अडिने साहसै छैन चाहन्छन् सब पल्टनै
खुला दोकान को राख्छ ? गलेबन्द भए कुनै ।
‘ऋतु विचार’ अन्तर्गत ‘शिशिर विचार’ मा लेखनाथ पौडेलको विचार साहित्य जगत्मा उदाहरणीय श्लोक हो । लक्ष्मीप्रसाद देवकोटाको ‘हातका मैला सुनका थैला ...’ अहिले पनि आमनेपालीमा लोकप्रिय छ र ‘मुनामदन’ नेपाली पुस्तकहरूमध्ये सर्वाधिक विक्री हुनेमा पर्छ । माधव घिमिरेको ‘गौरी’ का श्लोक नेपाली साहित्यप्रेमीको जिब्रोमा झुन्डिएका छन् । यी सबै कालजयी त हुन् तर यी मात्र कालजयी होइनन् । जे जति थिए क्रमशः ओझेलमा पर्दैछन् ।
अहिले कालजयी होइन ‘भाइरल’ र ‘ट्रेन्डिङ’को जमाना हो । ‘भाइरल’ शब्द भए पनि अहिलेको जस्तो ऊ बेला ‘भाइरल’ जसरी चल्तीमा थिएन । अहिले दिनदिनै मात्र होइन छिनछिनमै ‘भाइरल’ फेरिन्छ । केही समयअघि सामाजिक सञ्जालमा ‘भाइरल’ थिए प्रकाश सपुत र फूलमाया अर्थात् सकम्बरी :
कानमा झुम्काना तिम्लाई कल्ले किन्दियो ?
नाकको बुलाकी तिम्लाई कल्ले किन्दियो ?
पाउमा लाको पाउजु, हातमा लाको चुरा
तिम्लाई कल्ले किन्दियो ? फूलमाया ...
भिडियो गीतकी पात्र सकम्बरी अर्थात् फूलमायाको कथा र व्यथालाई लिएर पक्ष र विपक्षमा समाज विभाजित छ । टिकटक, फेसबुक रिललगायत सामाजिक सञ्जालमा अनौठा दृश्यसहित यही गीत र सङ्गीत आउँछ । यहाँ त्यसको पक्ष वा विपक्षमा कुरा गर्न खोजिएको होइन । प्रसङ्ग पनि फूलमायाको होइन बरु गलबन्दीको हो, जसबारे पछि चर्चा गरिएको छ ।
लेखको सुरुमा दिइएको लेखनाथ पौडेलको ‘ऋतु विचार’ को श्लोकको दोकान शब्दको अर्थ दोहोरो छ : एउटा दुई वटा कान र अर्को पसल । पहिलो अर्थमा प्रयुक्त गलेबन्द वा गलबन्दीका लागि हो । लेखनाथको गलबन्दीको प्रयोजन जाडोमा कान छोप्ने हो । त्यसै अनुसार मेरो दिमागमा बसेको गलेबन्द सम्झँदा नै ‘बाख्राले जाडो खाने उमेर’ बित्दासम्म पनि जाडो भाग्ने बानीमा म हुर्केको हुँ । यसमा न्युटनको गतिको तेस्रो नियम लगाएर हेर्ने हो भने गलेबन्द र जाडोमा ‘बराबर तर विपरीत प्रतिक्रिया’ हुन्छ भन्ने लाग्थ्यो । कुनै घटना वा विचारबारे बाल्यकालमा दिमागमा बसेको विम्ब जतिबेला पनि सत्य नै लाग्ने हुँदोरहेछ तर विचारमाथि पनि विचार गर्ने क्षमता बढ्दै गएपछि भने त्यसमा के ? किन ?
कसरी ? जस्ता प्रश्न आउने रहेछन् । प्रसङ्ग २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनको सेरोफेरोको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछाने र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार स्वर्णिम वाग्लेले यस चुनावी अभियानमा सेतो सर्ट र रातो गलबन्दीलाई निकै नै उपयोग गरेको देखियो ।
त्यसअघि २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा पनि रातो गलबन्दी समाचारको विषय बनेको थियो । पुस ७ गते भएको शपथ ग्रहण समारोहमा जनमत पार्टीका अध्यक्ष सीके राउत रातो गलबन्दी लगाएर संसद्मा छिरेको समाचार बनेको थियो । रवि लामिछाने गृहमन्त्री भएपछि पनि रातो गलबन्दीमा निकै सजिएको देखिन्थ्यो । यी प्रसङ्गले मेरो दिमागमा कतै सुसुप्त भइसकेको रातो गलबन्दीलाई प्रकटीकरण गराइ दिए, स्मृतिरमण (नोस्टाल्जिया) मा पनि पुर्याइदिए । अनायास बाल्यकाल सम्झेँ, केही चित्र सल्बलाए । लाग्यो – अहिलेको जस्तो हातमा मोबाइल भएको भए स्पष्ट चित्र नै उतार्थें र यहाँ टाँस्थेँ । त्यस्तो केही सम्भव नहुँदा यी शब्दमा उतार्ने प्रयास गर्दै छु ।
शिशिरमा मात्र होइन छ वटै ऋतु र बाह्रै महिना सिरसिर सिरसिर भइरहने स्थान भोजपुर, बास्तिमको सेरोफेरोमा बाल्यकाल बिताएको हुँ मैले । सायद त्यसै बेलादेखि म माथि सुरुमा उल्लेख गरिएको लेखनाथको ‘शिशिर विचार’को ‘गलेबन्द’ श्लोकसँग परिचित थिएँ । गलेबन्द मेरो भाषाको एउटा शब्द भनेको थियो । मैले गलेबन्द देखेको पनि थिएँ होला त्यस बखत कसैको काँधमा वा कसैको कानमा पनि जाडो छेक्न । मेरा लागि भने ‘दुई मुठी जाडो’ मात्र वास्तविक लाग्थ्यो । अर्थात् जाडो भएको बेला दुई हातलाई मुठी पारेर काखीमुनि राख्नु नै जाडोको मात्राको मापनको आधार हुन्थ्यो । झोलाबिना हातमा एक अँगालो किताब र कापी च्पायेर श्री लक्ष्मीनारायण प्राथमिक विद्यालय, बाघखोर; श्री मानेडाँडा निम्नमाध्यमिक विद्यालय, मानेडाँडा र श्री पञ्चकन्या माध्यमिक विद्यालय, च्याङ्ग्रे जाँदा र आउँदा जस्तो सुकै स्याँठमा पनि काखीमुनिको दुई मुठी न्यानो अनुभव गर्न पाएको थिइनँ । यो मेरो मात्र विवशता थिएन, हाम्रो परिवार, हाम्रा छिमेक, हाम्रो गाउँका सबैको नियति थियो । यो हाम्रो पुस्ताले भोगेको समग्र नेपालको नै ग्रामीण परिवेशको एउटा प्रतीकात्मक परिस्थिति थियो ।
च्याङ्गे्रतिर केही मानिस हुन्थे उनीहरू गलबन्दीले दोकान छोपेर अनि दोकानमा बसेर चिया नास्ता गर्थे । बास्तिमका बाघखोर र मानेडाँडामा त त्यस्ता छोपिने र खुला हुने दोकान दुबै विरलै हुन्थे । त्यतिबेला ती गलबन्दी कुन रङका हुन्थे भन्ने चाहिँ मरिगए पनि अहिले सम्झन्नँ तर के लाग्छ भने बिरालो ‘कालो होस् कि सेतो त्यसले मुसा मार्छ कि मार्दैन ? त्यसैमा उसको असली पहिचान हुन्छ’ भनेझैँ म गलबन्दीको रङमा निरपेक्ष भएको पनि हुन सक्छु । बन्द दोकानका हुन् कि खुला दोकानका हुन् गलेबन्दले जाडोलाई ठाँगाले पनि नछुने बनाइदिएकोमा म विश्वस्त छु । त्यसैले म बिनाहिच्किचाहट भन्छु, “मैले गलबन्दी चिनेँ रङ चिनिनँ ।”
हो, मैले गलबन्दीको रङ नेपालमा चिन्न सकिन विदेशमा मात्र चिन्ने अवसर पाएँ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य भएका बेला सन् २००३ मा दक्षिण–दक्षिण आदान–प्रदान कार्यक्रमअन्तर्गत दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सदस्य राष्ट्र श्रीलङ्का जाने अवसर पाएको थिएँ । त्यसबेला श्रीलङ्काका प्रधानमन्त्री अहिलेका राष्ट्रपति रणिल विक्रमसिंह (रनिल विक्रमसिङ्घे) प्रधानमन्त्री र अहिलेका पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री पर्सी महेन्द्र राजपक्ष (वास्तविक नाम) अर्थात् महिन्दा राजपाक्षे (लोकप्रिय नाम) विपक्षी दलका नेता हुनुहुन्थ्यो ।
राजपक्षले दोकान खुला गरेर नै लगाउने गरेको रातो गलेबन्द रङ चिनाउने मात्र होइन कोलम्बोको प्रचण्ड गर्मी ठाउँमा पनि गलेबन्द भिर्नुपर्ने किन होला भन्ने मेरो जिज्ञासाको विषय बनेको थियो । कसैसँग सोध्ने जमर्को भने त्यसबेला गरिनँ, राजपक्षसँगको भेटमा पनि गरिनँ गर्मी देशको राजनेताको गलामा रातो गलबन्दी किन ? भनेर । अहिले आएर मात्र त्यसको खोजी गर्दै छु त्यो पनि हाम्रो राजनीतिमा पनि गर्मी महिनामा नेताको गलामा पसेको रातो गलबन्दी देखेर ।
सन् २००३ पछि महेन्द्र राजपक्ष प्रधानमन्त्री र राष्ट्रपति हुँदै श्रीलङ्काको २६ वर्ष लामो गृहयुद्ध अन्त्य गर्ने ‘हिरो’ देखि परिवारवादी राजनीति गरेर श्रीलङ्काको अर्थतन्त्र तहसनह पारेको आरोपसहित अहिले ‘जिरो’ मा झरेको अवस्था छ ।
राजपक्ष दक्षिण पूर्वी श्रीलङ्काको प्राचीन राज्य रुहुनाका रुहुनु हुनुहुन्छ । रुहुनु भनेको रुहुनाको सिंहल बहुल समुदाय हो । यस क्षेत्रको अन्न उत्पादनमध्येको एक कोदो हो, जुन रुहुनाका गरिबको मुख्य खाद्यान्न पनि हो ।
खाद्यान्नमा कोदोको इतिहास ज्यादै पुरानो छ । यसको उद्गम पूर्वी अफ्रिकाको हालको इथियोपिया र युगान्डाको उच्च भूमि हो । अफ्रिका र भारतीय पनि पुरातात्विक स्थलमा यसको अवशेष पाइएका आधारमा यसको इतिहास केलाउने गरिएको छ । अफ्रिकाको पुरातात्विक स्थलमा इसाको आठौँ शताब्दीमा कोदोको प्रचलन रहेको अभिलेख पाइएको मानिन्छ ।
यो घाँसे परिवारमा पर्ने एक–वर्षीय बाली हो । कोदोले सुक्खा तथा चिस्यान कम हुने माटोमा पनि राम्रो उत्पादन दिने हुनाले नेपालको पहाडी भेगमा पनि प्रमुख बालीमध्येको एक मानिन्छ । नेपालको पहाडी तथा हिमाली क्षेत्रका बासिन्दाको खाद्यसुरक्षाका लागि धान, गहुँ र मकै पछाडिको मुख्य बाली नै कोदो हो । नेपालका ७७ वटै जिल्लामा कोदो खेती गरिन्छ । हातका औँलाजस्ता बाला हुने भएकाले यसलाई अङ्ग्रेजीमा ‘फिङ्गर मिलेट’ भनिन्छ । नेपालमा दुई लाख ६३ हजार हेक्टर क्षेत्रफलमा कोदोखेती गरिन्छ, जसबाट १.१९ टन÷हेक्टरको औसतमा तीन लाख १४ हजार टनसम्म उत्पादन हुन्छ (ललिता आले मगर, प्रगति बाबु पनेरु र निरन्जन पुडासैनी, रातो कोदो: परिचय तथा खेती–प्रविधि, स्थानीय बाली परियोजना, जानकारी–पत्र शृङ्खला अङ्क १४, वर्ष २०७६; कृषि डायरी, २०७६) ।
कोदोमा प्रोटिन ७.३ प्रतिशत, चिल्लो पदार्थ १.३ प्रतिशत, खनिज २.७ प्रतिशत, फाइबर ३.६ प्रतिशत र कार्बोहाइड्रेट ७२ प्रतिशत पाइन्छ । यसको उपभोग र उपयोग रोटी, ढिँडो, खोले, रक्सी, जाँड, तोङ्बामा र नल पशुआहाराका लागि गरिन्छ । नेपालमा कोदोका विभिन्न प्रजातिको बिउको उन्मोचन गरिएका छन्, जसमा डल्ले – १, काब्रे कोदो – १, काब्रे कोदो – २, ओखले कोदो – १ र सैलुङ कोदो छन् । (जोशी बी.के. र अरू (२०१७), रिलिज्ड एन्ड प्रोमिसिङ व्रmप्स भेराइटिज फर माउन्टेन एग्रिकल्चर इन नेपाल (१९५९–२०१६), पोखरा : बायो डाइभर्सिटी इन्टरनेसनल) । यसरी मानव विकासमा अभिन्न बनेको कोदो खाद्य आनीबानीमा चाहिँ त्यति प्रचलनमा छैन । यो गरिब तथा विपन्न वर्गमा बाध्यात्मक खाद्यान्नका रूपमा रहेको छ ।
श्रीलङ्काको रुहुनुमा पनि गरिब परिवारमा यसको उपभोग बढी हुने गर्दछ । चतुर राजपक्षले शक्तिको रवाफका लागि त्यही कोदोलाई सत्ताको शक्तिको प्रतीक मात्र बनाई रातो गलबन्दी अर्थात् ‘सतक’ लाई आफ्नो पहिचान चिह्न अर्थात् ट्रेडमार्क बनाएको पाइन्छ । श्रीलङ्काका पत्रकार हर्ष पिरिस भन्छन् “महेन्द्रको सतक (गलबन्दी) को रङ वास्तवमा रातो होइन, मरुन हो जुन कोदोको दानाको रङ हो ।”
त्यसलाई आफ्नो मात्र होइन राजपक्ष वंशको नै पहिचान चिह्न बनाउने र राजकीय मामिलामा पनि त्यसको उपयोग गर्ने महेन्द्रको चाहना थियो । सन् २००९ मा गृहयुद्ध समाप्त भएको स्मरण गर्ने हजार रुपियाँको संस्मरणात्मक नोट महेन्द्रको त्यही रातो गलबन्दी लगाएको विजयी मुद्राको आफ्नो फोटो राखेर निष्कासन गरिएको थियो । महेन्द्रको यो वंशीय र राजकीय पहिचान बनाउने चाहनामा उहाँकै भाइबाट ठेस लाग्यो, त्यो प्रयास सफल भएन । सन् २०१९ नोभेम्बर १८ मा राष्ट्रपति पदको शपथ ग्रहण गर्दा उहाँका भाइ गोटाबाया राजपक्षले रातो ‘सतक’ लगाउन अस्वीकार गर्नुभएको थियो । विडम्बना दुबै दाजुभाइ अहिले श्रीलङ्काको राजनीतिबाट अस्वीकृत पात्र बनेका छन् ।
नेपाली राजनीतिमा रातो गलबन्दीको प्रयोग नयाँ राजनीतिक दल जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र उम्मेदवारले मात्र होइन पुराना पुराना नेताले पनि गरेका छन् । रातोलाई क्रान्तिको रङ मानेर हो वा अन्य कारणले रातो गलबन्दी नेताका काँधमा सुहाएको हो भन्ने चाहिँ स्पष्ट छैन ।
समकालीन राजनीतिमा वर्तमान प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेता कुनै कुनै बेला रातो गलबन्दीमा देखिनु हुन्छ । यी सबैको क्रान्तिकारिताको सिद्धान्त र धर्म एउटै छैन ।
महेन्द्र राजपक्षको जस्तो नेपालका नेताहरू कसैको पनि गलबन्दीको कुनै विम्ब वा प्रतीक भए जस्तो लाग्दैन, कसैले घोषणा पनि गरेको छैन । रास्वपाका अध्यक्ष लामिछाने र तनहुँका उम्मेदवार वाग्लेको गलबन्दी मात्र होइन सेतो सर्ट कुनै विम्ब निर्माण गर्ने जस्तो देखिन्छ । नेपाली राजनीतिमा गलबन्दीको विम्ब फेला नपरे पनि समकालीन राजनीतिको अस्वस्थ प्रतिस्पर्धाको विम्ब चाहिँ कहिलेकाहीँ गलबन्दीकै स्वरूपमा प्रकट भएको पनि छ । २०७७ पुसमा रुपन्देहीको बुटवलमा आयोजित नेकपाका अध्यक्ष केपी ओली समर्थित भेलामा रातो गलबन्दीका दुई फुर्कामा नेपालको चुच्चे नक्सा र चुच्चोबाट उठेको नेपालको झन्डा, केपी ओलीको फोटोसहित ‘मेरो प्यारो देश’ र ‘आइ एम विथ केपी ओली’ भन्ने लेखेर वितरण गरिएको थियो तर यो गलबन्दी फेसन वा अभियानका रूपमा चलेन ।
त्यसैको सिको भने रुपन्देही कांग्रेसले पनि ग-यो । २०७७ फागुनको सुरुतिर नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्यो । भैरहवामा भएको प्रदर्शनमा नेपाली कांग्रेसका सभापतिसहितको उपस्थिति थियो । त्यसमा कांग्रेसले पनि चुच्चे नक्सा, झन्डा, नेकांको चुनाव चिह्न र बिपी कोइरालाको फोटोसहित दुई फुर्कामा ‘दिगो विकासका लागि’ र ‘बिपीको समाजवाद’ लेखिएको गलबन्दी नेता र कार्यकर्तालाई दिइएको थियो । तथापि सभापति देउवा, नेता बालकृष्ण खाण, भरत शाहलगायत नेताले नलगाई छेउमै राखे पनि जिल्ला समितिका सचिव रामकृष्ण खाणले भने लगाउनु भएको थियो ।
यति मात्र होइन कहिलेकाहीँ राजनीतिमा गलबन्दी निषेध पनि भएको छ । २०७७ पुस १८ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षको काठमाडौँ जिल्ला कार्यसमितिले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा गलबन्दी लगाएर जान प्रतिबन्ध लगाइयो । नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेका बेला कालो मास्क, टोपी र गलबन्दी लगाएर सभाकक्षभित्र जान जो सुकैलाई रोकिएको थियो । कालो मास्क, टोपी अथवा गलबन्दी लगाएका नेता तथा कार्यकर्तालाई सुरक्षाकर्मीले प्रवेशद्वारमै रोकी ती फुकालेर मात्र भित्र पस्न अनुमति दिइएको थियो ।
फेरि पनि प्रकाश सपुत नै
प्रकाश सपुतको म्युजिक भिडियो ‘सकम्बरी’ आउनुअघिको म्युजिक भिडियो ‘गलबन्दी’ पनि त्यस्तै ‘ट्रेन्डिङ’ भएको थियो । त्यसको गीतको बोल छ ः
हे... भेट भैयो झमक्क साँझमा
राख्छु तिम्लाई यो दिलको माझमा
गलबन्दी ...
गलबन्दी च्यातियो तिम्ले तानेर
बोलाउन खोजेको आफ्नै ठानेर ...
यस गीतले पनि फेरि राजनीतिकै गलबन्दी तानातानलाई अभिनयकलामार्फत व्यक्त गर्यो । २०७६ साउन २० गते चितवनमा अनेरास्ववियुले आयोजना गरेको एक कार्यक्रममा तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बिचको विवाद र आरोप प्रत्यारोलाई कलाकारले यही गीतको बोलमा अभिनयसहित प्रस्तुत गरेका थिए ।
अन्त्यमा, गलबन्दी एउटा पोसाक हो । पोसाकको प्रयोजन मानवलाई संरक्षण गर्ने र चिटिक्क पारेर सुहाउने पनि हुन्छ । त्यस आधारमा श्रीलङ्का र नेपालको राजनीतिमा प्रयोग भएको गलबन्दीले आफ्नै विम्ब निर्माण गर्दै समाजलाई डोर्याउन खोजेको देखिन्छ । खास गरी खाद्य आधार, आर्थिक अवस्थालगायत आधारमा जीवनपद्धतिमा जोडिएर पोसाकको ब्रान्ड निर्धारण गर्न सकिने यसले देखाएको छ । नेपालमा पनि राता गलबन्दीमा नेताहरू सजिएको देखिए पनि त्यसले समाजलाई खासै योगदान वा मार्गदर्शन गर्न सकेको छैन ।
तस्बिर स्रोत : सामाजिक सञ्जाल