• १२ साउन २०८१, शनिबार

विगत र वर्तमानको कथा ‘द फ्ल्यास’

blog

काठमाडौँ, असार ९ गते  । कतिपय कुराको समाधान हुँदैन। हामीमाझ यस्ता धेरै घटना भेटिन्छन्, जसको कुनै समाधान फेला पर्दैन। त्यसलाई  हामी  त्यही अवस्थामा छोड्छौँ। यस्तै एउटा घटना चलचित्र ‘द फ्ल्यास’ मा डिसी एक्सटेन्डेड युनिभर्सको चर्चित चरित्रको मुख्य नायकका रूपमा आएको छ; जहाँ उनी विगतमा गएर आफूसँग सम्बन्धित केही कुरा समाधान गर्ने प्रयास गर्छन्।

चलचित्रको कथा ब्यारीका बुवाआमाको हत्या गरेको आरोपमा जेलमा परेको घटनाबाट सुरु हुन्छ। फ्ल्यासलाई थाहा छ कि उनका बुवाले आफ्नी आमाको हत्या गरेका होइनन्, तर उनीसँग कुनै प्रमाण छैन। एक दिन केही मानिसको जीवन बचाउँदा फ्ल्यासले पत्ता लगाउँछन् कि उनी समय यात्रा पनि गर्न सक्छन्। 

त्यसपछि उनी अतीतमा पुगेर आफ्ना आमाबुवाको जीवन बचाउँछन्। साथै उनी आफ्नो युवा अवस्थालाई पनि सम्झन्छन् तर फ्ल्यासले आफ्ना आमाबुवालाई बचाउन समय हेरफेर गरेपछि धेरै कुरा परिवर्तन हुन्छ। के फ्ल्यासको यो उचित हो। उनी यी सबै कुरासँग लड्न सक्छन्। चलचित्र यिनै विषयको सेरोफेरोमा घुमेको छ। 

चलचित्रका प्रायः दृश्यले दर्शकलाई सुरुदेखि नै चलचित्रमा बाँधेर राख्न बाध्य बनाउँछ। चलचित्रका दृश्य लोभ्याउने खालका छन्। चलचित्रको कथाको दोस्रो हाफ अर्को मल्टिभर्समा यात्रा गर्ने भएकाले दर्शक अलिकति सचेत हुनै पर्छ तर पनि चलचित्रले दर्शकलाई निकै मनोरञ्जन दिन्छ। फ्ल्यासको भूमिकामा बैरी एलन अर्थात् एजरा मिलनले चलचित्रमा आफ्नो दोहोरो अवतारमा प्रशंसायोग्य काम गरेका छन्। साशा कैले सुपरगर्ल र बेन एफ्लेक ब्याटम्यान अर्थात् बु्रस वेनको भूमिकामा देखिएका छन्। दुवैको भूमिकाले चलचित्रलाई अझ माथि उठाउने काम गरेको छ। 

चलचित्रले समय यात्राको सूत्र प्रयोग गरेको छ। फ्ल्यासले विगतका गल्ती सच्याउने त्यो मनमग्न चाहनालाई पुँजीकृत गर्छ, जुन सधैँ हृदयको कुनै कुनामा गाडिएको हुन्छ। चलचित्रको बारेमा सबैभन्दा राम्रो कुरा भनेको आफ्नो कथामा भावनालाई राम्रोसँग बुन्न सक्नु नै हो। सुपरहिरो भएका चलचित्रमा यति धेरै एक्सन हुन्छ कि भावनात्मक रूपमा कमजोर हुँदै जाँदा कुरा पटरीबाट हट्न थाल्छ। यो सन्दर्भमा, फ्ल्यास निराश छैन। चलचित्रमा यस्ता धेरै पल छन्, जहाँ दर्शक सम्झनामा डुब्न बाध्य हुन्छन्। 

प्राविधिक रूपमा भन्नुपर्दा, त्यहाँ यति धेरै भिएफएक्समा आधारित चलचित्र बनेका छन् कि हामीलाई बानी भइसकेको छ; जसको परिणामस्वरूप दर्शकले सानो गल्ती तुरुन्तै समात्छन्। प्राविधिक मोर्चामा ‘द फ्ल्यास’ ठिक छ। केही दृश्यले भिएफएक्सको उत्कृष्ट काम देखाउँछन्। एज्राले द फ्ल्यासलाई जीवनमा ल्याउँदा, सुपर गर्लको उपस्थिति छोटो तर बलियो छ। अस्पतालमा बालबालिकाको उद्धार गर्ने दृश्य चलचित्रको सबैभन्दा यादगार क्षण हो। चलचित्रभित्र एक्सनका दृश्यहरू शानदार र पूर्ण रूपमा मनमोहक छन्। सुपरहिरोका चलचित्र रुचाउनेहरूले ‘द फ्ल्यास’ अवश्य मन पराउने छन्।