• १२ साउन २०८१, शनिबार

हँसाउने हरर चलचित्र

blog

काठमाडौँ, असार १५ गते । चलचित्र हलमा अचेल विशुद्ध हरर चलचित्र कमै मात्रामा हेर्न पाइन्छ । किनकी त्यस्ता चलचित्र धेरै कम मात्रा बन्ने गरेका छन् । हरर चलचित्र कम प्रदर्शन भइरहेका बेला कुनै नयाँ हरर चलचित्र प्रदर्शनमा आयो भने त्यसप्रति दर्शकको उत्सुकता बढ्छ नै । चलचित्र ‘१९२० हरर अफ हर्ट’ पाँचौँ फ्रेन्चाइज चलचित्र हो । राज, १९२० जस्ता चलेका हरर चलचित्र बनाउनुभएका निर्देशक विक्रम भट्टकी छोरी कृष्णा भट्टको पहिलो डेब्यु निर्देशन हो, यो चलचित्र ।

चलचित्रको कथा मेघना (अविका गौर) बाट सुरु हुन्छ । जसले आफ्नो बुवा धीरज (रणधीर रोय) लाई आफ्नो जन्मदिनमा प्रेमीको बारेमा बताउन भनी जाँदा धीरजले आत्महत्या गरिसकेका हुन्छन् । 

आफ्नो बुवाको मृत्युपछि पुराना कुराहरू कोट्याउँदै गर्दा मेघनाले थाहा पाउँछिन् कि उनकी आमा राधिका (बरखा विष्ट) ले उनको बुवालाई छाडेर धनी शान्तनु (राहुल देव) सँग विवाह गरिन् । उनी आमाबाट आफ्नो बुवाको मृत्युको बदला लिन चाहन्छिन् । मेघना आमाको घर पुग्छिन् । बदलाको आगोमा जलेर मेघनाले त्यहाँ आफ्नी सौतेनी बहिनी अदिती (केतकी कुलकर्णी) लाई आफ्नो निसाना बनाउँछिन् । उनको बुवाको आत्मा अदितीभित्र प्रवेश गरेपछि मेघनाले आफ्नी आमाको बारेमा सत्य थाहा पाउँछिन् । यसपछि चलचित्रभित्र अनेकन कुराको उल्झन आउँछन् । पूरै चलचित्र मेघना वरपर नै घुमेको छ । महेश भट्ट र सुरिता दासको चलचित्र लेखन निकै कमजोर देखिन्छ । चलचित्रमा के के हुँदैछ भन्ने कुरा सुरुको दस मिनेटमै बुझिन्छ ।  कसले साँचो बोलेको छ, कसले झुट यी सबै कुरा सजिलै बुझ्न सकिन्छ । विक्रमका अघिल्ला चलचित्रहरू जस्तै यसमा पनि पुरुषको आत्मा महिलाको शरीरमा प्रवेश गर्छ । यी सबै कुरा अब पुराना भइसके । दर्शकका लागि ती कुनै अनौठो विषय जस्तो लाग्दैन ।  

चलचित्रभित्र भूतको क्रियाकलाप हाँसो लाग्दो छ । ऊ धावक जस्तै छिटो दौडन्छ । भूतको मेकअप पहिलेको चलचित्र ‘१९२०’ को भूतको जस्तै छ । अनुहार सेतो र आँखाको नानी कहिले कालो र कहिले सेतो हुन्छ । कम्तीमा निर्देशक कृष्णले भूतको शृङ्खलामा नयाँ कुरा ल्याउन सक्थे । अदितीको भूमिकामा केतकीलाई सुहाएको छ । भूत बनेका केही प्रारम्भिक दृश्यमा पनि उनलाई दर्शकले सम्झन्छन् । राहुल देव, बरखा विष्टको अभिनय ठिकै छ । रणधीरलाई उनको उमेरभन्दा ठूलो भूमिका दिइएको छ । जसमा उनी विश्वासयोग्य देखिँदैनन् । अमित बहलको अभिनयले  दर्शकलाई निराश बनाउँछ । यद्यपि, उनको गल्ती होइन, किनकि उनको चरित्र आफैँमा आधा लेखिएको थियो । विक्रम भट्टको हरर चलचित्रहरू हेरेर जति अपेक्षा गरिन्थ्यो यस चलचित्रमा त्यो एकदमै कम छ ।