काठमाडौँ, साउन १० गते । नेपालको पशुपालनको क्षेत्रले पछिल्लो एक वर्षमा निकै ठुलो क्षति बेहो-यो। ‘लम्पी स्किन’ महामारीले गाईभैँसी र अफ्रिकन स्वाइन फिभरले बङ्गुरपालक किसान नराम्ररी प्रभावित बनेका छन्। 
पाँच प्रतिशतभन्दा कम मृत्युदर भएको ‘लम्पी स्किन’ सङ्क्रमणले एक खर्ब २६ अर्बको क्षति पुग्ने आकलन गरिँदा शतप्रतिशत मृत्युदर रहेको अफ्रिकन स्वाइन फिभरले पारेको क्षतिको विवरण भने सङ्कलनसमेत भएको छैन। कुनै पनि सरकारी निकायसँग त्यसको वास्तविक तथ्याङ्क छैन। लम्पीबाट मात्र चालु आर्थिक वर्षको बजेटको ७.२ प्रतिशत बराबरको क्षति पुगेको छ।
तथ्याङ्क नै नभएपछि बङ्गुरपालक किसानलाई दिने क्षतिपूर्तिको विषय उठेको छैन। जब कि विपन्न वर्गको जीविकोपार्जनमा बङ्गुर पालनले ठुलो सहयोग गरेको छ। एकै बेतमा धेरै पाठापाठी उत्पादन हुने र तिनबाट चाँडो प्रतिफल प्राप्त हुने हुँदा ग्रामीण गरिबीसँग जुध्न बङ्गुर बढी प्रभावकारी छ। यसको बजार पनि सहज छ।
विसं २०७९ जेठमा काठमाडौँ उपत्यकामा देखिएको अफ्रिकन स्वाइन फिभर कति जिल्लामा फैलियो र त्यसले कस्तो असर पा-यो भन्नेबारेको तथ्याङ्क दिन सरकारी निकाय सक्षम छैन। अफ्रिकन स्वाइन फिभरबाट अघिल्लो आर्थिक वर्षमा ज्यादा क्षति पारेको तर यस वर्ष खासै समस्या नरहेको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताउनुभयो। पशु स्वास्थ्यको क्षेत्रमा कार्यरत निकाय सङ्घ, प्रदेश र स्थानीय तह हुँदा त्यसले तथ्याङ्क केन्द्रीकृत गर्न समस्या पारेकाले पूर्ण विवरण विभागसँग नभएको उहाँले स्वीकार गर्नुभयो।
स्वाइन फिभरबाट एक वर्षअघि हजारौँ बङ्गुर मरेका थिए। एक पटक लागेपछि सो रोग निको नहुने भएकाले धेरै किसानका खोर रित्तो बनाएको थियो। पशुसेवा विभागको भेटेरिनरी इपिडोमियोलोजीका प्रमुख डा. मुकुल उपाध्याय ग्रामीण क्षेत्रका गरिब कृषकको आम्दानीको प्रमुख स्रोत नै बङ्गुर रहे पनि अघिल्ला वर्षमा भएको क्षतिको विवरण राम्रोसँग आउन नसकेको बताउनुभयो।
एक वर्षअघि धेरैका गोठ नै रित्तो पारेको बताउँदै त्यति बेला किसानले क्षतिपूर्तिसमेत पाउन नसकेको उहाँले उल्लेख गर्नुभयो। बङ्गुर भनेपछि धेरैले मन नपराउने कारणले क्षतिको चर्चा कम भएको हुन सक्ने उहाँले बताउनुभयो। ‘लम्पी स्किन’को भने तथ्याङ्क अद्यावधिक भए पनि पीडित कृषकले उपचार र क्षतिपूर्ति सहज रूपमा पाउन सकेका छैनन्। नेपाल पशुचिकित्सा परिषद्ले गरेको अनुसन्धानबाट नेपालमा २५ लाख पशुमा सङ्क्रमण देखिने र एक लाख गाईभैँसी मर्ने आकलन गरिएको छ। त्यसबाट कम्तीमा एक खर्ब २६ अर्ब बराबरको पशुधनमा क्षति पुग्ने आकलन गरिएको छ।
परिषद्का अनुसार यो रकम नेपालको आव २०८०/८१ को कुल बजेटको करिब ७.२ प्रतिशत हुन आउँछ। हालसम्म सो रोगको सङ्क्रमणले ५१ अर्ब ७९ करोड ९९ लाख २५ हजार रुपियाँको क्षति भइसकेको छ। एउटा पशुमा लम्पीको सङ्क्रमण भएपछि ४९ हजार १३५ रुपियाँको क्षति पुग्ने र त्यही सङ्क्रमितको सङ्ख्यालाई गुणन गर्दा सो क्षतिको आर्थिक विवरण तयार पारिन्छ। अहिले मध्यवर्षा भइरहेको र सङ्क्रमण दर उच्च बिन्दुमा रहेकाले कम्तीमा २५ लाख पशुमा यो सङ्क्रमण देखिन सक्ने आकलन अनुसार परिषद्ले क्षतिको अनुमान गरेको हो।
परिषद्का प्रवक्ता डा. मनोज शाहीले अहिलेसम्म आफूहरूले गरेको अनुमान मिलेको र साउनको पहिलो सातामा आउँदा अनुमानको ४० प्रतिशत नाघेको बताउनुभयो। उहाँले सङ्क्रमण दैनिक रूपमा फैलिरहेको र त्यसको नियन्त्रण, उपचारमा सोचेजस्तो सफलता नमिलेको बताउनुभयो। विभागका अनुसार हालसम्म ७७ जिल्लामा १० लाख ५४ हजार पशुमा ‘लम्पी स्किन’ देखिएको छ भने ४८ हजार १३३ पशु मरिसकेका छन्। पशुसेवा विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने दैनिक १५ हजार नयाँ पशुमा यो सङ्क्रमण फैलिएको छ भने दैनिक आठ सय पशु मरिरहेका छन्।
नेपालमा सन् १९४० को दशकमा गाईबस्तुमा फैलिएको ‘रिन्डरपेस्ट’ अर्थात् गगौटी रोगको महामारीले ठुलो क्षति निम्त्याएको थियो। खुर हुने चौपायामा लाग्ने सो रोग अहिले उन्मूलन भइसकेको प्रवक्ता शाहीले बताउनुभयो। त्यसपछिको दोस्रो ठुलो पशु क्षति नेपालले बेहोरिरहेको छ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                