• १२ साउन २०८१, शनिबार

राम्रा चलचित्रलाई बाह्रैमास बहार

blog

काठमाडौँ, असार २२ गते । कुनै समय हलमा चलचित्र चलाउन कि मौसम कुनुपथ्र्यो कि चाडपर्व ।  तीज, दसैँ तिहार, नयाँ वर्ष पारेर चलचित्र प्रदर्शन गर्न निर्माता/निर्देशकबिच होडबाजी चल्थ्यो तर अहिले परिस्थिति बदलिएको छ । 

चलचित्रका लागि कुनै मौसम वा पर्व उपयुक्त हुन्छ भनेर भन्न सकिने अवस्था छैन । क्युज सिनेमाका प्रमुख कार्यकारी अधिकृत राकेश श्रेष्ठ राम्रा चलचित्रका लागि जुनसुकै समय पनि सदाबहार नै ठहरिने दाबी गर्नुहुन्छ  । उहाँ भन्नुहुन्छ, “चलचित्र चलाउन मौसम वा पर्व नै कुर्नु पर्छ भन्ने होइन ।  यदि चलचित्रको कथा राम्रो छ भने जुनसुकै मौसम पनि बहारयुक्त हुन सक्छ ।”

निर्माता निर्देशकले पस्कने कथा र विषयवस्तुले दर्शकलाई हलमा तान्न सक्नु पर्ने उहाँको भनाइ छ । बिदाको समय पारेर चलचित्र प्रदर्शन ग-यौँ भने अलि बढी चल्छ भन्नु पनि गलत तर्क भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “दर्शक त बाह्रैमास मनोरञ्जन खोजिरहेको हुन्छ नि । खै चलचित्र निर्माता निर्देशकले दिन सकेको ।” कुनै उत्सव वा चाडपर्व विशेषमा चलचित्रले राम्रो व्यापार गर्नुलाई उहाँ  स्वाभाविक मान्नुहुन्छ । हलमा दर्शकको सङ्ख्या ज्यादै न्यून भएर काटिएका टिकटसमेत रद्ध गर्नु परिरहेको श्रेष्ठको गुनासो छ । अहिले हलको पूर्ण क्षमतामा जम्मा १० देखि १५ प्रतिशत दर्शक मात्र हुने गरेको उहाँ बताउनुहुन्छ । केही महिनायता फेरि नेपाली चलचित्रको बजार ओरालो लाग्न थालेको हल सञ्चालकको गुनासो छ । 

निर्माता तथा कलाकार दीपकराज गिरी कथा र पटकथा राम्रो हुने हो भने चलचित्र प्रदर्शन गर्न कुनै मौसम वा पर्व कुर्नु नपर्ने बताउनुहुन्छ । चाडपर्व अनुसार चलचित्र चल्नु अलग कुरा हो तर दर्शकले कस्तो स्वादको चलचित्र मन पराउँछन् भन्ने कुरालाई पनि हामीले प्रथामिकतामा राख्नुपर्ने उहाँको भनाइ छ ।  बिग सिनेमाका प्रमुख कार्यकारी अधिकृत दिपेश शर्मा भन्नुहुन्छ, अहिले चलचित्र प्रदर्शनीको हालत बेहाल छ । हलमा पाँचदेखि 

दस जना मात्र दर्शक हुँदा पनि चलाउनु पर्ने अवस्था छ । यसलाई कसरी राम्रो भन्ने ।” मौसम अनुसार चलचित्र चलाउने होडबाजी गर्नुभन्दा पनि लेखन, कथावस्तु, पटकथालाई स्तरीय बनाउन सकेमा मौसम कुनु पर्दैन ।