गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ८ गते । साहित्यकार प्रदीप सापकोटाको नियात्राकृति ‘यात्राको लय’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्रधान, डा. सृजना शर्मा, लेखनाथ हुमागाईं, छविरमण सिलवाल र नियात्राकार सापकोटालगायत साहित्यकारले उक्त कृति सार्वजनिक गर्नुभएको हो ।
कृति सार्वजनिक गर्दै प्राडा गौतमले यात्रा संस्मरण या नियात्रा लेख्दा ढाँट्ने छुट लेखकलाई नभएको यसमा प्रदीप इमानदार भएको बताउनुभयो । सत्यतथ्यमा आधारित रहेर निबन्धात्मक यात्रा संस्मरण लेखिनुपर्नेमा जोड दिनुभयो । साहित्यकार तथा समीक्षक प्रमोद प्रधानले सार्वजनिक कृतिको समीक्षा गर्दै यात्रा निबन्ध, नियात्रा र यात्रा संस्मरणबारे चर्चा गर्नुभयो । उहाँले यात्रा निबन्धमा चित्रात्मक गति हुनुपर्नेमा जोड दिनुभयो । प्रदीपको यात्राकृतिमा गति रहेको उहाँले उल्लेख गर्नुभयो ।
अर्का समीक्षक डा. सृजना शर्माले कृतिकारले पाठकलाई मेची, महाकाली मात्र नभएर सीमापारिको दार्जिलिङ पनि घुमाएको बताउनुभयो । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले नियात्रा यथार्थको जगमा उभिएर लेखिनुपर्ने बताउनुभयो । पछिल्लो समय यात्रा साहित्यका लेखक मात्र नभई पाठक पनि बढ्दै गएको उनको भनाइ छ । सापकोटाका कृति निजात्मक भावले ओतप्रोत रहेको उहाँको भनाइ थियो ।
सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रकाशक केशव पराजुली, साहित्यकारहरू पवन आलोक, किशोर पहाडी, लेखनाथ हुमागाईं, राधेश्याम लेकाली, तारा केसी, छविरमण सिलवाल र कृतिकार सापकोटाले आफ्ना धारणा राख्नुभएको थियो ।