• ६ जेठ २०८१, आइतबार

आवाजविहीन नेपाली भाषा

blog

भाषा आफैँमा सङ्केत व्यवस्था हो । भाषाले यो मनका कुरा त्यो मनमा र त्यो मनका कुरा यो मनमा आदान प्रदान गर्ने माध्यमका रूपमा काम गर्दछ । यो वाक्प्रतीकहरूबाट अर्थात् कुनै कुराका लागि यही नै बोली हो भन्ने तथ्य स्थापनाका आधारमा बनेको हुन्छ । यो चयनमा स्वतन्त्रता भएको वा यादृच्छिक हुन्छ र परिवर्तनशील पनि हुन्छ । यो भाषाको मूल रूप वा कथ्य भाषाको सामान्य विशेषता हो । 

सामान्यतया भाषालाई आवाजका रूपमा पनि अथ्र्याइन्छ । भाषा शब्द नै संस्कृतको ‘भाष्’ धातुबाट बनेको हुन्छ, जसको अर्थ उच्चारण गर्नु, बोल्नु वा भन्नु हुन्छ । त्यसैले भाषाको मूल रूप नै बोली मानिन्छ; त्यो कथ्य भाषा हुन्छ । तथापि भाषा सञ्चार लेखेर पनि गर्न सकिन्छ, जसलाई लेख्य भाषा भनिन्छ ।

यिनै आधारभूत विशेषताका आधारमा अर्को विशिष्ट आर्थी सङ्केत व्यवस्था भएको भाषा पनि हुन्छ; त्यो हो साङ्केतिक भाषा अर्थात् आवाजविहीन भाषा । वास्तवमा बोली भाषाभन्दा पूर्वको बालसिकाइको भाषा नै साङ्केतिक भाषा हुन्छ । मानिसको भाषा सिकाइको आधारभूत तह नै अनुकरण र सङ्केत पठन हुन्छ; बालकले सिक्ने तरिका यसैमा आधारित हुन्छ । तिनका लागि शरीरका भाषिक सम्प्रेषण र ग्रहणका लागि अनिवार्य उपयोगी अवयवहरू सामान्यतः मुख र कान अनिवार्य हुन्छन् तर भाषिक अनुकरणात्मक सिकाइमा आँखाको पनि उत्तिकै महìव हुन्छ । 

बहिरा तथा श्रवणशक्ति कम भएका मानिसका लागि तिनै आँखा भाषा सञ्चारमा बोली सुन्ने इन्द्रियको काम गर्ने बन्दछन् । त्यसैले साङ्केतिक भाषा ग्रहणका लागि आँखा र कान दुवै हुन्छन् । हात र अन्य केही चलायमान अङ्ग र शारीरिक हाउभाउ सामान्य कथ्य भाषा सञ्चारका लागि मुखले गर्ने कार्य व्यवहारका समधर्मी हुन्छन् । यी आमविशेषता संसारमा बोलिने करिब साढे छ हजार भाषाकै लागि हुन् । 

प्रायः भाषाका साङ्केतिक भाषा हुन्छन् तर साङ्केतिक भाषा कथ्य भाषाको साङ्केतिक रूप भने होइन । विशेष गरी बहिरा र सुस्तश्रवण भएका व्यक्तिका लागि विभिन्न नियममा आधारित सङ्केत व्यवस्था भएको भाषा नै साङ्केतिक भाषा मानिन्छ । नेपाली भाषाको पनि नेपाली साङ्केतिक भाषा प्रयोगमा रहेको छ । साङ्केतिक नेपाली भाषाको आफ्नै व्याकरणिक व्यवस्था रहेको छ र त्यो कथ्य नेपाली भाषाभन्दा भिन्न रहेको छ । यस आधारमा नेपाली कथ्य भाषा र नेपाली साङ्केतिक भाषा अलग रहेका छन् । 

यस्तै विषयवस्तुलाई समेटेर नेपाली साङ्केतिक भाषाका ज्ञाता शिलु शर्माले लेख्नुभएको लघु अनुसन्धानात्मक कृति नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशन भएको छ । साङ्केतिक भाषाको विश्व सन्दर्भसहित पारिवारिक वृक्ष तालिकामा ब्रिटिस भाषा परिवारअन्तर्गत भारतीय र पाकिस्तानी साङ्केतिक भाषाको नजिक रहेको सूचना प्राप्त भएको जानकारी दिँदै यसबारे थप खोजीको सम्भावना पुस्तकले देखाएको छ । वृक्षक्रम तथा नेपाली साङ्केतिक भाषाको ऐतिहासिक विकासक्रम र उक्त भाषाका संरचनात्मक तथा व्याकरणिक पक्षहरू पुस्तकमा प्रस्तुत गरिएको छ ।

नेपालमा साङ्केतिक भाषाको औपचारिक प्रयोग विसं २०२३ मा भएको मानिएको छ तर त्यसअघि पनि साङ्केतिक भाषाको व्यवहार थिएन भन्ने होइन । विसं २०२३ मा बहिरा वा श्रवण समस्या भएका व्यक्तिहरूको उपचारका लागि वीर अस्पतालमा डा. लक्ष्मीनारायण प्रसादको पहलमा कक्षा सञ्चालन भएको थियो । त्यसैलाई नेपालमा साङ्केतिक भाषाको औपचारिक प्रयोगका रूपमा लिने गरिएको छ । तर त्यसबेला हालको जस्तो हातको प्रयोगको साङ्केतिक भाषा नभई मुख तथा ओठ चलाएर भाषा सञ्चार गर्ने गरिएको थियो ।

विसं २०४४ मा भने हस्त वर्णमालाका आधारमा साङ्केतिक भाषा सिकाइ भएको थियो । त्यस्तै विसं २०४५ मा त नेपाली साङ्केतिक भाषा शब्दकोश नै प्रकाशन भएपछि नेपालकै विभिन्न स्थानमा फरक फरक तरिकाले हुने भाषा सम्प्रेषणमा एकरूपता कायम भएको मानिन्छ । २०७४ मा प्रकाशित नेपाली साङ्केतिक भाषाको शब्दकोशमा त चार हजार सात सय शब्दलाई प्रविष्टि दिइएको छ । यसका साथै नेपाली साङ्केतिक भाषाको हिज्जे, वार्णी संरचना, अन्य व्याकरणिक पक्षमा समेत थप कार्य भएको छ । 

पुस्तकमा उल्लेख भए अनुसार साङ्केतिक भाषा मूलतः हातको आकार, हातको चाल र हात अडिने स्थानमा आधारित हुन्छ । यसका अतिरिक्त गैरहस्त सङ्केत र हाउभाउ पनि साङ्केतिक भाषा सञ्चारका अवयव रहने गरेका हुन्छन् । तिनैका आधारमा परिवार, समुदायदेखि आमसञ्चार माध्यमसम्म नेपाली साङ्केतिक भाषाको प्रयोग क्षेत्र विस्तार भएको छ । टेलिभिजनमा समाचारको साङ्केतिक वाचन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सभा सम्मेलनमा साङ्केतिक भाषाको प्रयोग हुने गरेको छ । ती सबैका लागि हस्त आकार, हस्त स्थान र हस्तचाल नै मुख्य रूपमा प्रयोग हुन्छन् । ती सबैका आधारमा भएको भाषा सञ्चारको ग्रहणका लागि आँखाको पठन अनिवार्य हुन्छ । 

पुस्तकमा उल्लेख भए अनुसार साङ्केतिक भाषा अरू कथ्य भाषा जस्तै व्याकरणिक नियममा रहेर अर्थ प्रदान गर्ने हुन्छ । त्यसमा सबैभन्दा महत्वपूर्ण वार्णी संरचना हो, जुन बोली भाषामा जस्तो ध्वनिमा नभई हस्त आकार, हस्त स्थान र हस्त चालका आधारमा निर्धारण हुन्छ । हस्त आकारमा विशेष गरी औँला सिधा वा निहुरिने र हत्केला खुला वा बन्द हुने हुन्छ । 

नेपाली साङ्केतिक भाषा विकासको क्रममा रहेको छ । नेपाली भाषामा जस्तै यसमा पनि शब्द निर्माण प्रक्रिया विशिष्ट छ । शब्दका लागि बनेका सङ्केतको परिमार्जन र नवनिर्माणको क्रम देखिएको पाइन्छ । त्यसै आधारमा नेपाली साङ्केतिक भाषाको शब्दकोशमा शब्दहरू थपिने क्रम जारी छ ।

साङ्केतिक भाषामा नवनिर्माण गर्दा समास प्रक्रिया रोचक पाइन्छ । कुनै एउटा मानक शब्दलाई विम्ब बनाएर अर्को शब्द थपेर विशेष अर्थ दिने शब्द निर्माण गरिएको पाइन्छ । त्यसका लागि हातको चाल फेरि विशेष रहने हुन्छ । जस्तै :

घाम + गणेश = सूर्यविनायक

बाहुन + धागो = जनै

जङ्गल + कुकुर = ब्वाँसो

सुन्तला + मौसम = जुनार

विज्ञान + प + न = विज्ञापन, आदि ।

समासका पनि नामिक समास, क्रियात्मक समास निरपेक्ष र सापेक्ष समास, अन्तकेन्द्री र बहिःकेन्द्री समास रहने पुस्तकमा उल्लेख छ । त्यस्त द्वित्व प्रक्रिया पनि रहेको देखिन्छ । नेपाली साङ्केतिक भाषामा समास र द्वित्व प्रक्रियाकै बाहुल्य देखिन्छ ।

व्याकरणिक कोटि अन्तर्गत नामिक पदमा लिङ्गभेद रहने तर क्रिया भने लिङ्गभेद नगरी प्रयोग हुने देखिन्छ । वचनमा भने करिब नेपाली बोली भाषा सरहकै प्रयोग हुने गर्दछ । म/हामी, हरू लगाएर बहुवचन बनाउने प्रक्रिया, तिमी र तपाईंका आदर नेपाली साङ्केतिक भाषाका व्याकरणिक विशेषता रहेका देखिन्छन् । कालका लागि भने समयबोधक विशेषणले विशेष अर्थ प्रदान गर्दछ । करण र अकरणका लागि पनि विशेष सङ्केत रहेका छन् । वाक्य निर्माणका लागि नेपाली साङ्केतिक भाषाको आफ्नै नियम छ ।

समग्रमा नेपाली साङ्केतिक भाषा प्रयोक्ता र भाषिक निर्माण दुवै आधारमा विकासको क्रममा रहेको छ । त्यसैका लागि स्रोत सामग्रीका रूपमा लेखिएको र नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित पुस्तक नेपाली साङ्केतिक भाषाका प्रयोक्ता र अध्येता दुवैका लागि महìवपूर्ण रहेको छ । १३६+१६+४ पृष्ठको पुस्तकको मूल्य दुई सय रुपियाँ रहेको छ । नेपाली साङ्केतिक भाषा शिक्षण र प्रयोक्ताका रूपमा शिलु शर्माको यो पुस्तक सबैका लागि उपयोगी देखिन्छ ।