• २ जेठ २०८१, बुधबार

आकर्षक गन्तव्य बन्दै नारायणी नदी किनार

blog

शान्ता अधिकारी 

चितवन, साउन ११ गते  । प्रदर्शनी मैदानको नामले परिचित नारायणी नदी किनार हिजोआज आन्तरिक पर्यटकका लागि गन्तव्य बनेकोे छ । नारायणी नदीको पुलदेखि उत्तरतर्फ समुद्री तट (सी बिच) कै झल्को दिने गरी पूर्वाधार निर्माण गरिएपछि यसको आकर्षण बढेको हो । 

केही समययता नारायणी नदी किनारमा मानिसको बाक्लै चहलपहल हुन थालेको छ । अपराह्न ४ बजेदेखि नै व्यस्त देखिने उक्त स्थानमा बालबालिकादेखि वृद्धवृद्धासम्मको बाक्लै उपस्थिति हुने गरेको छ । 

गण्डकी महाआरती सिँढीयुक्त तटबन्ध यहाँको मुख्य आकर्षण हो । नदी किनार र पुलमाथि राखिएका बत्तीको उज्यालो नदीमा पर्दा देखिने दृश्य यहाँका थप आकर्षण हुन् । 

भरतपुर–१, नारायणगढ मेनरोडका शम्भु बानियाँले नदी किनार व्यवस्थित गर्ने विषयमा धेरैअघिदेखि कुरा उठाउँदै आएको र त्यसलाई यस पटक सार्थकतामा परिणत गरिएको बताउनुभयो । 

नदी किनारमा दैनिक जसो साँझबिहान पुग्नेमध्येका एक हुनुहुन्छ, दिगम्बर पिया ।  नारायणी नदी तटबन्धको जुन काम भयो, यो महŒवपूर्ण र प्रशंसा गर्नलायक रहेको बताउँदै उहाँले केही सुधारको आवश्यकता रहेको औँल्याउनुभयो । उहाँका अनुसार नारायणगढ बजार क्षेत्रको ढल व्यवस्थापन राम्रो गरेर नदीको सौन्दर्य जोगाउन आवश्यक छ ।

नारायणी नदीको पुलबाट उत्तरपूर्वतर्फ नारायणी लिफ्ट सिँचाइसम्म लमतन्न फैलिएको झन्डै साढे दुई किलोमिटर लम्बाइको उक्त क्षेत्रमा पैदल मार्ग निर्माण गरिएको छ । नदी किनारमा ६४० मिटर लम्बाइको खुट्किलासहितको ‘आरसिसी स्ट्रक्चर’ निर्माण गरिएको छ । 

थप संरचना बनाइँदै 

नदी किनारको तटबन्धको काम पूरा भए पनि त्यहाँ निर्माण गर्ने भनिएको साइकल मार्ग, प्रदर्शनी स्थल, मनोरञ्जन स्थल, आरती स्टल, धार्मिक क्षेत्र र हरियाली क्षेत्र निर्माणको 

काम बाँकी छ । 

‘सि बिच मोडेल’ अनुसार ठाउँ ठाउँमा बगैँचा, एउटा व्यवस्थित फुटबल मैदान, भलिबल, ब्याडमिन्टन कोर्ट, बिच भलिबल, अन्य खेलका लागि छुट्टै क्षेत्र, बालुवा तथा बालबालिकाको खेल, अवलोकन क्षेत्र, विश्राम स्थल, शौचालय, पार्किङलगायतका संरचना निर्माण गरिने गुरुयोजनामा उल्लेख छ । काम सम्पन्न भइसकेको अवस्थामा २.४ किलोमिटर पदयात्रा, एक सय हाराहारीमा चारपाङ्ग्रे सवारी अट्ने छुट्टाछुट्टै तीन स्थानमा पार्किङ स्थल बनाइने छन् ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार ‘सि बिच मोडेल’ का धेरै काम गर्न बाँकी छन् । उहाँले भन्नुभयो, “गुरुयोजना अनुसारको पैदल मार्ग र ६४० मिटर तटबन्धको काम मात्र सकिएको छ । आरती स्थल र लाइटिङको काममा टेन्डर भइसकेको छ । अन्य काम बर्खा सकिनासाथ युद्धस्तरमा गर्ने तयारीमा छौँ ।” 

महानगर प्रमुख दाहालले ‘भरतपुर भ्रमण वर्ष–२०२४’ सुरु हुनुपूर्व सोही स्थानमा भ्रमण वर्षको स्मारकसमेत बनाउने योजना छ । उहाँले भरतपुर भ्रमण वर्षका लागि एउटा आकर्षण नदी किनार पनि रहेको बताउनुभयो ।

सोह्र करोडमा तटबन्ध

नदी किनारको ६५० मिटर क्षेत्रलाई नदीको बाढीले असर नगर्ने र नदीको बहाव क्षेत्रलाई पनि सङ्कुचन नगर्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेटमा नारायणी नदी व्यवस्थापन आयोजनाले झन्डै १६ करोड रुपियाँमा तटबन्ध गरेको हो । सोही मन्त्रालयको पर्यटन विभागले पद मार्ग, पार्किङ स्थललगायतका कामको जिम्मेवारी पाएको छ । 

सहरी विकास मन्त्रालय अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले आरती स्थल निर्माण र विद्युतीकरणको काम सम्पन्न गर्ने जिम्मेवारी छ ।

निर्माण भएको संरचनाका विषयमा सर्वसाधारणको प्रतिव्रिmया, बाढीले पार्न सक्ने प्रभाव र हिउँदमा देखिने आकर्षणलाई ध्यानमा राख्दै थप आकर्षक बनाउँदै लैजाने योजना रहेको नारायणी नदी व्यवस्थापन कार्यालयका प्रमुख गणेश मरासिनीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो सरोकारवाला सङ्घसंस्थाको राय र अनुरोध अनुसारको हाम्रो इन्जिनियरिङ डिजाइन हो । सफल हुन्छ भन्नेमा हामी विश्वस्त छौँ । कथंकदाचित् समस्या देखिए, चित्तबुझ्दो राय सुझाव आए भने त्यो पनि गर्न सकिन्छ । नदी किनारलाई आकर्षक स्थल बनाउने विषयमा हामी खुला छौँ ।”