• १२ साउन २०८१, शनिबार

कूटनीतिमा ‘बाघ’

blog

इतिहासमा राजा–महाराजा, राणा शासक र विदेशी पाहुनाको सिकार सोखको कोपभाजनमा धेरै बाघ परे । बाघ संरक्षण गर्नु पर्छ भन्ने चेत त्यति बेला थिएन । बालीबाघ, जाभाबाघ, क्यास्पियनबाघ, साउथ चाइनाबाघ जस्तै पाटेबाघ पनि लोप हुने अवस्थामै पुग्यो । कूटनीतिक सम्बन्धको मियोका रूपमा सिकार रहेको थियो । संरक्षणमा हातेमालो गर्ने कूटनीतिक प्रयासको थालनी भएदेखि नेपालमा बाघको अस्तित्व फेरि जागेको छ । त्यसैले अचेल बाघका जुँगा उसकै ओठमाथि फुर्फुराउँछन् । छाला काढिँदैनन् । बाघका डमरुहरू वनमा स्वच्छन्द रमाउँछन् ।

सिकार कूटनीति र नेपाल

आधुनिक नेपालको विदेश सम्बन्धको इतिहास केलाउँदा कूटनीतिक सम्बन्धको प्रमुख आधार सिकार थियो । पूर्वीय सभ्यतामा बाघलाई देवीको बाहन मानिन्छ । त्यही सभ्यतामा हुर्केका राजा–महाराजाले बाघको सिकार गर्न सकेपछि युद्ध कौशलमा पारङ्गत भएको मानिन्थ्यो । बाघको सिकारसँग जोडिएको प्रसङ्ग पनि रोमाञ्चक छन् । चाहे त्यो राणाकालको शक्ति प्रदर्शनका क्रममा गरिएको बाघको सिकार होस् या राणापछिका शाहवंशीय राजाहरूको सिकार मोहमा मारिएका बाघहरू नै किन नहोस् । त्यो समयमा वन्यजन्तु बचाउने विषय उठ्ने कुरै भएन । राजा भएर बाघ मार्नु मात्रै होइन, कति धेरै बाघ मा-यो भन्ने विषयले उसको रजगजमा ओज थपिन्थ्यो । 

सन् १९४६ अघि भारतमा ब्रिटिस साम्राज्यवाद थियो । नेपाल ब्रिटिस साम्राज्यवादको औपनिवेशिकतामा परेन । त्यसमा राजाहरूकै बल र सौर्यको योगदान गर्विलो रहनु कारक थियो भन्ने कुरामा दुईमत छैन । सुगौली सन्धिपछि सन् १९२३ मा भएको मैत्रीपूर्ण सन्धिले नेपाल र बेलायतलाई अझ नजिक ल्यायो । सन् १९३४ मा दुई देशले एकअर्को देशमा कूटनीतिक हैसियत राख्ने मन्त्रीहरूको आदानप्रादन गरेर सम्बन्धलाई थप औपचारिकता दिए । बेलायती साम्राज्यवादको उपनिवेशबाट भारत पूर्ण रूपमा मुक्त भएपछि सन् १९४७ मा नेपालमा असाधारण अधिकारसहितको राजदूत नियुक्त गरिए ।

युद्ध, सम्झौता र अनेक लोभलालचमा नेपालमा पहुँच स्थापित गर्न नसकेपछि अध्ययन र सिकार कूटनीति सम्बन्धको कसी बन्यो । सहायक कमिस्नरका रूपमा कुमाउमा रहेका ब्रायन हड्सन नेपालका लागि आवासीय प्रतिनिधि भएर आएका थिए । नेपालमा हड्सनले राजनीतिक तथा वैचारिक आदानप्रदानसँगै यहाँको प्राकृतिक सभ्यताको अध्ययन गरे । नेपालको हिमाली क्षेत्रको गहिरिएर अध्ययन गरेकाले उनलाई ‘फादर अफ हिमालयन स्टडिज’ उपनाम नै दिइयो । ब्रायन हड्सनका बारेमा चाल्र्स एलेनद्वारा लेखिएको पुस्तक ‘द प्रिजनर अफ काठमाडौँ’मा उल्लेख भए अनुसार हड्सनले राजनीति, नेपाली नागरिक, बौद्धमार्गी तिब्बतीसँगै नेपालको भौगोलिक तथा जैविक विविधताका विषयमा अध्ययन अनुसन्धान गर्न लामो समय खर्चिए । राजमान चित्रकारले नेपालका पशुपक्षीको चित्र कोरेर हड्सनलाई सघाए । बेलायतका सङ्ग्रहालयमा त्यो बेला कोरिएका पशुपक्षीका नाप नक्सासहितका चित्र अहिले पनि सुरक्षित छन् । कतिपय बिरुवाको नाम नै हड्सोनी भनेर उनकै नामसँग जोडेर राखिएको पूर्वपरराष्ट्रसचिव मदनकुमार भट्टराई बताउँछन् । उहाँका अनुसार सन् १८०१ मा नेपाल र बेलायतबिच एउटा अनौठो सम्झौता भइसकेको थियो । दौत्य सम्बन्ध सुरु हुनुअघि भएको सम्झौताको नाम ‘एग्रिमेन्ट विथ राजा अफ नेपाल’ थियो । त्यसमा दुई देशले वकिलहरू आदानप्रदान गर्ने भन्ने उल्लेख थियो । उनीहरूलाई कूटनीतिक प्रतिनिधि मानिन्थ्यो । बेलायतका प्रतिनिधिसँग ५० जना पाहुना सम्झौतापछि नेपाल भित्रिएका थिए । उनीहरू खनिज तथा बोट बिरुवाको खोजी र अनुसन्धान गर्न भनेर नेपाल बसे । त्यो बेलामा विभिन्न मुलुकमा साइन्टिफिक अपासे, एग्रिकल्चर अपासे भनेर निकाय राखिने चलन सुरु भयो, जसले आफ्नो हित अनुसार काम गर्थे । 

जङ्गबहादुरको युरोप यात्रा

तत्कालीन श्री ३ जङ्गबहादुर राणा विसं १९०६ को माघ महिनामा बेलायत यात्रामा हिँडे । थुप्रै हीरा, जवाहरतसँगै बाघका छाला, गैँडाको खाग, हस्तीहाडका अनेक कोसेली महारानी भिक्टोरियालाई दिएको व्याख्या विभिन्न ऐतिहासिक पुस्तकमा गरिएका छन् । 

इतिहासकार ज्ञानमणि नेपालका अनुसार जङ्गबहादुर राणा राजकाजबाट फुर्सद हुनेबित्तिकै चितवनमा बाघको सिकार गर्न पुग्थे । महिनौँ जङ्गलमा बाघसँग पौँठेजोरी खेल्थे । मारेको बाघ लहरै राखेर आफ्ना भारदारलाई ठाँटका साथ देखाउँथे । उडिरहेको चरालाई तारो हानेर खसाल्ने खुबी उनीसँग थियो । बाघ मार्ने छुट्टै कला थियो । बेलायत यात्राका क्रममा महिनौँ जहाजमा रहँदा उनले समुद्रमाथि आकाशमा उडिरहेका ठुल्ठुला चरा तारो हानेर खसाल्दै कायल पारेको स्मरण इतिहासकार नेपाल गर्नु हुन्छ । कैयौँ पटक समुद्र यात्रामा हिँड्ने बेलायतका बन्दुकबाजले त्यसरी चरा खसाल्न सकेका थिएनन् । ज्यानको बदला ज्यान, आँखाको बदला आँखा भन्ने कठोर न्यायको चलन नेपालमा थियो । बेलायतमा त्यस्तो थिएन । महारानी भिक्टोरियासँग बेलायत घुम्दै गर्दा एक दिन कुनै व्यक्तिले बग्गीमा चढेर महारानीलाई गालामा थप्पड हान्न भ्याएछन् । इतिहासकार नेपालले भन्नु भयो, “रिसले मुर्मुरिएका जङ्गबहादुर तरबार म्यानबाट थुतेर त्यो मान्छेलाई काट्न भनेर कुदे तर त्यसरी मान्छे मार्न नपाइने कानुन रहेको भनेर महारानीले सम्झाएपछि अक्क न बक्क भएछन् ।” पछि त्यो मान्छे पक्राउ प-यो कि परेन भनेर खुब चासो दिएर सोधिखोजी गर्दा पक्रेर दुई महिनाको कैद सजाय भयो भन्ने सुन्दा जङ्गबहादुर छक्क परेका थिए । नेपालमा भए त्यसरी राजा वा रानीलाई थप्पड हान्नेलाई त्यो बेला सिधै काटिन्थ्यो । त्यसपछि उनमा १९१० को मुलुकी ऐन बनाउन सोच पलाएको ठानिन्छ । 

जङ्गबहादुर राणा राजकाजबाट फुर्सद हुनेबित्तिकै चितवनमा बाघको सिकार गर्न पुग्थे । महिनौँ जङ्गलमा बाघसँग पौँठेजोरी खेल्थे । मारेको बाघ लहरै राखेर आफ्ना भारदारलाई ठाँटका साथ देखाउँथे ।

राजा जर्जको दस दिने सिकार अभियान

भारतमा ब्रिटिस साम्राज्यवादका उद्घोषक मानिने राजा जर्ज फेडरिक एमेस्ट अलवर्टलाई राजा जर्ज पाँचौँ भनिन्थ्यो । सन् १९११ को डिसेम्बर ८ देखि २८ सम्म आफ्नी रानी मेरीका साथ नेपाल भ्रमणमा रहँदा उनी बाघको सिकारमा झुमे । तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरको आयोजनामा भएको सिकार अभियानको हिस्सा बन्न राजा जर्ज नेपाल आएका थिए । त्यो अभियानका क्रममा ३९ वटा पाटेबाघ, १८ वटा गैँडासहित अत्यधिक चितुवा र भालुको सिकार गरिएको थियो । सिकारबाट खुसी भएका राजा जर्जले प्रधानमन्त्री चन्द्र शमशेरलाई शाही भिक्टोरियन अर्डरबाट सम्मानित गरेका थिए । त्यो बेलाको सिकारपछि मारिएको बाघसँग राजा जर्ज र प्रधानमन्त्री चन्द्र शमशेरले खिचाएको फोटो डा. भट्राईको ‘चार कूटनीतिज्ञ’ नामक पुस्तकमा छापिएको छ । बाघ मार्नका लागि विशेष प्रकारको गोलीसहितको बन्दुक हुन्थे । राजा जर्जले मात्र तीन वटा बाघ, तीन गैँडासहित धेरै वन्यजन्तु मारेका थिए । सुन्तले लामो धर्के पाटा भएको अजङ्गका पाटेबाघको सिकार गर्नु कम्ती जोखिमको काम थिएन । सिकारको रेकी गर्ने टोलीले बाघ भएको ठाउँ पत्ता लगाउँथे । विदेशी पाहुनाका लागि सुरक्षित स्थानमा टेन्ट गाडेर घर बनाइन्थे । खानपानका सरसामानसहित दस दिन राजा जर्जसहितको जम्बो टोलीले जङ्गलमा बिताएका थिए । कसले बढी मार्ने मात्र हैन, गोली कहाँ हानेर मार्ने भन्नेसम्मको प्रतिस्पर्धा चल्थ्यो । टाउकोमा, घाँटीमा निशाना साध्न सक्ने व्यक्तिको सान बेग्लै हुन्थ्यो । त्यो समयमा सिकार वैध थियो । पूर्वपरराष्ट्रसचिव तथा राजदूत मदनकुमार भट्टराईका अनुसार कूटनीतिको महत्वपूर्ण अङ्गका रूपमा सिकार थियो । अमेरिकालगायत अन्य मुलुकसँग नेपालको अन्तव्रिर्mया हुँदैनथ्यो । दोस्रो विश्वयुद्धपछि मात्र नेपालको सम्पर्क अमेरिकासँग हुन पुगेको थियो । उहाँ भन्नुहुन्छ, “जे थियो त्यो बेलामा नेपालको नजिकमा ब्रिटिस इन्डिया थियो ।” शीतयुद्धकालमा बेलायतकै साख बढी थियो । बेलायतका राजा र रानी, अनि महामहिमका रूपमा गभर्नर जनरल, कमान्डर इन चिफलगायत उच्चाधिकारी नेपालको विदेशी पाहुना बनिरहन्थे । उहाँका अनुसार विदेशी पाहुनालाई काठमाडौँमा स्वागत गरेपछि सिकारका लागि तराईमा लगिन्थ्यो । ब्रिटिसको पालामा मात्र होइन राणा शासनको अन्त्यपछि पनि विदेशी पाहुनालाई सिकारमा लैजाने चलन कायम रह्यो । बहुदलीय व्यवस्थाको अन्त्य गर्दै २०१७ सालमा पञ्चायती शासन सुरु हुँदाताका भारतका प्रधानसेनापति नेपालमा सिकारमा व्यस्त थिए । युरोपमा पनि उतिबेलैदेखि वैध सिकारको चलन थियो र अहिले पनि रहेको भट्टराईको कथन छ । राजा पृथ्वी विरविक्रम शाह बिरामी भएका बेला बेलायतका राजा जर्ज नेपाल आएका थिए । त्यसैले राजालाई केही भइहाल्यो भने पनि सिकारको काममा अवरोध नगर्नु भन्ने परिपत्र भएको थियो । यसले त्यो बेला सिकारको महत्व उच्चस्तरीय रूपमा थियो भन्ने बुझिन्छ । कसले कति बाघ वा गैँडा मा-यो भन्ने कुरा ठुलो उपलब्धिका रूपमा हेरिन्थ्यो । अहिले भने सिकार अवैध मानिन्छ । 

भट्टराईका अनुसार विदेशबाट मात्र होइन, नेपालबाट बाहिर हुने भ्रमणमा पनि यहाँका राजा विदेशमा सिकारमा रमाउँथे । राजा महेन्द्रले सन् १९५५ मा डेढ महिना लामो भारत भ्रमण गर्नुभयो । प्रधानमन्त्रीको भ्रमण पनि १५ देखि २० दिन हुनु सामान्य हुन्थ्यो । खासै आर्थिक लिनु दिनुपर्ने सम्झौता त्यो बेलामा निकै कम हुन्थे । मनोमालिन्य तवरबाट भाइचाराको विकास र निकटता बढाउने काम थोरबहुत कोसेली र सिकारमा साथ बिताएर गरिन्थे । अहिलेको कूटनीति बढी व्यावसायिक सोचबाट अघि बढेको छ । एक देशमा खाजा खाएर विदेशी पाहुना अर्को देशमा सम्झौता गर्न भ्याउँछन् । 

बाघ नमार्ने राजकुमार फिलिप

नेदरल्यान्डमा महारानी जुलियानाको शासनकालमा वन्यजन्तु संरक्षणको वैश्विक पहल सुरु भएको पाइन्छ । उनका पति राजकुमार बर्नाड र बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपले मिलेर सन् १९६१ मा विश्व वन्यजन्तु कोषको स्थापना गरेका थिए । यसपछि यसको कार्यालय नेपाल पनि रह्यो र तत्कालीन राजकुमार ज्ञानेन्द्र त्यसको अध्यक्ष बनेका थिए । प्रतिष्ठा प्राप्तिको उद्देश्यले गठित त्यो संस्था पछि साँच्चिकै संरक्षणमा अग्रसर बन्यो । किनभने त्यही साल महारानी एलिजाबेथ आफ्ना पति फिलिपका साथमा नेपाल भ्रमणमा आइन् । हजुरबुबा राजा जर्जको भ्रमणको ५० वर्षपछि महारानी एलिजाबेथ नेपाल आएकी थिइन् । इतिहासकार ज्ञानमणि नेपालका अनुसार मेघौलीमा हेलिप्याड बनाएरै महारानी र राजकुमारलाई अवतरण गराइएको थियो । राजा महेन्द्रले पुरानो चलन अनुसार सिकारको आमन्त्रण गर्नुभएको थियो तर दुवै विदेशी पाहुनाले त्यो वर्ष बाघलगायत कुनै पनि वन्यजन्तुको सिकार गरेनन् । चार सयभन्दा बढी हात्तीसहितको सारा व्यवस्था थियो तर राजकुमार फिलिपले आफ्नो चोर औँलामा चोट लागेका कारण सिकार गर्न असमर्थ रहेको जानकारी जङ्गलमा राजा महेन्द्रलाई गराए । उता बेलायतमा संरक्षणमा लागेको राजकुमारले सिकार गरेमा त्यसको चर्को विरोधसहितको समाचार लेख्ने तयारी रहेको कुरा राजकुमारले बुझेकै कारण बन्दुक चलाएनन् भन्ने कुरा राजाले बुझे । यो कुरा ‘बोन्स अफ द टाइगर प्रोटेक्टिङ म्यान्स इटर अफ नेपाल’ नामक पुस्तकमा पनि उल्लेख छ । 

प्रजातन्त्र प्राप्तिपछि चोरीसिकारीको पहुँच

राणा शासनको अन्त्यसँगै बाघको वैध सिकारको दर केही घट्यो तर शाहकालीन शानबाट हट्न नसकेको बाघको सिकार राजा वीरेन्द्रको पालासम्म आइपुग्दा संरक्षणको गोरेटो कोरियो । राजा महेन्द्रले पनि गर्न नचाहेका होइनन् तर विदेशी पाहुनाको मुख्य चासो नै सिकार बनिदिँदा मानका खातिर शान पालेर बस्न बाध्य भए । 

संरक्षणविद् डा. हेमसागर बरालको ‘पाटेबाघ’ पुस्तकले पनि यही कुरा पुष्टि गर्छ । तथापि राणा शासकले बाघको सिकार गर्दा सङ्ख्या नघटुन् भनेर दुईदेखि तीन सालको अन्तराल पारेर फरक फरक क्षेत्रमा सिकार गर्थे । त्यसले गर्दा नयाँ डमरुले हुर्कने मौका पाउँथे । त्यो बेला राणा शासककै त्रासले बाहिरिया सिकारी वा आममानिसले बाघ मार्ने आँट गर्दैनथे । बरालका अनुसार २००७ सालमा नेपालमा प्रजातन्त्रको स्थापनापछि बाघको सिकारमा बाहिरियाको पहुँच पुगेको हो । त्यसयता राणा, राजा, पञ्चायत र प्रजातन्त्र पक्षधरको आन्तरिक किचलोमा बाघको सिकार हुन थाल्यो । जथाभावी बाघ मारिन थालेपछि बाघ विनाश सुरु भयो । 

चन्द्र शमशेरको आयोजनामा भएको सिकार अभियानको हिस्सा बन्न राजा जर्ज नेपाल आएका थिए । त्यो अभियानका क्रममा ३९ वटा पाटे बाघ, १८ वटा गैँडासहित अत्यधिक चितुवा र भालुको सिकार गरिएको थियो ।

विसं २०११ मा औलो उन्मूलनको घोषणासँगै तराईका वनजङ्गल व्यापक फडानीसँगै मानवबस्ती विस्तार भयो । यसले बाघको बासस्थान र आहरा प्रजातिमा क्षय पुग्यो । राजा महेन्द्रले सन् १९६४ ताका राप्ती नदीको दक्षिण भागलाई ‘राइनो स्याङचुअरी’ घोषणा गरेर बाघ र गैँडाको संरक्षणको प्रयास गरे । उनको शेषपछि राजा वीरेन्द्रको शासनकालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ बनाइ संरक्षित क्षेत्र घोषणा गरिए । अनि, २०३० सालमा बाघ, गैँडालगायतका वन्यजन्तुको संरक्षण गर्नकै लागि चितवन राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो संरक्षित क्षेत्रका रूपमा स्थापना भयो । तथापि बाघमाथि दोहोरो सिकारको मार जारी रह्यो । एकातिर विदेशी पाहुना अर्कातिर तस्करको निशानामा परेर बाघ व्यापारको वस्तु बनिरह्यो । बान्की परेका बाघका जुँगाका रौँ चुँडिए । नङ्ग्रा काटिए । सिङ्गो जिउका छाला काढिए । ठुलाबडाको बैठकका भुइँ र भित्ता तिनले सजिए । धेरै बाघका अङ्गप्रत्यङ्ग विदेश पुगे । राजारजौटाको सिकार बनेका बाघहरू बिस्तारै नेपालका जङ्गलबाट फेरि हराउन थाले । विभिन्न अध्ययन अनुसार सिकार युगको त्यो चरम चरण पार गर्दा सन् १९९३ ताका बाघको सङ्ख्या जम्मा ९३ वटा मात्र रह्यो ।

संरक्षणमा अन्तर्राष्ट्रिय हातेमालो 

बाघको सिकारमा प्रतिबन्धसँगै २०३७ सालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्थापना भयो । देशभर १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक सिकार आरक्ष र छ वटा संरक्षण क्षेत्र विस्तार भए । नेपालले बाघ संरक्षणमा ताते गर्दै सिक्न धेरै समय लाग्यो । यसबिचमा विगतमा बाघको सिकारमा रमाउने कूटनीतिक पाहुनाको ध्यान संरक्षणले तान्न थाल्यो । संरक्षणमुखी संस्थाहरू खुल्न थाले । संरक्षणविद् डा. हेमसागर बरालको पुस्तक ‘पाटेबाघ’का अनुसार लामो समयपछि सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा पहिलो विश्व बाघ सम्मेलन भयो । त्यो वर्ष नोभेम्बर २१ देखि २४ तारिखसम्म चलेको सम्मेलन बाघ संरक्षणको पहिलो सङ्गठित प्रयास बन्यो । बाघ पाइने नेपालसहित १३ देशले बाघ संरक्षण गर्दै बाघको चोरीसिकार नियन्त्रण गर्न र यसका अङ्गको प्रयोग भएका वस्तु प्रयोगमा बन्देज लगाउने सहमति गरे । सहमति अनुसार समुदायलाई बाघ संरक्षणमा प्रेरित गर्ने, ऐन नियम सुधार गर्दै मानव र बाघबिचको द्वन्द्व कम गर्ने कार्यक्रम सञ्चालनको अभियान त्यसपछि नेपालमा सुरु भए । त्यो बेला विश्वमा तीन हजार दुई सयमा सीमित भएको बाघको सङ्ख्या सन् २०२२ सम्ममा दोब्बर गर्ने लक्ष्यका साथ बाघ पुनस्र्थापना कार्यक्रम सुरु भयो । हरेक वर्ष जुलाई २९ मा बाघ दिवस मनाउन सुरु भयो । सन् २०१३ मा भुटानमा दोस्रो विश्व बाघ सम्मेलन र सन् २०१६ मा भारतमा तेस्रो सम्मेलनसम्म आइपुग्दा बाघको सङ्ख्या तीन हजार ८९० वटा पुगेको सुखद तथ्य आयो तर वयष्क बाघको सङ्ख्या न्यून रह्यो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार करिब १२ हजार वर्षपूर्व भारतीय महाद्वीपमा देखिएको पाटेबाघ नेपालसहित छिमेकी मुलुक भारत, भुटान, बङ्गलादेशमा पाइन्छ । नेपालको चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ संरक्षणका योजना चलेका छन् । नेपाल सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर पु-याउन सफल भएको छ । सन् २०१८ को लण्डन सम्मेलनताका २३५ वटा बाघ नेपालमा थियो । त्यसको चार वर्षपछि १२० बाघ थपिँदै कुल सङ्ख्या ३५५ वटा पुग्यो । पहिलो विश्व बाघ सम्मेलन हुँदा नेपालमा १९८ वटा मात्र पाटेबाघ थियो । 

चुनौती अझै बाँकी 

वैध–अवैध सिकारको मारमा परेर झन्डै तस्बिरमा सीमित हुन पुगेको पाटेबाघ वनको राजा बनेर फेरि वनमै फर्कंदै छ । संरक्षणमा अझै अनेकौँ चुनौती छन् । बाघको रजगज वनमा चल्न बाँकी छ । चोरीसिकारी, आहरा प्रजातिको विनास, वन विनाश, घाँसे मैदानको ह्रास, जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि र प्राकृतिक वातावरणमा परिवर्तन, मानव र बाघबिचको अन्तरद्वन्द्व, समुदायलाई आवश्यक संरक्षण सहयोगका अभावलगायत ज्वलन्त समस्याबिच बढेका पाटेबाघको सङ्ख्या यथावत् राख्नु नेपालको दायित्व हो । यसमा विदेशी दातृ संस्था र मित्रराष्ट्र मुलुकले यसको चोरी सिकार नियन्त्रण र आवश्यक वित्तीय सहायता पु-याएर भविष्यका बाघमैत्री समाजका लागि योगदान पु-याउन सक्छन् । सिकारबाट संरक्षणमा होमिएको कूटनीतिक यात्रालाई बलियो बनाउन सरकार, संरक्षणकारी निकाय र मित्रराष्ट्र मुलुकको सामूहिक हातेमालो बलियो हुन जरुरी छ ।