नवीनराज कुइँकेल
लमजुङ, वैशाख २८ गते । लमजुङको बेँसीसहर नगरपालिका–६, उपल्लो मकैडाँडामा महिलाको भिरबाट लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय ६४ वर्षीया सुकमाया रिमालको मैयुम भिरस्थित भोटेचौर सामुदायिक वनमा दाउरा खोज्न जाँदा भिरबाट खसेर मृत्यु भएको हो ।
आइतबार साँझ दाउरा सङ्कलन गर्ने क्रममा गोरेटो बाटोबाट करिब ३ सय मिटर तल खस्नुभएकी रिमाल भिरमा अड्किएको अवस्थामा रहेको खबर साँझ करिब ७ः४५ बजे प्रहरीलाई प्राप्त भएको थियो ।
खबरलगत्तै जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी निरीक्षक नेत्रबहादुर थापाको नेतृत्वमा १३ जना र सशस्त्र प्रहरी बल नेपाल गुल्म लमजुङबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी को कमान्डमा १५ जनाको टोली उद्धारमा खटिएको थियो ।
उद्धार टोलीले राति ९ः०५ बजे अचेत अवस्थाकी रिमाललाई भिरबाट निकालेर उपचारका लागि प्रदेश अस्पताल लमजुङ पुर्याएको थियो । चिकित्सकले जाँच गर्ने क्रममा राति करिव १० बजे रिमाललाई मृत घोषणा गरेको प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिनुभयो । प्रहरीका अनुसार शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।