• ८ वैशाख २०८१, शनिबार

जेठो दलको जेठै अभ्यास

blog

झन्डै एक वर्षपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसेको छ। गत मङ्सिरमा सम्पन्न संसदीय निर्वाचनपछिको परिवेशबारे छलफल गर्न समेत बैठक राखिएको थिएन। त्यसयता लामो समय विभिन्न कारणले कार्यसमिति बैठक बसेको थिएन। गएको मङ्गलबारबाट सुरु भएको कार्यसमिति बैठकले नेपाली राजनीतिक क्षितिजमा नयाँ अभ्यासको थालनी गरेको छ। अहिले कांग्रेसको बैठक फेसबुकमार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ। नेताहरू आफ्ना धारणा व्यक्त गर्दै हुनुहुन्छ। सबैले आफ्ना विचार र धारणा आमनागरिकको पहुँचमा रहेको हेक्का राख्नु भएको छ। सधैँ बन्द कोठामा निर्णय हुने परिपाटीलाई यसपाला कांग्रेसले अन्त्य गर्न खोजेको छ। सबै विषय र मुद्दामा गहन छलफल गरेर मात्रै निर्णय गर्ने परम्पराको थालनी गरेको छ। यसले अन्य राजनीतिक दललाई समेत जिम्मेबार बन्न प्रेरित गरेको छ। 

जेठो राजनीतिक दल प्रविधिमैत्री भयो भने त्यसले जनताप्रति विश्वासको वातावरण निर्माण गर्छ। जनताप्रति उत्तरदायी र जवाफदेही बन्न दबाब सिर्जना गर्छ। सार्वजनिक समारोह र पार्टीको आधिकारिक बैठकमा प्रस्तुत हुने शैली फरक हुन्छ। पार्टीको बैठक बस्यो, विभिन्न विषयमा बहस भयो भन्ने कुरा प्रवक्तामार्फत सार्वजनिक गर्दा भित्र के भयो भन्ने जिज्ञासा सबैमा हुन्थ्यो। प्रविधिमैत्री नयाँ अभ्यासले जनतामा सकारात्मक धारणाको विकास गराएको छ। अझ पार्टीका आन्तरिक विषयभन्दा पनि जनसरोकारका विषयले प्राथमिकता पायो भने त्यसले पार्टीलाई थप ऊर्जा प्राप्त हुने छ। 

गत मङ्गलबारदेखि केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नेताहरूको अभिव्यक्ति पनि पाका र जिम्मेबार देखिएका छन्। साथै, आफ्नो क्षमता र हैसियतसमेत बैठकबाट उजागर भएको फिडब्याक नेताहरूलाई प्राप्त भइरहेको छ। सम्भवतः नेपाली राजनीतिक इतिहासमा कांग्रेसले नै यस्तो पारदर्शिताको थालनी गरेको हो। यस्तो निर्णय गर्ने काम स्वयं पार्टी सभापति शेरबहादुर देउवाले गर्नु भएको हो। कांग्रेस जस्तो पुरातनवादी पार्टीले समेत आफूलाई यो ढङ्गले प्रस्तुत गर्ला भनेर नयाँ पुस्ताका कतिपय युवालाई पत्यार नलाग्ला। राजनीतिक प्रणालीलगायत सबै परिवर्तनको अगुवाइ र नेतृत्व कांग्रेसले नै गरेको इतिहास छ। राजनीतिक परिवर्तनका लागि तीन पटक भएका आन्दोलनको नेतृत्व कांग्रेसले गरेको छ। त्यही आन्दोलनको बलमा स्थापित लोकतन्त्रको रक्षा गर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ। 

राजनीतिक प्रणालीको स्थायित्व र भरोसा जगाउने काम कांग्रेसले नै गरेको छ। कांग्रेसले फेरि पनि जनतामा आशा र भरोसा जगाउने अभियानको नेतृत्व सम्हाल्नु पर्ने दायित्व छ। मुलुककै जेठो राजनीतिक दल कांग्रेसले अहिले प्रविधिको प्रयोग गरेर पारदर्शिता र जिम्मेवारीबोधको नयाँ शृङ्खलाको थालनी गरिदिएको छ। पहिलो पटक प्रविधिमार्फत आफ्नो क्रियाकलाप सार्वजनिक गर्ने आँट अरू दलले अहिलेसम्म गर्न सकेका छैनन्। परम्परागत शैली र प्रवृत्ति अपनाउने गरेको आरोप खेप्दै आएको कांग्रेसले प्रविधिमैत्री बन्ने पहिचान मात्र बनाएको छैन अपितु राजनीतिक पारदर्शिताको नयाँ शृङ्खलालाई समेत आमन्त्रण गरेको छ। बैठकमा कसले के 

बोल्यो जस्ताको तस्तै तत्क्षण सर्वसाधारणले हेर्न/सुन्न पाएका छन्। यो नेपालको राजनीतिक इतिहासमा सर्वाधिक नौलो र क्रान्तिकारी कदम रह्यो। 

मूलधारका राजनीतिक दल स्वार्थकेन्द्रित भएको आरोप खेपिइरहेका बेला कांग्रेसले लोकतान्त्रिक चरित्रको नौलो अभ्यासको शुभारम्भ गरेको छ। कांग्रेसले थालेको यो अभियानले राजनीतिलाई स्वच्छ र पारदर्शी बनाउन पक्कै पनि योगदान दिने अपेक्षा गर्न सकिन्छ। साथै, यसले पुराना दलका लागि मात्र नभई भर्खरै स्थापना भएका उदीयमान दल र नेतृत्वलाई समेत घच्घच्याउने छ। खास गरी नयाँ राजनीतिक शक्तिका रूपमा देखापरेका दललाई कांग्रेसले थालेको अभ्यास पछ्याउन उत्साहित गर्ने छ। अहिलेसम्म सबै राजनीतिक दलका काम गर्ने शैली र तौरतरिका परम्परागत र कर्मकाण्डी नै छन्। कांग्रेसले थालेको यस्तो अभ्यासले दलको उच्च तहमा हुने छलफल र बहस नागरिक तहमा खुला गरिएको यो नौलो परिघटना पनि हो। यसले राजनीतिक दलको आन्तरिक लोकतन्त्रको अवस्था र स्थिति मापन गर्नसमेत सघाउ पुग्ने छ। पछिल्ला दिन मूलधारका र पुराना दल जनताबाट टाढिने गरेको वा जनताप्रति अनुत्तरदायी हुन थालेको आरोप लाग्ने गरेको छ। यस्तो आरोप चिर्नसमेत कांग्रेसको पछिल्लो निर्णय गतिलो जवाफ हुन सक्छ। 

लोकतन्त्रमा पारदर्शिताको ठुलो महत्व हुन्छ। पारदर्शिताको सबैभन्दा बलियो र प्रभावकारी अभ्यासका रूपमा कांग्रेसले थालेको पछिल्लो अभ्यासलाई दिन सकिन्छ। प्रविधिले पारदर्शितालाई कसरी बलियो र प्रभावकारी बनाउन सक्छ भन्ने गतिलो उदाहरण पनि हो कांग्रेसले थालेको पछिल्लो अभ्यास। कांग्रेसले आरम्भ गरेको यो अभ्यासको अनुशरण गर्न अन्य दललाई नैतिक दबाब पर्ने छ। कांग्रेसमा जति आन्तरिक प्रजातन्त्रको अभ्यास अन्य दलमा देखिँदैन। नेकपा एमाले वा अन्य नयाँ दलको मूल नेतृत्वलाई प्रश्न गर्ने हैसियत र हिम्मत सायदै कसैको होला। कांग्रेसमा त्यो अभ्यास स्थापना कालदेखि नै रहेको पाइन्छ। मातृकाप्रसाद कोइरालाको आलोचना बिपीले गरेको घटना होस् वा बिपीसँग असहमति राख्ने सुवर्णशमशेर, गणेशमान वा किसुनजीका धेरै प्रसङ्ग यहाँ जोड्न सकिन्छ। त्यो सुविधा र हैसियत अन्य दलमा भेट्न मुस्किलै होला। 

गएको उपनिर्वाचनमा पुराना दलभन्दा नवीन दलप्रतिको आकर्षण बढेको टिप्पणी कतिपयले गरेका छन्। साँच्चै नै पुराना दलको औचित्य र आवश्यकता सकिए जसो गरी चर्चा हुने गरेका छन् तर यथार्थ अलि फरक छ। देशमा लोकतन्त्रको जग बसाल्ने जिम्मेवारी तिनै पुराना दलले गरेका हुन्। विगतमा पटक पटक हण्डर र जेलनेल खाएका नेताकै त्याग र बलिदानले लोकतन्त्रको जग बसेको हो। त्यसैले इतिहासको त्यो कालखण्डको अवमूल्यन कहिल्यै हुन सक्दैन। अहिले दल र नेतृत्वप्रति आक्रोश र अपेक्षा होला। त्यसको सम्बोधन गर्ने काम पनि दलको नेतृत्वको हो। समाधान पनि उनीहरूले नै दिने हो। आमजनताले चाहेको पनि त्यही हो। जनतामा रहेको त्यो विश्वासलाई बल दिने काम पुराना दलले यस्तै नौलो शैली र अभ्यासबाट गर्नु पर्छ। समयको माग अनुसार चल्न सकेन भने मात्रै समस्याको भारी बोक्नु पर्छ। कांग्रेस नेतृत्वले यो अवस्था र परिवेशलाई राम्ररी नै आत्मसात् गरेको देखिन्छ। बरु नयाँ दलको नेतृत्वले भने अहिलेसम्म यसको आवश्यकता र औचित्यबारे खासै रुचि राखेको देखिँदैन। उही पुरानो दलले नै त्यसको समेत अगुवाइ गरेको छ। दलहरूले आन्तरिक रूपमा गर्ने अभ्यासले नै लोकतन्त्रको अवस्थाबारे आकलन गर्न सकिन्छ। नयाँ पुराना सबै दलको विगत सूक्ष्म अध्ययन अन्वेषण गर्ने हो भने धेरै विषय छर्लङ्ग हुन सक्छ। 

नेकपा एमालेको पछिल्लो महाधिवेशनकै कुरा गरौँ। त्यहाँ अध्यक्ष केपी ओलीले कोटको खल्तीबाट झिकेर प्रस्तुत गर्नुभएको नाम नै सर्वसम्मत भए। ओलीविरुद्ध लड्नु भएका भीम रावलको अवस्था एमाले भित्र कस्तो छ सबैलाई ज्ञात नै छ। एमाले पार्टीमा छलफल त बिरलै होला, बरु निर्णय सुनाउने काम हुन्छ। जनवादी केन्द्रीयताकै सेरोफेरोमा आन्तरिक लोकतन्त्रको अभ्यास हुने गरेको छ। कांग्रेसमा भने अवस्था फरक छ। गएको महाधिवेशमा भएको प्रतिस्पर्धा लोकतन्त्रको उच्चतम अभ्यासका साथ भएको देखियो। यद्यपि महाधिवेशनपछि भने लामो समय कार्यसमितिको बैठक नै बसेन वा बसाइएन। बैठक बस्नका लागि चौतर्फी दबाब सिर्जना भए। बैठक बस्दा नयाँ सोच र शैली अपनाउने काम गरिएको छ। प्रत्यक्ष प्रसारण गरिने भएकाले नेता जिम्मेवार देखिएका छन्। जनताले कांग्रेस नेतृत्वको शैली र प्रवृत्तिबारे राम्रो जानकारी पाउने भएका छन्। हजुरबा र नाति पुस्ताबिचको छलफल गर्ने तौरतरिकासमेत सबैको पहुँच वा जानकारीमा पुग्ने भएको छ। कुन नेताले कुन विषय वा मुद्दा कुन ढङ्गले उठाउनु भयो त्यसबारे सर्वसाधारणले मूल्याङ्कन गर्न सक्ने भएका छन्। यसले राजनीतिक दलप्रतिको आकर्षण बढाउन वा जिम्मेबार तुत्याउन यो अभ्यास साँच्चै नै उपयुक्त छ। जनताप्रतिको उत्तरदायित्व बहन गर्न र लोकतन्त्रलाई थप सुदृढ तुल्याउनसमेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ। कांग्रेसभित्रको वास्तविक अवस्था र परिदृश्यबारे सर्वसाधारणलाई छ्याङ्ग बनाएको छ। 

यस्तो खालको अभ्यास अरू दलले पनि गरे भने जनताप्रतिको जिम्मेबारी र उत्तरदायित्व पूरा भएको मान्नुपर्ने हुन्छ। साथै जनताले कुन नेताको हैसियत र सोच कस्तो रहेछ भन्ने राम्रो जानकारी पाउने छन्। बाहिर चर्का कुरा भित्र भने भिजेको मुसो हुने आरोप खेपेका नेताका लागि यो अवसर पनि हो। आफूलाई जनतामाझ अब्बल साबित गर्ने गतिलो फोरमका रूपमा समेत यसलाई लिन सकिन्छ। प्रविधि, प्रक्रिया र सोचमा समेत यसले ठुलो रूपान्तरणको सन्देश प्रवाहित गरेको छ। यसको सिको अरूले कुन रूपमा वा शैलीमा गर्ने छन् त्यो भने प्रतीक्षाकै विषय बनेको छ।