• ११ मंसिर २०८१, मङ्गलबार

विषय छनोटमा अभिभावकको हस्तक्षेप

blog

काठमाडौँ, साउन ७ गते । कक्षा ११ मा भर्ना हुँदा विषय छनोटमा अभिभावकको हस्तक्षेप रहने गरेको पाइएको छ। यसले गर्दा विद्यार्थीको मनस्थितिमा गम्भीर असर पर्ने गरेको पाइएको छ।

मनोविज्ञ ज्योत्सना डाँगीले भन्नुभयो, “कक्षा ११ मा भर्ना हुने विद्यार्थीको शारीरिक तथा मानसिक परिवर्तन हुने निकै नाजुक समय हो। यो उमेरमा सही शिक्षा दिन वा सही निर्णय लिन सकिएन भने जीवन कठिन मोडमा पुग्न सक्छ।” 

माध्यमिक शिक्षा परीक्षा (एसइई) कुन विषय रोज्ने, के पढ्ने, कसरी पढ्ने, नयाँ विद्यालयमा जाने वा पुरानैमा पढ्ने भन्ने अनेकन प्रश्नको भुमरीमा उनीहरू रुमलिरहेका हुन्छन्। यस्तो बेलामा अभिभावकले आफूहरूले रोजिदिएको राम्रो भनिएका विषय पढ्नैपर्ने भनेर अड्डी लिन थाल्छन्। मनोविज्ञ डाँगीले भन्नुभयो, “धेरैजसो आमाबाबुले देखासिकीमा विज्ञान पढ्नु पर्छ, डाक्टर वा इन्जिनियर बन्ने त्यही विषय पढ्नुपर्छ भन्ने भावनाले जरा गाडेको पाइन्छ । 

यो गलत हो।”

उहाँले अभिभावकको दबाबले पढेको विषयका कारण धेरै विद्यार्थीमा मानसिक तनाव थपेको पाइएको बताउनुभयो। एकातिर आमाबाबु आफूले छानेको विषय पढेर इज्जत राखेको सम्झन्छन्, अर्कोतिर छोराछोरीको पढाइको स्तर स्वाट्टै घटेर जाने मात्र होइन, उनीहरू मानसिक तनाव हुँदै डिप्रेसनतिर अग्रसर हुने गरेको पाइएको छ। 

बालबालिकाको क्षमता यो छ र यो खालको विषयमा जोड दिनुहोस् भनेर विद्यालयले सुझाव दिए पनि कतिपय आमाबाबु ती सुझाव स्वीकार्न चाहँदैनन्। जबरजस्ती रोजेको विषयले विद्यार्थी आमाबाबुबाट टाढिने मात्र होइन, गलत लतमा समेत लाग्ने सम्भावना उत्तिकै 

रहन्छ। छात्रामा मासिक श्रावको पीडा र तनावसँगै इच्छा नगरेको विषय पढ्नुपर्दा अर्को खालको तनाव पैदा हुन्छ। चिडचिडा हुने, एक्लै बस्ने, कुरै नसुन्ने, केटा साथी धेरै बनाउनेजस्ता समस्या देखिन थाल्छन्। एक्लै भएको महसुस गर्दागर्दै आत्महत्याको बाटो पनि कतिले रोज्न सक्छन्। प्रहरीको तथ्याङ्कले १९ वर्षमुनिका बालकभन्दा बालिकाको आत्महत्याको दर बढी देखाउँछ । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा भएको कुल छ हजार ८३० आत्महत्याका घटनामध्ये ४५६ जना बालिका र २५३ जना बालकले आत्महत्या गरेका थिए। 

मनोपरामर्शविद् डाँगीले हरेक शिक्षण संस्थाले अभिभावक तथा विद्यार्थीलाई मनोपरामर्श शिक्षा दिनु जरुरी देखिएको बताउनुभयो। “कस्तो विषय छनोट गर्न चाहेका छन् भन्नेबारेमा विद्यार्थीका कुरा सुनिदिनुपर्छ,” उहाँले थप्नुभयो, “साथीभाइको लहैलहैमा लागेर विषय छनोट गर्ने सम्भावना पनि उत्तिकै हुन्छ। त्यसमै भविष्य देख्छन् र रुचि पनि हो भने विद्यार्थीलाई छनोटमा कर गर्नुहुन्न । हरेक बालबालिकाभित्र आफ्नैखालको फरक क्षमता हुन्छन्। त्यसको पहिचान र अनुभूति गराउने कार्यमा अभिभावकको भूमिका निकै महत्त्वपूर्ण हुन्छ।” 


मागमा जोड दिनु पर्छ


उमेश श्रेष्ठ

पूर्वराज्यमन्त्री तथा प्याब्सनका पूर्वअध्यक्ष


संसारभरिको माग भएको विषयमा जोड दिनुपर्छ। केही विद्यार्थीलाई विज्ञान, व्यवस्थापनजस्ता विषय पढाउनुपर्छ र बाँकीलाई प्राविधिक शिक्षा नै प्रदान गर्नु पर्छ। कक्षा ११ देखि ‘सफ्ट स्किल’ का शिक्षा दिनै पर्छ। 

विद्यालय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्न निजीलाई अनुमति दिइएको छैन। सरकारीमा पूर्वाधार, दक्ष जनशक्ति आदि अभाव छ। यसलाई सफल गराउन राम्रा भनिएका एक सय वटा निजी विद्यालय छनोट गरेर सञ्चालन अनुमति दिनु पर्छ। सरकारले अनुदान उपलब्ध गराउन सक्दा विद्यार्थीले सस्तो शुल्कमा निजी विद्यालयबाट प्राविधिक तथा व्यावसायिक शिक्षा पाउन सक्छन्। 

कक्षा ११ मा भर्ना हुन लहलहैमा लागेर विद्यालय छनोट नगरौँ। कक्षा ११ र १२ अध्ययन गर्न काठमाडौँमा आउनु जरुरी पनि छैन। जुन विद्यालयमा कक्षा १० पढिएको हो त्यही स्कुलमा कक्षा ११ र १२ पढ्ने वातावरण बनाउनु जरुरी छ। कक्षा १२ को शिक्षा भनेको विद्यालय तह भएकाले अब एउटै विद्यालयबाट कक्षा १२ सम्मको शिक्षा पूरा गर्ने पद्धति विकास गर्नुपर्ने देखिन्छ। 


विद्यालयबारे बुझ्नु पर्छ


 रमेश सिलवाल 

अध्यक्ष, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान)


विद्यार्थीले कुनै पनि शैक्षिक संस्था छान्नुअघि थुप्रै पक्षबारे राम्रोसँग अध्ययन गरेर मात्रै उचित निर्णयमा पुग्नु पर्छ। कक्षा ११ मा भर्ना हुन विद्यार्थी तथा अभिभावकले शैक्षिक संस्था छान्नुअघि त्यसको लगानीकर्ता को हुन् ? लगानीकर्ताले के उद्देश्यले लगानी गरिरहेको छ ? भविष्यका लागि उनीहरूको योजना के हो ? भन्ने विषयमा ध्यान दिनु पर्छ। 

त्यसबाहेक शैक्षिक वातावरण कस्तो छ हेर्नुपर्छ। त्यहाँ योग्य र सक्षम प्राध्यापक छन् कि छैनन् ? भौतिक सुविधा पर्याप्त छ कि छैन ? भन्ने विषयमा पनि ध्यान दिनु पर्छ। त्योसँगै उक्त शैक्षिक संस्थाले कति विद्यार्थीलाई हेरचाह गर्न सक्छ ? विद्यार्थी र अभिभावकसँग अन्तव्रिर्mया गर्छ कि गर्दैन ? भन्ने विषयमा पनि अध्ययन दिनु जरुरी हुन्छ। अतिरिक्त शैक्षिक क्रियाकलाप, विद्यार्थीभित्र रहेको आन्तरिक प्रतिभा प्रस्फुटन गराउन मद्दत पु-याउने विद्यालय छनोट गर्नु पर्छ। विद्यार्थीलाई संस्कार सिकाउन सक्छ कि सक्दैन भन्नेतर्फ पनि विद्यार्थी र अभिभावक सचेत हुनु पर्छ । विद्यार्थीले आफ्नो रुचि, योग्यता र क्षमताका आधारमा विषय छनोट गर्नु पर्छ। कसैको दबाबमा परेर विषय छनोट गर्दा आफैँलाई घातक हुन्छ।