• १५ वैशाख २०८१, शनिबार

टुकुचामाथिको जग्गा अध्ययन हुँदै

blog

काठमाडौँ, असार १० गते । पाटन उच्च अदालतले दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउन्डमुनि भेटिएको टुकुचा ढल नभई खोला नै भएको ठहरसहित फैसला गरेपछि सो खोलालाई खुला रूपमा नै बगाउन काठमाडौँ महानगरपालिकाले सुरु गरेको कानुनी प्रक्रिया अपेक्षित रूपमा अगाडि बढ्न सकेको छैन ।

अदालतको फैसलापछि काठमाडौँ महानगरपालिकाले उक्त खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरे पनि मन्त्रालयले अहिलेसम्म कुनै जवाफ दिएको छैन । महानगरपालिकाले गत वैशाख २५ गते मन्त्रालयमा पत्राचार गरेको थियो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले टुकुचा खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रालयले अहिलेसम्म कुनै जवाफ नफर्काएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “महानगरपालिका अहिलेसम्म मन्त्रालयको जवाफ र प्रतिक्रियाको प्रतीक्षामा छ । अबको केही दिनसम्म प्रक्रिया वा जवाफ नआए महानगरपालिको पुनः पत्राचार गर्ने वा थप प्रक्रिया अगाडि बढाउने छ ।” महानगरपालिकाले मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ महानगर प्रमुख स्तरीय निर्णयले मन्त्रालयलाई पत्राचार गरेको प्रवक्ता मानन्धरले स्पष्ट पार्नुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाश जोशीले टुकुचा खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित काठमाडौँ महानगरपालिकाबाट पत्र प्राप्त भएपछि सोको आवश्यक कारबाही तथा राय मागका लागि मन्त्रालयका तर्फबाट नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्राचार भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार सो विभागबाट राय सुझाव आउने क्रममा छ।

२०६५ मङ्सिर १ गतेको मन्त्रीपरिषद् बैठकले समेत खोला, खोल्सी र राजकुलो छोप्न बन्देज लगाएको प्रवक्ता मानन्धरले उल्लेख गर्नुभयो। त्यसै गरी मन्त्रीपरिषद्को सो बैठकले खोलाको बहाव क्षेत्र र सोको दयाँबायाँ चार/चार मिटरको जग्गामाथि कुनै भौतिक संरचना निर्माण गर्न नपाइने स्पष्ट मापदण्ड तोक्ने निर्णय गरेको थियो।

काठमाडौँ महानगरपालिकाले गत भदौ ३० गते दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउन्ड खोतल्दा टुकुचा खोला भेटिएको थियो। प्राकृतिक टुकुचालाई छोपे पनि टुकुचाको पानी बग्ने सानो नाला निर्माण गरिएको अवस्थामा सो खोला भेटिएको थियो। नारायणहिटी दरबार हुँदै बग्ने गरेको टुकुचालाई मिचेर सिनेमाघरले जग्गा भोगचलन गर्दै आएको छ। अदालतको फैसलाको पूर्ण पाठमा “इच्छुमती (टुकुचा) नदी/खोला नै हो। त्यो खुलस्त भएर बग्नुपर्छ। 

खोलाको क्षेत्राधिकार (राइट अफ–वे) भित्र पर्ने जग्गा अधिग्रहण गर्नुपर्छ। जग्गा प्राप्ति ऐनअनुसार सो जग्गा प्राप्त गर्नुपर्छ। खोलाको क्षेत्राधिकारभित्र पर्ने जग्गाको समेत किटान भइसकेकाले क्षतिपूर्ति असुल गरेर मात्र लगत कट्टा गर्नू” भन्ने फैसलामा उल्लेख छ।

मन्त्रालयलाई लेखिएको पत्रलाई उद्धृत गर्दै प्रवक्ता मानन्धरले हात्तीसार क्षेत्रमा टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्रको जग्गा त्रुटिवश व्यक्ति विशेषका नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्ति विशेषका नाममा दर्ता रहेको उक्त लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी आवश्यक कारवाहीको माग गरिएको छ।

सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा दर्ता हुन गएको अवस्थामा त्यस्तो दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था गरेको बताउँदै उहाँले सोही ऐनका आधारमा महानगरले मन्त्रालयलाई पत्राचार गरेको स्पष्ट पार्नुभयो।