै घिसारिँदै ५ बजे सिरुबारी पुग्न सफल भयौँ ।
गुरुङ संस्कृतिको मौलिकता, पहिचान र विरासत बोकेको सिरुबारी होम स्टेका दाजुभाइ, दिदीबहिनी हाम्रो स्वागतार्थ पर्खिरहेको जानकारी आएपछि हामी सिरुबारी सामुदायिक होम स्टे प्रवेशद्वारअगाडि भेला भयौँ । यतिबेला हामीलगायत नवलपरासी र पोखरातिरबाट आएका सबैलाई उनीहरूले फूलमालाले स्वागत गरे । उनीहरूले केहीबेरको स्वागत र आतिथ्यपछि पन्चैबाजा बजाउँदै गाउँको माझमा रहेको गुम्बा अतिथि सत्कारगृहमा लगे । सांस्कृतिक माहोलबिच हामीले मकै, भटमास र आलुको अचार खायौँ ।
फास्टफुडका नाममा सबैतिर बजारिया खाजाले अतिक्रमण गरिरहेका बेला यस्तो खाजा खान पाउनु पनि दुर्लभ भइसक्यो । गाउँघरतिर पनि मकै र कोदो रोप्ने पाखुरी बिदेसिएका छन् । अलि अलि पढेलेखेका जागिर र व्यवसायका लागि सहर पसेका छन् । गाउँघर रित्तिँदै छन् । बारी वनमाराले ढाकिएका छन् । बुढाबुढी बाआमाले खोस्रेका बारीमा बाँदर आतङ्क बढ्दो छ । यो एउटा पहाड वा एउटा गाउँमा देखिएको दृश्य मात्र होइन, सिङ्गै देशको बेहाल दृश्य हो । जबसम्म राज्यले ‘हात हातमा कोदाली ः उर्वर बनाऔँ आफ्नै बारी’ भनेर स्पष्ट नीति ल्याउँदैन, अवस्था यस्तै बेहाल रहिरहने छ । सिरुबारीमा पनि हामीले ५० औँ घरमा ताल्चा लगाएको देख्यौँ ।
खाजा खाइसक्दा हामीलाई घर घरमा जिम्मा लगाउन थाल्नुभयो । भरत सर, खगेन्द्र भाइ र म पछि पछि लागेर प्रीतमबहादुर गुरुङको घरमा प¥यौँ । केहीबेर आराम गरी खाना खाएर हामी पुनः अतिथि सत्कारगृहमै जम्मा भयौँ । त्यहाँ उनीहरूले औपचारिक रूपमा सांस्कृतिक कार्यक्रमको सुरुवात गरे । सिरुबारी होम स्टेको सङ्क्षिप्त परिचयसहित हामीलाई न्यानो स्वागत गर्दै कार्यक्रम अघि बढ्यो ।
लेकमा घर छ बेँसीमा धनसार
यही मायाले चल्या छ संसार
माली गाईलाई बाँधेको दाम्ला
मेरो माया छोडेर कहाँ जाम्ला ।
यस्तै यस्तै मायाप्रेम, हार्दिकताको त्रिवेणी बन्यो हाम्रा लागि सिरुबारी । उनीहरूले गुरुङ संस्कृतिमा प्रचलित घाटु, सोरठी, सालैजु जस्ता दर्जनौँ नृत्य र गायन पालैपालो प्रस्तुत गरे । हामी मन्त्रमुग्ध भएर सुनिरह्यौँ, हेरिरह्यौँ ।
यसैबिचमा गीत, गजलको प्रस्तुतिका लागि उद्घोषकले मेरो नाम लिएपछि म खङ्ग्रङ्ङै भएँ । माहोल अनुसार केही प्रेमिल गजल र कविता सुनाएँ । त्यसपछि त केहीबेर साहित्यिक माहोल सिर्जना भयो ।
काठमाडौँको निस्सासिँदो वातावरणबाट छुट्टिएर यस किसिमको सांस्कृतिक र साहित्यिक परिवेशमा डुबुल्की मार्न पाउँदाको आनन्द नै छुट्टै थियो । राति १२ बजिसकेपछि हामी आआफ्ना घरपट्टीकोमा गई सुत्यौँ । मिठो निद्रासँगै बिहान उठेर खाजा खाई हामी सिरुबारी, पञ्चमूलका सौन्दर्य र सम्झना बोकेर त्यहाँबाट बिदाबारी भई उद्यमशीलता र सङ्गीतमा झुम्न मुरलीगोठतर्पm प्रस्थान ग¥यौँ ।
यो यात्रा सुनौलो अनि साथ तिम्रो...
यस यात्राको मुख्य गन्तव्य नै गल्याङ नगरपालिका–९ स्थित मुरलीगोठ थियो । कर्मशीलताको सङ्गीतमय यात्रा गर्दै देशभित्रै सम्भावनाको खोजी गरिरहेका सुपात्रलाई भेट्ने रहर पहिलेदेखि नै थियो ।
काम ठुलो र सानो हुँदैन । डिग्री पढेर कृषि, इलम र व्यवसाय गर्न हुँदैन भन्ने केही छैन । यसैको गतिलो प्रमाण मुरलीगोठ थियो । श्रम र सिर्जनाको पवित्र मन्दिर थियो मुरलीगोठ । अनि श्रमलाई सिर्जनामा र सपनालाई सम्भावनामा रूपान्तरण गर्ने कर्मको मन्दिर पनि ।
मुरलीगोठ गाई फार्मका सञ्चालकद्वय कुसुम भण्डारी र विष्णु भण्डारी हाम्रै स्वागतको पर्खाइमा बसिरहनुभएको थियो । कुसुम सरको घरमा पुगिसकेपछि विष्णु सरले घार खोलेर मह काढ्न थाल्नुभयो । मह काढिसकेपछि भाग लगाउन आमालाई दिनुभयो । घरमा मिठोचोखो खानेकुरा बन्दा पहिले देवतालाई चढाउने र ज्येष्ठ सदस्यले भाग लगाई बाँड्ने नेपाली समाजको संस्कृति र परम्परालाई उहाँहरूले पछ्याउनुभयो । आमाले भाग लगाई एक÷एक कचौरा चाकासहितको ताजा मह दिनुभयो । चैत÷वैशाखको वनपूmलको रसबाट बनेको मह भएर होला, झम्म पा¥यो । हामी लट्ठियौँ । केही समय आराम गरेर सुशील भाइ र म कुसुम र विष्णु सरका पछि लाग्यौँ । केही पर पुगेपछि बाटोछेउमा रहेको दुर्गा मन्दिरको दर्शन गरी तल बगिरहेकी कालीगण्डकी नदीको अनवरत यात्रालाई नियाल्दै साँझपख हामी मुरलीगोठमा फर्कियौँ । यतिबेला खगेन्द्र भाइ पनि हामीबिच जोडिन आइपुग्नुभएको थियो ।
कपाल कोर्ने काइँयो
कि त जोबन अर्कैको हो भन
नत्र मलाई चाहियो ...
चर्चित लोकगीतका गायक कुसुम भण्डारी र गायनमा मिठो गला र कला भएका अरू तीन जना साथी मिलेर सञ्चालित गाई फार्म आफैँमा सङ्गीतको चौतारी थियो । त्यसै भएर गोठको नाम पनि मुरलीगोठ राखिएको रहेछ । गाई दुहुने, घाँसपात गर्ने कार्यक्रम नसकुन्जेल हामीले वरपरको सन्ध्याकालीन मनोरम दृश्य नियाल्न थाल्यौँ । वनको माझ एकान्त तपस्याभूमि जस्तो मनमोहक दृश्यले सांसारिक जीवनबाट पर रहेर त्यहीँ नै बसूँ बसूँ भयो ।
त्यसपछि मुरलीगोठसँग अटुट सम्बन्ध गाँसिएको
साङ्गीतिक साँझ सुरु भयो । ढोका खोल राम... भउत आए मन्दिरमा... । हामी भक्तलाई उहाँहरूले उद्यमशीलताको मन्दिरमा यसरी नै स्वागत गर्नुभयो । हार्मोनियम, बाँसुरी, मादल, मुजुराको सङ्गीतभित्र जीवनका दुःखसुख र मायापिरतीका भावलाई फरक फरक लयमा उनेर उहाँहरूले पस्किँदै जानुभयो । हामी लट्ठ परेर साङ्गीतिक दुनियाँमा हराइरहेका थियौँ ।
उहाँहरूको यो साङ्गीतिक यात्रा गोठमा मात्र सीमित थिएन । गाउँघरमा पूजाआजा, व्रतबन्ध, बिहेबारी आदि अवसरमा साङ्गीतिक कार्यक्रम र भजनकीर्तनमा पनि उहाँहरूको नेतृत्वदायी भूमिका हुँदो रहेछ । नयाँ पुस्तालाई पनि साङ्गीतिक सिप सिकाउने अभियन्ताको अभियानप्रति गर्व गर्न मन लाग्यो । आज समाजबाट मौलिक संस्कृति हराउँदै गएको र पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गएका बेला गाउँमा फर्केर सांस्कृतिक पुनर्जागरण ल्याउनु ठुलो कर्म हो । यसका लागि मैले उहाँहरूलाई धन्यवाद र शुभकामना प्रकट गरेँ ।
मध्यरातसम्म मुरलीगोठमा कालीगण्डकी बगिरहे जस्तै सङ्गीत बगिरह्यो । सङ्गीतका झरीमा हामी पनि भिजिरह्यौँ ।