• १० मंसिर २०८१, सोमबार

महिला फुटबलमा ‘गोल्डेन जेनरेसन’

blog

विश्वकप महिला फुटबल गत बिहीबार सुरु भएको छ । सो विश्वकपमा उत्कृष्ट ३२ टिमले सहभागिता जनाउँदै छन् । विश्वकप फुटबलको चर्चा गर्दा नेपालको सहभागिता असम्भव लाग्छ तर महिला विश्वकप फुटबलमा भने नेपालको सहभागिता यथार्थपरक लाग्छ ।

नेपाली महिला फुटबल टिमले एक दशकभित्र विश्वकप खेल्ने लक्ष्य पनि बनाएको छ, जुन लक्ष्य पूरा हुने छाँटकाँट पनि देखिन्छ । विश्वकप महिला फुटबलमा अहिले एसियाका दुई राष्ट्र भियतनाम र फिलिपिन्स पनि सहभागी छन् । नेपालले हालै यी दुवै टिमलाई कडा टक्कर दिएकाले पनि आशावादी बन्न सकिएको हो । 

पाँच महिना मात्र भयो नेपालले भियतनामसँग महिला ओलम्पिक फुटबल एसियन छनोट खेलेको । हुन त नेपाल दुवै खेलमा पराजित भयो तर विश्वकपमा छनोट भइसकेको भियतनामलाई नेपालले दुवै खेलमा टक्कर दिएको थियो । २२ महिनाअघि उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कप–२०२२ छनोटमा त नेपाल फिलिपिन्सविरुद्ध जितको सँघारमा थियो तर अन्तिम समयमा दुई गोल बेहोरेपछि फिलिपिन्सविरुद्धको खेल ऐतिहासिक जितबाट नेपाल वञ्चित भयो । अझ सो खेलमा चोटका कारण नेपालकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारी साम्बाको उपस्थिति थिएन । यो भूमिका बाँध्नुको अर्थ सम्बन्धित निकायले विशेष योजना ल्याएमा नेपाली महिला फुटबलले पनि चाँडै विश्वकप खेल्न सक्छ भन्ने नै हो ।

विगतमा नेपालको लक्ष्य दक्षिण एसिया थियो तर अब नेपालको महिला फुटबल टिम दक्षिण एसियाबाट माथि उठ्ने बेला भइसकेको छ । एक वर्ष पनि भएको छैन, नेपालले भारतलाई छैटौँ साफ महिला च्याम्पियनसिपमा हराएर फाइनल प्रवेश गरेको, जुन खेलले दक्षिण एसियाली महिला फुटबलमा भारतको वर्चस्व समाप्त भएको थियो । भारत यसअघिका पाँचवटै संस्करणको च्याम्पियन थियो । नेपाल भने पाँचमध्ये चार पटक फाइनलमा भारतसँग हारेको थियो । हुन त नेपालले साफको छैटौँं संस्करणमा पनि उपाधि जित्न सकेन । फाइनलमा बङ्गलादेशसँग नेपाल स्तब्ध भयो, जुन नेपाली महिला फुटबल टिमले बङ्गलादेशसँग अहिलेसम्म हारेको एक मात्र खेल हो तर यो हप्ता बङ्गलादेशलाई उसकै भूमिमा भएको दुई खेलको अन्तर्राष्ट्रिय मैत्री शृङ्खलामा हराएर नेपालले सो हारको बदला पनि लिइसकेको छ ।

दक्षिण एसियामा अहिले भारत, नेपाल र बङ्गलादेशबिच उत्कृष्टताका लागि त्रिकोणीय प्रतिस्पर्धा छ । छ/सात वर्ष भयो, बङ्गलादेशले ग्रासरुटदेखि महिला फुटबललाई बलियो बनाउने लक्ष्यसहित काम गरेको । पछिल्लो साफ च्याम्पियनसिप जितेर बङ्गलादेशले त्यसको फल पनि पाइसकेको छ । भुटानले पनि महिला फुटबलमा प्रगति गर्दै छ, जुन यस क्षेत्रको महिला फुटबलका लागि सकारात्मक हो । 

नेपालले दक्षिण एसियाका राष्ट्र मात्र होइन, कुबेत, इरान, काजकस्तानलाई पनि सजिलै हराइसकेको छ । नेपाली महिला फुटबल टिम ओलम्पिक छनोटको दोस्रो चरणमा पुगिसकेको छ । अहिले फुटबल विश्लेषकहरू पुरुष फुटबल टिमले भन्दा महिला फुटबल टिमले नेपाललाई धेरै अन्तर्राष्ट्रिय सफलता दिलाउने कुरा गरिरहेका छन् । नेपाली महिला फुटबल टिमका प्रशिक्षक अनन्तराज थापाको भनाइ मान्ने हो भने यो टिम नेपाली महिला फुटबलको ‘गोल्डेन जेनरेसन’ हो । राम्रोसँग एक्सपोजर दिएर मलजल गर्न सकेमा यो पुस्ताले नेपाली महिला फुटबललाई थुप्रै उपलब्धि दिलाउने छ ।

महिला फुटबलको प्रगतिको चर्चा गरिरहेका छौँ तर करिब दुई दशक गतिविधि शून्य रहेको नेपाली महिला फुटबल टिमले अहिले अन्तर्राष्ट्रिय फुटबलमा बनाएको स्थान हेर्दा आश्चर्य लाग्न सक्छ । नेपालले महिला फुटबलमा सहभागिता जनाएको साढे तीन दशक भइसक्यो तर महिला फुटबलको विकास निकै सुस्त ढङ्गले भयो । सन् १९८६ मा नेपालले पहिलो पटक 

अन्तर्राष्ट्रिय फुटबल खेलेको हो । त्यसपछि सन् १९८९ र १९९९ मा दुई पटक नेपालले एसियाली महिला फुटबल प्रतियोगितामा भाग थियो । त्यसपछि १२ वर्ष नेपाली महिला फुटबल शून्य नै भयो । 

नेपालले लामो समयको अन्तरालपछि एकै पटक श्रीलङ्काको कोलम्बोमा भएको दसौँ दक्षिण एसियाली खेलकुदमा सहभागिता जनायो । यसबिच नेपाली महिला फुटबल टिमले उमेर समूहका केही अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको थियो । जस्तै सन् २००२ मा नर्वेमा नेपाली महिला फुटबल टिमले खेले । सन् २००४ मा एसियाली यु–१९ महिला फुटबल च्याम्पियनसिपमा पनि नेपालले प्रतिस्पर्धा ग¥यो । यसै गरी २०५६ र २०६० सालमा नेपाली महिला फुटबल टिमले विदेशी टिमलाई आमन्त्रण गरेर घरमै फुटबल खेल्यो तर वर्षौंको अन्तरालमा खेल्ने भएकाले पनि होला महिला फुटबलको प्रदर्शन पनि कमजोर हुन्थ्यो ।

सन् २००६ मा श्रीङ्कामा भएको दक्षिण एसियाली खेलकुदपछि भने नेपाली महिला फुटबल टिम एक्कासि चर्चामा आएको हो । सो सागमा नेपाली महिला फुटबल टिम उपविजेता बनेको थियो । यसअघि नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा एक मात्र गोल भएको थियो, जुन गोल सन् १९९९ मा पेमा लामाले गर्नुभएको थियो तर दसौँ सागपछि त नेपाली महिला फुटबल टिमको कायापलट नै भयो । यसअघि एक मात्र गोल गर्ने नेपालले सो प्रतियोगितामा पाँच खेलमा १७ गोल गरेको थियो । त्यसपछि नेपाली महिला फुटबलले फर्केर हेरेको छैन भन्दा हुन्छ । 

नेपाली महिला फुटबलको प्रगति हुनुमा नेपाल आर्मी, नेपाल पुलिस र एपिएफ जस्ता विभागीय टिमलाई श्रेय दिनु पर्छ । आर्मी, पुलिस र एपिएफले महिला फुटबलरलाई १२ महिना नै अभ्यासमा राखेर उनीहरूको स्तर उकासेका छन् । अहिले नेपालका यी तीन फुटबल टिमबिच निकै प्रतिस्पर्धा हुन्छ । पछिल्लो महिला फुटबल लिगमा एपिएफ च्याम्पियन बन्यो । आर्मी क्लब दोस्रो र पुसिल क्लब तेस्रो भए । यसपालि नगरपालिकाका टिम पनि स्तरीय देखिए । नगरपालिकाका टिमबाट विदेशी खेलाडी पनि खेलाइएको थियो । नेपाली महिला फुटबलमा विदेशी खेलाडीले खेलेको पहिलो पटक हो । 

अहिले नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाले पनि महिला फुटबललाई विशेष प्राथमिकतामा राखेको छ । एन्फा अध्यक्ष पङ्कज नेम्वाङले चाँडै नै महिला फुटबलका लागि मिसन विश्वकप २०२७–३१ प्रोजेक्ट सञ्चालन हुने बताउनुभएको छ । अध्यक्ष नेम्वाङले भने जस्तै महिला फुटबल विशेष प्राथमिकतामा परेमा नेपाली महिला फुटबलको विश्वकप खेल्ने लक्ष्य पूरा हुँदैन भन्ने छैन । नेपालको महिला फुटबललाई अझ राम्रो बनाउन घरेलु संरचना अझ बलियो हुनु पर्छ । एन्फाले पछिल्लो पटक राष्ट्रिय लिग नै बिचमै टुङ्ग्याएको दृष्टान्त पनि हामीकहाँ नभएको होइन । महिला फुटबल टिमलाई दक्षिण एसियाबाहिरका बलिया टिमसँग लगातार खेलाउने वातावरण तयार पार्नु पर्छ । यसबाहेक खेलाडीलाई पनि विदेशी लिगमा खेलाउन पहल गर्नु पर्छ । नेपाली महिला फुटबलर दक्षिण एसियाका महिला लिगमा मज्जाले बिक्छन् । यस पटकको भारतीय महिला लिगमा नेपालका छ जना खेलाडी सावित्रा, रेखा पौडेल, सरू लिम्बू, रेणुका नगरकोटी, अनिता केसी, एन्जिला सुब्बाले खेल्नुभएको थियो । 

सावित्राले त दस खेलमा २९ गोल गरेर तहल्का नै मच्चाउनुभयो । फलस्वरूप उहाँ युरोपेली क्लबको आँखामा पनि पर्नुभयो । हालै मात्र नेपालकी स्ट्राइकर सावित्रा इजरायलको क्लब होपाइल रानानामा अनुबन्धित हुनुभएको छ । उहाँले अब युरोपेली फुटबलको स्वाद चाख्नुहुने छ । यस्तै अवसर अन्य महिला खेलाडीले पाएमा नेपाली महिला टिमको कायापलट हुनेमा दुईमत नहोला । हुन पनि नेपाली फुटबलरको हकमा पुरुषभन्दा महिला खेलाडी नै धरै विदेशी लिगमा बिक्न सक्ने सम्भावना छ तर यसका लागि यी खेलाडीले लगातार खेल्न पाउनु प-यो । अनि मात्र यी खेलाडी विदेशी क्लबको आँखामा पर्छन् ।

लगानी, अनुकूल वातावरण र घरेलु महिला फुटबल संरचना बलियो बनाउने, पर्याप्त एक्सपोजर दिने हो भने नेपाली महिला फुटबलले साँच्चिकै नेपालको यात्रा विश्वकपसम्म गराउने अपेक्षा गर्न सकिन्छ ।