मानव समाजमा गतिविधिको राजनीति चलिरहेको छ । राजनीतिमा सामाजिक संस्थाको पर्यावरण अर्थात् सामाजिक व्यवस्थाको रूपान्तरण गर्ने सामथ्र्य हुन्छ । राजनीतिले क्षमता प्रभावित गरेर शक्तिलाई प्रयोग गरेर उपयोगमा ल्याउन सक्छ । राजनीति देश र जनताका सेवाका लागि हो । धेरै व्यक्ति यसलाई दुरुपयोग गरी शक्ति हातमा लिई आफ्नोे प्रभाव पार्न लागिरहेका छन् । राजनीति व्यापार हो, समाज त्यसको बजार । समाजमा शक्ति बिक्ने भएकाले शक्ति राज्य सत्तामा पाउँछ । शक्तिमा भक्ति गर्ने समाजमा परम्परा भएकाले शक्ति हातमा लिन कार्यकर्ता मरिमेटी हानथापसम्म गर्छन् ।
राजनीतिले विवादको माध्यमद्वारा मतभेदलाई कार्यान्वयन गर्छ । चुनावको प्रक्रियाबाट निर्वाचित व्यक्तिसँग विशेष अधिकार हुन्छ । चतुर व्यक्तिले आफ्नो पक्षमा मत सङ्ग्रह गरी शासन गर्छ । राजनीति व्यावहारिक र स्वाभाविक रूपमा नियम र प्रकृतिको समयपर निर्भर भइरहेको छ । प्रकृति तथा समय परिवर्तनशील छ, त्यसैले एक शताब्दीमा एकचोटि राजनीतिको पुनरावृत्ति चक्र हुन्छ ।
पहिला नियम कानुन बन्न अगाडि शक्तिकेद्रित व्यक्तिमा हुन्छ । एकात्मक शासन सर्वोच्च सत्ता केन्द्रमा निहित हुन्छ । एकाइको अस्तित्व केन्द्रमा निर्भर हुन्छ, केन्द्रका मुख्य व्यक्तिलाई राजाको रूपमा मानियो । हाम्रो देशमा विगतका घटनालाई नियालेर हेर्ने हो भने पौराणिककालमा राजालाई भूपतिको रूपमा मानिएको पाइन्छ । भूपतिलाई ईश्वरको अवतार मानिएको पहिलाका बुढापाकाबाट हामीले सुन्दै आएका छाैँ ।
शक्ति हातमा भएपछि निरङ्कुशतन्त्रमा, निरङ्कुशतन्त्रबाट कुलीनतन्त्रमा, कुलीनन्त्रबाट अल्पतन्त्र, अल्पतन्त्रबाट प्रजातन्त्र, भएर पुनरावृत्तिको चक्रमा दोहोरिन्छ । राजाको शक्ति हातमा पारेर जङ्गबहादुरले निरङ्कुश शासन चलाए । कुलतमा लत बसालेर मनपरी शासन चलाएपछि कुलीनतन्त्र आयो । राणा दाजुभाइका मतभेदको कारणले अल्पतन्त्रमा परिणत भए ।
२००७ सालमा प्रजातन्त्र आयो । प्रजातन्त्रमा जनता नीतिविहीन भएपछि अति भएर लक्ष्मण रेखा नाघियो । एउटा शक्तिशाली नेता समयले खडा गरिदिन्छ, यसरी नै राजनीतिको नीति स्वाभााविक परिवर्तन हुने प्रक्रिया अनुसार हरेक दशदेखि बिस वर्षभित्र परिवर्तनका लागि क्रान्ति हुन्छ । क्रान्तिबाट राजनीतिको शक्ति उथलपुथल हुन्छ । राजनीतिमा सानो कुरा पनि विषाक्तयुक्त हुन सक्छ, जसले स्थिति हेरफेर भई माहोल परिवर्तन हुन्छ । रामायणमा श्रीरामको राज्यभिषेक हुन लाग्दा मन्थराले कैकेयीलाई भत्काइदिँदा रामलाई वनबास पठाएर भरतलाई राज्य दिइन् । महाभारतमा शकुनीको कुनीति, धृतराष्टको महत्वकाङ्क्षा, दुर्योधनको अहम्, द्रौपदीकी असंयमित व्यवहारले गर्दा महाभारतको युद्ध भएको हो । युक्रेन र रुसको राष्ट्रपतिको मतभेदका कारण दुई देशबिच घमासान युद्ध भइराखेको छ । जनता अनायासमा कालमा होमिरहेका छन् । राष्ट्र र जनताका लागि जनता मारेर युद्ध गरिराखेका छन् ।
शस्त्रले शत्रु मरेपछिको जितले महाभारतमा पाँच पाण्डव खुसी हुन सकेनन् । विपत्ले अहम्तालाई तोडिदिन्छ, उमेर ढल्किँदै गएपछि बितेका गल्तीले पश्चाताप हुन्छ । सम्राट अशोक युद्ध जितेर पनि खुसी हुन सकेन, सम्राट अशोकले युद्ध जितेर पनि मनलाई हारे । त्यसैले दसैँको दशमीको दिन सम्राट अशोकले शस्त्र त्याग गरे । युद्ध जितेर पनि मनलाई हा¥यो भने सबैले हार्छ । जसले युद्ध हारेर पनि मनलाई जित्यो भने सबैले जितेको ठहरिन्छ । बुद्धले राजकाज त्यागेर ज्ञान हासिल गरे । ज्ञानले स्नेह वर्षाएर प्राणी जगतैको मन जितेर भगवान् बुद्ध भए । त्यसैले त भगवान् बुद्धले सबै कुरा त्यागेर पनि सबै कुरा पाए ।
गलत काम गर्नु भनेकै आफ्नो आत्माभित्र रहेको सिसाको महललाई पत्थरले हान्नु हो । आफूभित्र रहेको ऊर्जालाई छियाछिया पार्नु हो । सूर्यलाई बादलले छोपेसरि कुविचारले हृदयलाई छोपेपछि मुहारमा चमक लोप हुन्छ । गलत कामले मन चकनाचुर भएर पश्चातापको ज्वाला दन्किन्छ, जसबाट चिन्ताको भारी बोक्नुपर्ने हुन्छ । जसबाट लुक्नुपर्ने काम गरे, झुक्नुपर्ने हुन्छ, झुक्नुपर्ने काम गरे लुक्नुपर्ने हुन्छ ।
धर्ममा जपतप, ध्यान, तपस्या भक्ति गरे जस्तै राजनीतिमा पनि स्वाभिमानी राजनीति कार्यकर्ताले भोक, प्यास, घामपानी सहेर देशप्रति माया गरेर जनभक्ति गरेका हुन्छन् । महत्वाकाङ्क्षा राजनीतिक कार्यकर्ताले जनताको भक्तिबाट शक्ति पाएपछि दैत्यले देवतालाई दुःख दिएझैँ जनतालाई दुःख दिने काम गरिराखेका छन् ।
आर्थिक क्षेत्रमा देशले खर्बौं ऋण बोकिरहेको अवस्थामा सत्तामा पुगेपछि जनताले तिरेका करबाट भत्ता लिने अझ विदेश गएर उपचार गर्नुपर्ने । जनतालाई साधारण उपचार गर्न मुस्किल छ । भ्रष्टाचारले जनताका भावनामाथि ठेस पुगिरहेको छ । धन्य यो सरकारले भ्रष्टाचारलाई कानुनी दायरीमा ल्याए, मिटर ब्याज हटाए यो प्रशंसनीय काम हो । राम्रो कामलाई समर्थन नराम्रो कामलाई विरोध गर्ने प्रचलन जनताले मात्र होइन पार्टीकै कार्यकर्ताले पनि गर्न सक्नु पर्छ । हरेक वर्ष बेरुजुको रकम बढेको छ, आर्थिक मामिलामा स्पष्ट हुन सके प्रतिपक्षले औँला ठड्याउन सक्दैन । यो कुराको निराकरणका लागि नेताहरू संवेदनशील भएर लाग्नु पर्छ तर त्यसो भइरहेको छैन । यो राजनीति शक्तिको दुरुपयोग हो, यस्तै राजनीतिक दुरुपयोग कारण श्रीलङ्का अर्थतन्त्र प्रबल र स्थिर भइकन पनि मुलुक बर्बादी स्थितिमा पुगेको छ भन्ने हेक्का राख्नु पर्छ ।
विश्वमा कोरोनाको महामारी र रुस युक्रेनको युद्धले आर्थिक मन्दी भएको बेला गरिब देशमा थप समस्या हुने नै भयो । यसको प्रभाव नेपालमा पनि अत्यधिक मात्रामा प्रभाव परेको छ । नेपालमा विकृति, विसङ्गति, अपराधिक चरित्र र भ्रष्टाचारले चरम सीमा नाघेको छ । श्रीलङ्काको स्थिति आउन नदिन राजीतिक हस्तीहरूले देशमा सुसासन अवस्था कायम गरी कार्यकर्तालाई अनुशासनमा राख्न जरुरी छ ।
बेलायतबाट सन् १९४८ मा श्रीलङ्काले स्वाधीनता हासिल गर्दा एसियाकै नमुना मानिएको थियो । कृषि तथा उद्योगमा सबल भएको हुनाले अर्थतन्त्रमा दिगो आधार भएको थियो । त्यसैले एसियामा जापानपछि समृद्ध मुलुकको रूपमा श्रीलङ्का परेको थियो । छ जना दाजुभाइले शक्ति हातमा लिई आर्थिक मामलामा अनुशासनहीन बनेपछि आर्थिक मामलामा मुलुक धरासायी हुन पुग्यो । यही परिणामले गर्दा त्यहाँका जनताले नेताहरूलाई लखेटेर कुटपिट नै गरे ।
त्यसैले राजनीति राज्यका लागि एउटा यन्त्र हो । संवैधानिक विकासको बाटो हो, नीति क्रियाकलापको जग हो भने मन्त्री राजनीतिक क्रियाकलापको स्वरूप हो । त्यसैले मन्त्री हुने व्यक्ति योग्य, अनुशासित साथै नैतिकवान् हुनु पर्छ । धार्मिक भावना भएको संयमता भएर त्यागी हुनु पर्छ । मन्त्री, प्रधानमन्त्रीसँग, प्रधानमन्त्री जनतासँग मर्यादित भावनामा प्रस्तुत हुनु पर्छ । यस्तो प्रावधानले मात्र लोकतन्त्र फलिफाप हुन सक्छ । लोकतन्त्र मानव सभ्यताका लागि आवश्यक भए पनि अरूको नक्कल गरेर चलाएको लोकतन्त्र फलिफाप हुँदैन ।
यसका लागि आफ्नै विशेषता र यथार्थलाई ध्यानमा राखेर विकासका लागि पाइला चाल्नु पर्छ । लोकतन्त्रको विशेषता जनताको मागलाई चिन्तन मनन गरी सामूहिक भलो हुने गरी समस्या समाधान गर्नु पर्छ । माग कच्चा सामान हो, निर्णय उद्योग हो । राष्ट्र विकासका लागि जनता जागरुक गराएर संयमतापूर्व अघि बढ्नु पर्छ । राजनीतिको सत्ता हाँक्नेले सामूहिक असर हुने, राष्ट्रलाई फाइदा हुने समस्यालाई जनविरोध भए पनि जनतालाई फकाइफुलाइ बुझाएर बिस्तारै समस्या सुल्झाउनु पर्छ । सही काममा पनि जनविरोधी काममा हात हाल्दा विपक्षले फाइदा लिन सक्छ ।
राज्यसत्ता चलाउने नेताले धनीबाट कर लिएर गरिब जनतामा पैसा पुग्ने कार्य गर्नु पर्छ । जसरी सूर्यले समुद्रबाट पानी सोसेर बादल बन्छ, बादलबाट जताततै वर्षा हुन्छ । पहाडबाट पानी बग्दै समुद्रमै पुग्छ । यसरी नै प्रकृतिको प्रक्रिया मिलिरहेको हुन्छ । धनीसँग मिलिभगतमा कर छुट गर्ने तिर लाग्यो भने त्यो सत्ताको आयु छोटो हुन्छ । धनीलाई कर छुट गरेपछि धनी धनी नै भएर जान्छ गरिब, अझ गरिब हुन्छ अनि सामाजिक व्यवहार अमिल्दो हुन्छ । जसबाट चोरी, डकैती, फटाहा र लुटेराको सङ्ख्यामा वृद्धि हुन्छ । जग नभएको सानो घरलाई पनि भुइँचालोले धेरै क्षति पु-याए जस्तै सानो कुरामा ठुलो आन्दोलन हुन्छ । सरकार ढलमलिन्छ, विपक्षले अवसर लिन्छ । यसरी राजनीतिमा उतारचढाव हुने, उतारचढावमा अशान्ति हुन्छ ।
राजनीतिमा अवाञ्छनीय गतिविधि हुने गरेकाले राजनीति फोहोरी खेल हो भन्ने उक्ति रहेको हुनु पर्छ । राजनीति फोहोरी खेल होभन्ने भनाइ रहे पनि समाज विकासका लागि अति आवश्यक संस्था हो । मानिस बाँच्नका लागि आगो, पानी, हावाजत्तिकै राजनीति मानव समाजमा अपरिहार्य छ । मानव समाजमा नीति, नियम, परम्परा र सुरक्षा कायम गर्न राजनीति आवश्यक भएको हो । राजनीति आवश्यक भए पनि त्यहाँभित्र आगो, पानी, हावा अति भएपछि होस पु-याउन सकिएन भने त्यो झनै खतरा हुन्छ । राजनीति पनि अति भएपछि खतरा हुन्छ ।
घाम लागेपछि छाया हुन्छ । काम गरेपछि गल्ती हुन सक्छ । जसले गर्छ उसले गल्ती गर्छ, जसले गर्दैन उसले गल्ती गर्दैन । जसले केही गर्दैन त्यसले झन् ठुलो गल्ती गरेको हुन्छ । मानिस भई अरू जीव जस्तो जन्मनु र मर्नु मात्र होइन केही न केही गर्नु पर्छ । मानव सभ्यताको उत्थानका लागि महìवपूर्ण कार्य गर्न नै मानिस राजनीतिमा सामेल भएर क्रियाशील हुने गर्छ । राजनीति समाजको महत्वपूर्ण अङ्ग हो । समय र प्रकृति परिवर्तन भइरहने कारणले राजनीति पनि परिवर्तन हुन्छ । यो प्रकृतिको प्रक्रिया हो । राजनीतिमा पनि पुनरावृत्ति चक्र भइरहन्छ ।