• २७ वैशाख २०८१, बिहिबार

नेपाललाई भारतसँग हार्ने छुट छैन

blog

बैङ्गलोर (भारत), असार ९ गते ।  साफ च्याम्पियनसिप २०२३ को छनोट चरण पार गर्न नेपाललाई शनिबार घरेलु टिम भारतसँगको खेलमा हार्ने छुट छैन। पहिलो खेलमा कुवेतसँग ३–१ ले पराजित भएपछि नेपाल दबाबमा परेको छ। अझै दुई खेल बाँकी रहेकाले नेपालको शीर्ष दुई स्थान हासिल गरेर अन्तिम चारमा पुग्ने सम्भावना भने  सकिएको छैन तर सो सम्भावना कायम राख्न भारतविरुद्ध कम्तीमा बराबरीमा खेल्नुपर्ने हुन्छ । नेपालले आफ्नो अन्तिम खेल पाकिस्तानसँग खेल्ने छ। यस प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ।

यदि भारतविरुद्धको खेलमा हार भएमा प्रतियोगिताबाट बिदा हुनुपर्ने भएकाले नेपाललाई उक्त खेलमा अलिकति पनि लापरबाही गर्ने छुट छैन। कुवेतविरुद्धको खेलमा नेपालले तीन गोल आफ्नै गल्तीले बेहोरेको थियो।

नेपाल र भारतबिच पछिल्लो भेट साफ च्याम्पियनसिपको फाइनलमा भएको थियो। पछिल्लो संस्करणमा फाइनलमा भारतसँग ३–१ ले पराजित भएपछि नेपालको साफ च्याम्पियन बन्ने सपना चकनाचुर भएको थियो। सो प्रतियोगितामा नेपालले समूह चरणमा पनि भारतसँग १–० ले हार बेहोरेको थियो। त्यसैले भारतविरुद्धको जित नेपालका लागि बदला हुने छ तर पनि चालु प्रतियोगितामा नेपालका लागि भारतविरुद्धको खेल भने एसिट टेस्ट सरह नै हुने छ। किनभने दक्षिण एसियामा सबैभन्दा ठुलो शक्ति भारत अहिले एसियाको मानचित्रमा नै उत्कृष्ट बन्ने लक्ष्यसहित अगाडि बढिरहेको छ। भारत सर्वाधिक आठ पटक साफ च्याम्पियनसिप जितिसकेको देश हो।

तर नेपाली फुटबल टिम भारतविरुद्ध खेल्दा सँधै अतिरिक्त प्रयास लगाउने गर्दछ। नेपाली फुटबल समर्थक पनि आफ्नो टिमले सँधै भारतविरुद्ध जितेको हेर्न चाहन्छ। यही प्रेरणाले नेपालले शनिबार भारतविरुद्ध राम्रो खेल्ने अपेक्षा गर्न सकिन्छ।

फाइनल सरहको खेल

यस पटक नेपाल विगतमा जस्तो साफ च्याम्पियनसिपको दावेदारका रूपमा छैन तर बलियो कुवेतविरुद्ध दोस्रो हाफमा गरेको प्रदर्शनले भारतविरुद्ध नेपालले चामत्कारिक नतिजा ननिकाल्ला भन्ने पनि छैन। नेपालका प्रशिक्षक भिन्सेन्जो अलवर्टो एनिसले पनि कुवेतविरुद्ध दोस्रो हाफमा गरेको प्रदर्शन दोहो¥याउने हो भने भारतविरुद्ध सकारात्मक नतिजा आउनेमा आशावादी हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, “हाम्रा लागि भारतसँगको खेल फाइनल सरह हुने छ। भारत घरमा खेल्दैछ। दावेदार टिम हो। त्यसैले नेपाललाई चुनौती छ तर भारतमा मैले तीन वर्ष बिताएको छु। त्यसैले भारतीय फुटबल मैले राम्रै बुझेको छु।”

नेपालका इटालियाली प्रशिक्षक एनिसले गोकुलम केरलालाई दुई पटक आइलिग उपाधि दिलाउनुभएको थियो। नेपाल आउनुअघि उहाँ इन्डियन सुपर लिग (आइएसएल) मा नर्थ इस्ट युनाइटेडका प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो। उहाँले कुवेतसँग हारे पनि सो खेलमा मिलेको अनुभव भारतविरुद्धको खेलमा प्रयोग हुने विश्वास व्यक्त गर्नुभयो।  

नेपालविरुद्धको खेलमा भारतका क्रोसियाली प्रशिक्षक इगोर स्टिमाख टचलाइनमा उभिन पाउनुहुने छैन। जसको फाइदा नेपाललाई हुन सक्छ। पाकिस्तानविरुद्धको खेलमा विपक्षी खेलाडी अब्दुला इकबालबाट अनावश्यक रूपमा बल खोस्ने प्रयासमा स्टिमाखले रातो कार्ड पाउनुभएको थियो। नेपालविरुद्धको खेलमा उहाँको स्थान लिने भारतका सहायक प्रशिक्षक महेश गोलीले पनि नेपाललाई हल्का रूपमा लिनुभएको छैन। उहाँ भन्नुहुन्छ, “नेपाल राम्रो टिम हो। कुवेतविरुद्धको प्रदर्शनले अझ नेपाललाई कम आक्नै मिल्दैन। यी दुई टिमबिचको प्रतिद्वन्द्विता पनि ठुलो छ। त्यसैले म नेपालविरुद्धको खेलको पर्खाईमा छु।” 

उच्च लयमा भारत

साफ च्याम्पियनसिपमा यस पटकदेखि आमन्त्रित टिम पनि सहभागी गराइएको छ। यसपालि कुवेत र लेबनान जस्ता एसियाका बलिया टिम साफ च्याम्पियनसिपमा छन् तर पनि भारतलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ। गत साता मात्र भारतले लेबनानलाई नै हराएर इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको थियो। जुन उपाधिले अब आउने फिफा वरियतामा भारतको शीर्ष सयभित्र पर्ने पक्का छ। साफ च्याम्पियनसिपमा भारत घरेलु दर्शकको ऊर्जा र मैदानको फाइदामा खेल्दै छ। पाकिस्तानविरुद्धको ४–० को जितले भारत आफ्नो भूमिमा कतिको खतरनाक छ भन्ने देखाइसकेको छ।

नेपाललाई क्षेत्रीको डर

भारतका मात्र होइन दक्षिण एसियाकै महान् खेलाडीको सूचीमा परिसक्नुभएका खेलाडी हुन् कप्तान सुनील क्षेत्री। उद्घाटनका दिन पाकिस्तानविरुद्ध क्षेत्रीले ह्याट्रिक गर्नुभयो। ३८ वर्षीय क्षेत्रीको अन्तर्राष्ट्रिय गोल १३८ खेलमा ९० पुगेको छ। अन्तर्राष्ट्रिय फुटबलमा उहाँलेभन्दा धेरै गोल पोर्चुगलका क्रस्टियानो रोनाल्डो (१२३), इरानका अली दाई (१०९ गोल) र अर्जेन्टिनाका लियोनेल मेसी (१०३) ले मात्र गर्नुभएको छ। त्यसैले लयमा रहेका क्षेत्री नेपालविरुद्धको खेलमा आफ्नो गोल सङ्ख्या बढाउने प्रयासमा हुने छ। क्षेत्री व्यावसायिक फुटबल बेङ्गलुरु एफसी लागि नै खेल्नुहुन्छ। त्यसैले पनि बैङ्गलोरको श्री कान्तिराव रङ्गशालासँग क्षेत्री निकै परिचित हुनुहुन्छ। त्यसैले शनिबारको खेलमा नेपालका लागि सबैभन्दा ठुलो खतरा नै क्षेत्री हुने छ।

अञ्जन कीर्तिमान गोल नजिक

यस प्रतियोगिताको पहिलो खेलमा कुवेतविरुद्ध दर्शनीय गोल गरी अञ्जनले आफूलाई नेपालका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान नजिक पु¥याउनुभयो। नेपालका लागि ५४ खेल खेल्नुभएका अञ्जनको अन्तर्राष्ट्रिय गोल सङ्ख्या १२ पुगिसकेको छ। उहाँ नेपालका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीभन्दा अब एक गोलले मात्र पछाडि हुनुहुन्छ। यी दुवैले समान १३–१३ गोल गर्नुभएको छ। अञ्जनले भारतविरुद्धको खेलमा गोल गरेर नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको कीर्तिमानको बराबरी गर्ने आफ्नो उद्देश्य हुने बताउनुभएको छ।

दशकौँ पुरानो प्रतिद्वन्द्विता

भारत र नेपालको फुटबल इतिहास दशकौँ पुरानो छ। सन् १९८५ मा पहिलो पटक भिडेपछि यी दुई देशबिच शनिबार २५ औँ खेल हुँदैछ। इतिहास हेर्ने हो भने भारत नै हाबी छ। अहिलेसम्म भएका २४ मध्ये नेपालले मात्र तीन खेलमा जित हात पारेको छ। त्यसमध्ये पनि निर्धारित ९० मिनेटमा नेपालले भारतलाई एक पटक मात्र हराएको विगत छ। सन् १९९३ को साफ च्याम्पियनसिपमा नेपालले भारतलाई टाइब्रेकरमा हराएर स्वर्ण पदक जितेको थियो। सन् २००६ मा एएफसी च्यालेन्ज कपमा नेपालले भारतलाई ३–० ले हरायो तर सो खेलमा भारतले आफ्नो दोस्रो दर्जाको टिम पठाएको थियो। पछिल्लो पटक सन् २०१३ मा भएको साफ च्याम्पियनसिपमा काठमाडौँमा नेपालले भारतलाई २–१ ले हराएको थियो। भारतसँग नेपाल १७ खेलमा पराजित भएको छ। चार खेल बराबरीमा सकिएको थियो।

यसै गरी साफ च्याम्पियनसिपमा मात्र नेपाल र भारतबिच कुल आठ खेल भएको छ। जसमध्ये नेपालले एक खेलमा जित र सातमा पराजय बेहोरेको छ। यसै गरी नेपालले अहिलेसम्म भारतीय भूमिमा जित हात पार्न सकेको छैन। सन् २०१२ मा नयाँ दिल्लीमा भएको नेहरू कप र २०१५ मा पुनेमा भएको मैत्री खेलमा बराबरीको नतिजा नै नेपालको भारतमा घरेलु टिमविरुद्धको उत्कृष्ट नतिजाको रूपमा रहेको छ।