• ५ पुस २०८१, शुक्रबार

हुलाकी सडक निर्माणको काममा लक्ष्यभन्दा बढी प्रगति

blog

गत आर्थिक वर्षमा निर्माण गरिएको हुलाकी सडक । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, साउन ६ गते । मधेश प्रदेशको धनुषा, महोतरी, सर्लाही र सिरहा जिल्लामा पर्ने हुलाकी सडक कालोपत्रे गर्ने निमार्णको काम गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी प्रगति भएको देखिएको छ ।

हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०७९–८० मा ५१.४ किलोमिटर नयाँ कालोपत्रे सडक निर्माण गर्ने लक्ष्य लिएकोमा ६५ किलोमिटर नयाँ कालोपत्रे सडक निर्माण गराउन सफल भएको छ । 

हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय जनकपुरधामका सिनियर डिभिजनल इन्जिनियर कार्यालय प्रमुख कृष्णकुमार महतोले दिएको जानकारीअनुसार गत आर्थिक वर्षमा ६५ किलोमिटर सडक र सो सडकमा पर्ने पाँच वटा पुल निर्माणको काम समेत सम्पन्न भएको छ । 

कार्यालय प्रमुख महतोले चार वटै जिल्ला मिलाएर बिभिन्न सडकखण्डको बाँकी ५२ किलोमिटर सडक निर्माणको  काम पूरा भएमा हुलाकी राजमार्ग आयोजना कार्यालयको काम सम्पन्न हुने बताउनुभयो । उहाँले अगामी आर्थिक वर्ष २०८१–८२ सम्ममा सडकमा पर्ने पुल र बाँकी सडक कालोपत्रे गर्ने काम सम्पन्न हुने किसिमले कामकाज भइरहेको जानकारी दिनुभयो । 

हालसम्म सबैभन्दा बढी सर्लाहीमा १५१ किलोमिटर कालोपत्रे सडक निर्माण र सबैभन्दा कम सिरहामा ३० किलोमिटर सडक निर्माण भएको बताउनुभयो । सर्लाही जिल्ला हेर्ने सो कार्यालयका इन्जिनियर रञ्जित यादवले सर्लाही जिल्लामा अव तीन किलोमिटर कालोपत्रे सडक निर्माण गर्न मात्र बाँकी रहेको जानकारी दिंदै स्थानीयको सहयोगले नै निर्माणको कामले त्रिबता पाएको बताउनुभयो । 

बिगतमा सर्लाहीमा निर्माणाधीन सडकमा आवतजावत आम नागरिकलाई धुलो खानुपथ्र्यो अब त्यसबाट मुक्ति मिलेको उहाँको भनाइ छ । धनुषामा हुलाकी सडक खण्डको ७४ किलोमिटरको काम पूरा भइसकेको छ भने ६ किलोमिटर सडक कालोपत्रे गर्ने काम अझै बाँकी छ । 

त्यसैगरी महोत्तरीमा हुलाकीको ८८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने तीन किलोमिटर अझै निर्माण गर्न बाँकी रहेको धनुषा र महोत्तरी हेर्ने कार्यालयका इन्जिनियर बेचन भण्डारीले जानकारी दिनुभयो । चार वटै जिल्लाको विभिन्न सडक खण्डमा हाल १८ वटा पुल निमार्णाधीन अवस्थामा रहेको भन्दै त्यसमध्ये धेरैजसो पुल चालु आर्थिक वर्षमा सम्पन्न हुने बताउनुभयो ।