• ३० कात्तिक २०८२, आइतबार

आशावादी विराटनगर किंग्स, उपाधि लक्ष्यसहित लगानी बढाउँदै

blog

शशिधर पराजुली 

विराटनगर, कात्तिक ३० गते । पहिलो संस्करणको निराशाजनक प्रदर्शनलाई पन्छाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।

नयाँ रूप, रणनीति र विश्वस्तरीय खेलाडीहरूको साथमा टिमले यसपटक बलियो दाबेदारी प्रस्तुत गर्ने जनाएको छ । टिमको यो महत्त्वाकांक्षा पछाडि लगानीकर्ताहरूको क्रिकेटप्रतिको लगाव र दीर्घकालीन योजनाले काम गरेको देखिएको छ । 

विराटनगर किंग्सका सह–संस्थापक सुयषराज प्याकुरेल क्रिकेटको विश्वव्यापी आकर्षणकै कारण आफूहरूले यो क्षेत्रमा लगानी गरेको बताउनुहुन्छ । गत वर्ष करिब १० करोड लगानी गर्दा ४ करोड घाटा बेहोरेको भए तापनि टिमप्रतिको विश्वास र भरोसामा कुनै कमी नआएको उहाँले बताउनुभयो ।

“हामीले कम्तिमा तीन वर्षसम्म मुनाफाभन्दा पनि लगानीमै जोड दिएका छौँ,” प्याकुरेलले भन्नुभयो, “यस वर्ष स्पोन्सरहरू पनि पाइएको र वातावरण पनि सकारात्मक बन्दै गएकाले नोक्सानी कम हुने अनुमान छ ।”

घाटाबाट विचलित नभई लगानीकर्ताहरूले थप लगानी बढाएर कोशी प्रदेशमा क्रिकेट विस्तार गर्न ‘बी’ टिम बनाउने तयारी थालेका पनि प्याकुरेलले बताउनुभयो । यो योजनाले नयाँ खेलाडी उत्पादन गर्न र स्थानीय स्तरमा खेल संस्कारको विकास गर्न मद्दत पुग्ने उहाँको विश्वास छ ।

यसपटक विराटनगरको टोली विश्व क्रिकेटका चर्चित खेलाडीसहित मैदानमा उत्रिदैछ । दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसिस, न्यूजिल्याण्डका विष्फोटक ब्याटर मार्टिन गप्टिल र नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछाने जस्ता खेलाडीले टिम बलियो रुपमा प्रतिस्पर्धामा उत्रने लगानीकर्ताहरुको विश्वास छ । 

अनुभवी प्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको यो बलियो टोली र लगानीकर्ताहरूको स्पष्ट दृष्टिकोणले विराटनगर किंग्सलाई उपाधिको प्रमुख दाबेदारको रूपमा उभ्याएको छ ।