• ९ मंसिर २०८१, आइतबार

भोजपुरी भाषाका शेक्सपियर

blog

तुलसी दास र कवीर दासपछि भाषासाहित्यको क्षेत्रमा लोकप्रिय व्यक्तित्व हुन् – भिखारी ठाकुर । ठाकुरले समाजका शोषित, पीडित र सदियौँदेखिको दमित आवाजलाई आफ्नो सिर्जनाको मुख्य विषयवस्तु बनाउनुभयो । मातृभाषा भोजपुरीमा तत्कालीन नारी समाजको चित्रण गर्दै उहाँले आफ्नो पहिलो नाटक ‘विदेशिया’को रचना गर्नुभयो, जुन नेपाल र भारतलगायत विभिन्न मुलुकमा चर्चाको शिखरमा रह्यो ।

विदेशिया नाटकलाई भोजपुरी जनपदको सुख–दुःख, हर्ष–विषाद, राग–द्वेषको जीवन्त दस्ताबेजका रूपमा लिइन्छ । नेपाल र भारतको भोजपुरी समाजको प्रामाणिक दस्ताबेज मानिन्छ यस नाटकलाई । वियोगान्त नाटक विदेशियामा चित्रित तत्कालीन सामाजिक परिवेश आज पनि उस्तै छ । लोकनाटककार, जनकवि, अभिनेता, निर्देशकसमेत रहनुभएका ठाकुरको जन्म विक्रम संवत् १९४४ पुस (१८ डिसेम्बर १८८७) मा भारतको विहार राज्यस्थित कुतुबपुर भन्ने गाउँमा भएको थियो ।

दुईतिरबाट गङ्गा नदीले घेरिएको कुतुबपुर गाउँ आज पनि आफ्नो दीनहीन अवस्थाप्रति आँसु बगाइरहेको छ, जहाँ ठाकुरको पुरानो घर प्रतिमूर्तिका रूपमा खडा छ । उहाँकै कारण यो गाउँ विश्वकै भोजपुरी समाजमा चिनिएको छ । यस गाउँमा भन्ने गरिन्छ, गङ्गा नदीको पानीमा जुन प्रवाह छ, त्यही प्रवाह ठाकुरको रचनामा पाइन्छ । 

कुतुबपुर गाउँ ठाकुरप्रति गर्व गर्छ तर कुतुबपुरवासीको हृदयका राजा ठाकुरको एउटा प्रतिमा पनि यस गाउँमा अहिलेसम्म निर्माण हुन सकेको छैन । छपरा सहरदेखि १० किलोमिटर उत्तर पूर्वमा गएपछि चिरान भन्ने ठाउँ आउँछ, जहाँ ‘भिखारी ठाकुर पथ’ को बोर्ड लगाइएको छ । त्यसै गरी छपरा सहरको पूर्वी कुनामा ठाकुरको आधा कदको प्रतिमा स्थापित गरिएको छ ।  माता शिवकली देवी र पिता दलसिँगार ठाकुरको ज्येष्ठ सन्तानका रूपमा ठाकुरको जन्म भएको थियो । उहाँको शिक्षा सामान्य थियो । किशोरावस्थामा नै मुतुरनासँग प्रणयसूत्रमा बाँधिनुभएका ठाकुर नृत्य मण्डलीहरूमा सानातिना अभिनय गर्नु हुन्थ्यो, जुन उहाँको घरपरिवारलाई मन पर्दैनथ्यो । यसरी अभिनय गर्दै जाँदा उहाँभित्रको कलाकारिता पनि प्रस्फुटन भयो । अनि केही वर्ष उहाँले नृत्य मण्डली नै सञ्चालन गर्नुभयो । नृत्य मण्डलीमा काम गर्दा उहाँको प्रख्याति झन् बढ्दै गयो । 

भिखारीको व्यक्तित्व बहुआयामिक थियो । उहाँ नृत्य, गायन, रचनामा जति पोख्त हुनु हुन्थ्यो, त्यतिकै एक सफल नाटककार, सूत्रधार, निर्देशक र सङ्गीतकार पनि हुनु हुन्थ्यो । उहाँ त्यस समयमा एक रातको पारिश्रमिक पाँच÷छ सय रुपियाँ लिने गर्नु हुन्थ्यो । उहाँको समयमा सुन तोलाको १५० रुपियाँ मात्र थियो । तैपनि उहाँको जीवन सधैँ अभावमा नै बित्यो । 

उहाँ आफ्नो आँखाअगाडि कहिल्यै कसैलाई भोको, नाङ्गो देख्न सक्नु हुन्नथ्यो । कसैलाई उधारो दिँदा उहाँले कहिल्यै फिर्ता लिनुभएन । उहाँ जीव हिंसाका प्रबल विरोधी हुनु हुन्थ्यो । उहाँले एक पटक एउटा घरमा धेरै कछुवालाई डोरीले बाँधेर राखेको अवस्थामा देख्नुभयो । एक जना व्यवसायीले ती कछुवालाई बेच्नका लागि तयार पारेर राखेका थिए । भिखारीले ती कछुवालाई किनेर नदीमा लगेर छोडिदिनुभयो । 

‘विदेशिया’ नाटक त सफल भयो नै । उहाँले बनाएका चलचित्रले पनि सफलताको शिखर चुमेको थियो । यसैले उहाँलाई राय बहादुरको ताज, विहार सरकारको ताम्रपत्र, जिल्लाधिकारी भोजपुरबाट सम्मान गरिएको थियो । अनपेक्षित यस्ता लोकप्रियता प्राप्त गरे पनि उहाँमा घमण्डको ‘घ’ पनि प्रवेश गरेको थिएन । 

ठाकुर तडकभडक जीवनशैलीबाट टाढा बस्न चाहनु हुन्थ्यो । उहाँ धोती, कुर्ता र चप्पल लगाउनु हुन्थ्यो । ठाकुरको हरेक रचनामा सामाजिक आडम्बर र अन्धविश्वासविरुद्ध बुलन्द आवाज पाउनुका साथै आध्यात्मिक चिन्तनको प्रस्फुटन पाइन्छ । उहाँको भनाइ थियो, “त्यही गीत सार्थक हो, जसमा ईश्वरको नाम हुन्छ, नाटक त्यही राम्रो हुन्छ, जसमा धर्मको चर्चा हुन्छ ।” उहाँ भन्ने गर्नु हुन्थ्यो, “जनस्तर वा राज्यबाट पाइने जुनसुकै सम्मान, मानपदवी कलाकारले पाउने होइन, उसको कलाले पाउने हो । कलाकारको कला सम्मानित भएपछि कलाकारमा अहम् आउनुको सट्टा नम्रता आउनु पर्छ । कलाले पाएको मानसम्मानको प्रतिष्ठा जोगाउने जिम्मेवारी पनि स्वयम् कलाकारकै हुन्छ ।” ३० वर्षकै उमेरमा ‘विदेशिया’ लोकनाटकको रचना गरी नेपाल र भारतभरि उहाँले जुन लोकप्रियता हासिल गर्नुभयो, त्यो लोकप्रियता आजसम्म कसैले प्राप्त गर्न सकेनन् ।

सन् १९३८ देखि १९६२ सम्म ठाकुरद्वारा रचित तीन दर्जन कृति प्रकाशित भएका छन् । तीमध्ये अधिकांश कृतिको प्रकाशन दूधनाथ प्रेस सलकिया (हावडा) र कचौडी गल्ली बनारसबाट भएका छन् । उहाँका कृतिमध्ये विदेशिया, कलियुग प्रेम, गङ्गा स्नान, बेटी वियोग, भाइ विरोध, पुत्रबधु, विधवा विलाप, राधेश्याम बहार, ननद भौजाई, गबरघिचोर, पिअउ निसइल, यशोदा–सखी संवाद, बुढशाला, कृष्ण लीला आदि नाट्य कृति हुन् ।

ठाकुरले भोजपुरी भाषा र साहित्यलाई जुन उचाइ प्रदान गर्नुभयो, त्यो उचाइ आजसम्म कसैले प्रदान गर्न सकेका छैनन् । भोजपुरी भाषा र साहित्यको जननी नेपाल र भारतमा ठाकुरले नै भोजपुरीलाई मलजल प्रदान गरी झाँगिने मौका प्रदान गरे । त्यसैले आज भोजपुरीको उच्चारण हुनेबित्तिकै भिखारीको उच्चारण स्वतः हुने गर्दछ ।

ठाकुर जन्मजात मेधावी थिए । पाँच वर्षकै हुँदा उहाँले पद्य कविता गुनगुनाउँथे । कपाल काट्ने पेसा अँगालेको परिवारमा जन्मेका ठाकुरका आमाबुवा उहाँलाई आफ्नो पुख्र्यौली पेसामा लगाउन चाहन्थे तर ठाकुरलाई यस पेसामा अलिकति पनि रुचि थिएन । उहाँ गीत, सङ्गीत, साहित्य रचना र नाट्य पेसामा संलग्न हुन चाहन्थे । उहाँ कपाल काट्ने काम छाडेर आमाबाबुबाट लुकीलुकी नाटक हेर्न जानु हुन्थ्यो र सानातिना अभिनय गर्र्नु हुन्थ्यो । 

यसै क्रममा उहाँ एक दिन भागेर खड्गपुर भन्ने गाउँमा जानुभयो, जहाँ उहाँले नाच मण्डलीमा काम गर्न थाल्नुभयो । त्यहाँबाट उहाँ आफ्नो गाउँ फर्केर पनि नाच मण्डलीको गठन गरी व्यावसायिक रूपमा नै नाच मण्डली सञ्चालन गर्न थाल्नुभयो । औपचारिक शिक्षाका नाममा बाह्रखरी चिनेका ठाकुर आफ्ना दर्जनौँ नाटकमा तत्कालीन समाजको चित्रण गर्न सक्षम हुनुभयो । तत्कालीन रूढीवादी समाजका विरुद्धमा कलम चलाउनु कुनै सामान्य कुरा थिएन । तैपनि उहाँले कलमद्वारा सामाजिक क्रान्ति गर्नुभयो । उहाँले समाजका शोषित, पीडितलाई आफ्नो कलमद्वारा न्याय दिलाउँथे । 

लोककलाकार ठाकुर आश्रम कुतुबपुरले सन् १९७९ र १९८६ मा भिखारी ठाकुर ग्रन्थावली दुई खण्डमा प्रकाशित गरेको थियो । विहार राष्ट्रभाषा परिषद्ले ती दुइटै खण्डलाई एउटै पुस्तकका रूपमा प्रकाशित गरिसकेको छ । त्यसै गरी समालोचक महेश्वर आचार्यले सन् १९६४ मा ‘जनकवि भिखारी ठाकुर’ भन्ने समालोचनात्मक कृति तथा प्रख्यात कथाकार सञ्जीवले ठाकुरको जीवनमा आधारित ‘सूत्रधार’ नामक उपन्यास प्रकाशित गरेका थिए । भोजपुरी साहित्यको भण्डारलाई बढाउँदा बढाउँदै १० जुलाई १९७१ मा ८४ वर्षको उमेरमा यस लोकबाट उहाँ सदाका लागि बिदा हुनुभयो । ३० वर्षकै उमेरमा उहाँले विदेशिया नाटकको रचना गर्नुभएको थियो । यो नाटक चलचित्रका रूपमा निर्माण भएपछि त्यसले पनि अभूतपूर्व सफलता प्राप्त गरेको थियो । 

महापण्डित राहुल सांकृत्यानले भिखारी ठाकुरलाई ‘भोजपुरी भाषाको शेक्सपियर’ र ‘अनगढ हीरा’ को उपाधि दिएका थिए । जगदीश माथुरले उहाँलाई भरतमुनि परम्पराका प्रथम लोकनाटककार मानेका थिए । हिन्दीका प्रसिद्ध समालोचक रामनिहाल गुञ्जनले भारतेन्दु हरिश्चन्द्रसँग उहाँ धेरै नजिक रहेको औँल्याएका थिए । 

गुञ्जनले ठाकुरलाई ‘भोजपुरीको भारतेन्दु हरिश्चन्द्र’को उपाधि पनि दिएका थिए । धेरैले श्रद्धास्वरूप ठाकुरलाई ‘मल्लिकजी’ र ‘राय बहादुरको खिताब’ पनि भन्ने गर्दथे तर जनजनको हृदयमा राज गर्न सफल भिखारीलाई कुनै उपमा वा मानपदवी दिएर वा कसैसँग तुलना गरेर उनको सम्यक् मूल्याङ्कन हुन सक्दैन । उहाँको रचनामा आफ्नै माटो, हावापानी र सामाजिक परिवेशको सुवास पाइन्छ ।