सुजन बज्राचार्य
सङ्खुवासभा, मङ्सिर १ गते । सदरमुकाम खाँदबारीमा एक व्यक्तिले खुकुरी देखाएर प्रहरीमाथि हातपात गर्दै हतियार खोस्न खोजेपछि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
खाँदबारी नगरपालिका–१ स्थित बसपार्क क्षेत्रमा आइतबार दिउँसो खाँदबारी–६ निवासी ३१ वर्षीय रुद्रबहादुर विश्वकर्माले साधा पोसाकमा खटिएका प्रहरीमाथि खुकुरी देखाउँदै आक्रमण गर्न खोजेपछि बाध्य भई तिघ्रामा गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमारप्रसाद मैनालीका अनुसार विश्वकर्मा जबरजस्ती करणी मुद्दामा ६ वर्षको कैद सजाय काटेर हालै मात्र कारागारमुक्त भएका थिए । मुक्त भएपछि पनि विश्वकर्माविरुद्ध ६–७ वटा चोरीसम्बन्धी उजुरी परेपछि प्रहरीले पक्राउ प्रक्रिया अघि बढाएको थियो । सो क्रममा विश्वकर्माले प्रहरीलाई हातपात गर्दै प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि परिस्थिति नियन्त्रणबाहिर जाँदै गएकाले सुरक्षाकर्मीले आत्मरक्षार्थ गोली प्रहार गर्नुपरेको डिएसपी मैनालीले जानकारी दिनुभयो ।
गोली लागेर घाइते भएका विश्वकर्माको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।