• १४ जेठ २०८१, सोमबार

भोकको रामायण – ५

blog

कडा भएकै कारण हो –पत्थर मूर्ति बनेको ।

पत्थरभन्दा कडा हुन्छ कलाकारको कल्पना र कला 

जसले बनाएको हुन्छ –

चट्टान फोडेर मूर्तिको सुरक्षार्थ मन्दिर ।

मूर्ति र मन्दिर दुवै असुरक्षित हुन्छ भोका देखी  । 


कडा नभएको भए फलाम बन्ने थिएन – खुकुरी ।

खुकुरीभन्दा कडा हुन्छ योद्धाको राष्ट्रप्रेम 

जसले छिनाल्छन् –आइलाग्ने शत्रुको गर्दन ।


कडा नभएको भए पहरा 

बन्ने थिएन गुराँस अड्ने छाती ।

सबैलाई थाहा छ पहराभन्दा कडा हुन्छ 

पहराको छातीमा उम्रने रुखको जरा ।


सबै कडाहरू यद्यपि 

उभिन सक्दैनन् आफ्नै बलमा ।

जस्तो कि बालुवा

जसलाई उभिन पनि कङ्व्रिmटको सहारा चाहिन्छ 

जस्तो कि ढुङ्गा, वाद वा कागजका भगवान्हरू

जसलाई पुजिन भक्तहरूको भक्ति चाहिन्छ 


कडा हुन्छ भोकको आगो 

जसले जलाउँछ जडताका शासनहरू

कडा हुन्छ तिर्खाको पानी

जसले बगाउँछ यथास्थितिका सोचहरू


कपासको बुलेटले गर्न सक्दैन– शोषणको अन्त्य

किनिएको ब्यालेटले गर्न सक्दैन – विभेदको समूल वध

अघाएको मान्छेले गर्न सक्दैन – भोकको समाधान ।


कडा हुन्छ – भोका मानिसका नारा

कडा हुन्छ – समताको पक्षको आवाज

कडा हुन्छ – दमनविरुद्ध प्रतिरोध ।


कडा हुन्छ, – इस्पातको धारभन्दा धारिलो हुन्छ

असन्तुष्ट र भोकाहरूले लेख्ने 

– भोकको रामायण ।