• ११ मंसिर २०८१, मङ्गलबार

रहस्यमय कथा ‘अन्तिम संस्कार’

blog

काठमाडौँ, असार ११ गते ।  चलचित्र ‘अन्तिम संस्कार’ अन्य चलचित्रभन्दा निकै भिन्न लाग्छ । चलचित्र क्षेत्रमा लागिसकेपछि कलाकारले जे जस्तो पनि अभिनय गर्नुपर्ने हुन्छ । धेरै कलाकारको चाहना केही फरक भूमिका गरौँ भन्ने नै हुन्छ । उनीहरू केही न केही चुनौती झेल्न अग्रसर भएका हुन्छन् । कलाकारले त्यस्तै फरक भूमिकासहित चुनौती सामना गरेको चलचित्र हो, ‘अन्तिम संस्कार’ ।

चलचित्रमा दया (विजय लामा) बेपत्ता हुन्छन् । उनको हत्या भएको हुन्छ या उनी जिउँदै छन्, केही अत्तोपत्तो हुँदैन । रक्षा (दिया पुन) जो प्रहरी नायब उपरीक्षक छिन्, उनको काँघमा दयाको खोजी गर्ने जिम्मेवारी छ । उनलाई हरिदास (अभनराज उप्रेती) र रत्ने (कृष्ण महर्जन) को साथ मिलेको हुन्छ ।  प्रहरी वृत्तभित्र रक्षाको चरित्रलाई लिएर पनि खासखुस चलिरहन्छ । यस कारणले उनको साथी रक्सी र अँध्यारो कोठा मात्र हुन्छ । आफ्नो जीवनमा सङ्घर्ष गरिरहेकी रक्षाले अनेक बाधा अडचनबाट कसरी दया पत्ता लगाउँछिन् भन्ने कुरा रहस्यमय छ । 

दयाका छोरा धीरज (त्रिचन्द्र राई) जो लागुपदार्थ दुव्र्यसनीको सिकार भएका हुन्छन्  । उनलाई आफूले के गरिरहेको छु भन्ने केही याद हुँदैन । दयाले धर्मपुत्र बनाएर पालेका धीरजले बुवाको माया खासै पाएका हुँदैनन् । त्यसमाथि उनलाई अचानक थाहै नदिई बुवा छोडेर हिँड्छन् । यसको प्रभाव धीरजले बुवालाई हेर्र्ने दृष्टिकोणमा पर्छ तर उनले नै बुवाको अन्तिम संस्कार गर्नुपर्ने अवस्था चलचित्रमा देखाइन्छ ।  

कथा जम्मा तीन पात्रमा अल्झिएको छ । चलचित्रलाई रोमाञ्चक मनोवैज्ञानिक थ्रिलर भन्न सकिन्छ । दयालाई खोज्दा रक्षाले के कस्तो सङ्घर्ष गर्नुपर्ने हुन्छ र उनी यसमा सफल हुन्छिन् कि हुन्नन् ? दया बेपत्ता छन् । उनको खोजखबर कसैलाई छैन । दयाकी कान्छी श्रीमती स्मारिका (रेश्मा घिमिरे) ले पनि श्रीमान् जिउँदै होलान् भन्ने आशा मारिसकेकी हुन्छिन् । तर दयाको बेपत्ता वा हत्या हुनुमा कतै उनकी पत्नीको हात त छैन ? यसले चलचित्रलाई थप रहस्यमय बनाउँछ । चलचित्रमा धेरै कुराको ट्विस्ट पाइन्छ । दयाकी श्रीमती, उनको घरमा काम गर्ने गाडीचालक, दयाका छोरा धीरज चलचित्रमा ट्विस्ट ल्याउने पात्र हुन् । धीरज रहस्यमय ठूलो नीलो झोला लिएर हिमालयको एकल यात्रामा लाग्छन् । त्यो झोलाभित्र के छ भन्ने कुरा रहस्यमै छ । चलचित्रमा विस्तारै रहस्य खुल्दै जाँदा रक्षा र धीरजको बाटो अलमलिन्छ । त्यसपछि एक गम्भीर हत्याको रहस्य प्रकट हुन्छ । 

चलचित्रभित्र मृत्युपछि गरिने अन्तिम संस्कारलाई प्राथमिकतासाथ देखाइएको छ; जुन कुरा दर्शकलाई केही अपाच्य लाग्न सक्छ । हत्या भएपछि लासलाई न गाडिन्छ न त जलाइन्छ । लास काटेर गिद्धलाई खुवाउने परम्परालाई चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ । धेरैका लागि यो कुरा नौलो पनि हुन सक्छ । उपल्लो मुस्ताङ र डोल्पा क्षेत्रमा मान्छेको मृत्युपछि लामाले गर्ने अन्तिम संस्कारलाई निर्देशक शाहीले चलचित्रमा उतार्न खोज्नुभएको छ । त्यहाँको परम्परा अनुसार मान्छे मरेपछि गिद्धलाई खुवाइने र त्यो काम छिटो गर्न लास काटेर टुक्रा टुक्रा बनाउने कुरा चलचित्रमा देखाउन खोजिएको छ । केही अन्य देशमा पनि यस्तो चलनलाई  ‘स्काई बरियल’ भनेर चिनिन्छ ।

निर्देशक प्रदीप शाहीले चलचित्र रहस्यमय बनाउन खोज्नुभएको छ । चलचित्र न प्रेमकथा हो न त यसभित्र कुनै गीत समावेश छन्  । दर्शकको मनमा कौतूहल पैदा गर्दागर्दै दुई घण्टा बितेको पत्तै हुँदैन । अभिनयका हिसाबले विजय लामाको अभिनय राम्रै मान्नु पर्छ । दिया पुनले यस्तो खालको भूमिकामा अझ केही मेहनत गर्नुपर्ने देखिन्छ । त्रिचन्द्र राईको अभिनय प्रशंसायोग्य छ । उहाँले सुहाउने खालको भूमिका पाउनुभएको छ । अन्य कलाकारको अभिनय खासै नौलो होइन ।