• २० वैशाख २०८१, बिहिबार

वैदेशिक रोजगार टेलिमेडिसिन सेवा

निःशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ्दो

blog

काठमाडौँ, असार ९ गते ।  “खाना खायो कि पेट डुम्म हुने, वाकवाक हुने भएको छ, ठुलै रोग पो लागे हो कि चिन्ताले महिनौँ  दिन भइसक्यो निदाउन सकेको छैन । डर मात्रै लाग्छ, के भएर हो डाक्टरसाब भन्निदिनुहोस् न,” यो भनाइ रोजगारीको सिलसिलामा कतारमा रहेका युवाले वीर अस्पतालको टेलिमेडिसिन सेवा लिनका लागि आएको फोन हो । सरकारले गएको चैत १५ देखि कार्यालय समयमा यसै गरी फोनमा टेलिमेडिसिनमार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा दिर्दै आएको छ । 

वैदेशिक रोजगार बोर्डको सचिवालयको निगरानीमा वीर अस्पतालमा सञ्चालित चिकित्सक परामर्श युनिटले विभिन्न ५२/५३ देशमा कार्यरत ६६९ नेपाली श्रमिकलाई स्वास्थ्य परामर्श सेवा प्रदान गरेको जनाएको छ । जसमा ६५ जनाले विशेषज्ञ चिकित्सा सेवा लिएको सो स्वास्थ्य युनिटका मेडिकल अधिकृत डा. सञ्जय धरेलले जानकारी दिनुभयो । उहाँले विशेषज्ञ सेवा लिनेमध्ये अधिकांश सामान्य रोगका कारण पनि ठूलै रोग लाग्यो कि भन्ने आशङ्काले मनोरोगी हुने धेरै भएको पनि जानकारी दिनुभयो । 

टेलिमेडिसिन सेवाका लागि एक युवाको फोन रेकर्ड सुनाउँदै डा. धरेलले भन्नुभयो, “रोग ग्यास्टिकको हुन्छ तर ठुलो रोग लागेको आशङ्का गरेर मानसिक रोगी भएको पाइयो । उहाँलाई मनोचिकित्सकमार्फत परामर्शपछि सामान्य ग्यास्टिकको औषधीले निको भएको छ ।” बोर्डले गत चैत १५ देखि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्टाउने उद्देश्यले देशको केन्द्रीय अस्पताल वीरमार्फत निःशुल्क टेलिमेडिसिन सेवा दिर्दै आएको छ । वीर अस्पतालमा सुरु गरेको स्वास्थ्य युनिटका मेडिकल अधिकृत डा. सञ्जय धरेलले विदेशबाट टेलिमेडिसिन सेवा लिनेमध्ये सबैभन्दा धेरै कब्जियत, पेट दुख्ने र खान मन नहुने, छालाको समस्या रहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार यीबाहेक ढाड दुख्ने, हातखुट्टा सुनिने, मुटुको धड्कन बढ्ने र मनोरोगसम्बन्धी रहेका छन् । टेलिमेडिसिनमार्फत सेवा लिने श्रमिकले सुनाएका लक्षणका आधारमा सम्बन्धित विशेषज्ञ चिकित्सकले हेरेर चिकित्सकको ‘प्रेस्व्रिmप्सन’ अनलाइनमार्फत उपलब्ध गराउने गराउँदै आएको डा. धरेलले जानकारी दिनुभयो ।  उहाँले टेलिमेडिसिन सेवामा सेवा लिनेको ठुलो सङ्ख्या खाडी र मलेसिया भए पनि पछिल्लो पटक अस्टे«लिया, जापान, बेलायत, युरोपका विभिन्न देशमा रहेकाले पनि टेलिमेडिसिन सेवामार्फत आफूलाई भएको स्वास्थ्य परामर्श सेवा लिँदै आएका छन् । 

डा. धरेलले वैदेशिक रोजगारीमा रहेका श्रमिकले भनेका समस्या टेलिमेडिसिनका मेडिकल अधिकृतले सुनेर बिरामी श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा हरेक आइतबार र शुक्रबार उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । आइतबार र शुक्रबार विदेशी मुलुकमा सार्वजनिक बिदा पर्ने हुँदा ती दिनमा श्रमिकसँग समय हुने भएकाले सेवा उपलब्ध गराउन लागिएको बोर्डका निर्देशक एवं सूचना अधिकारी राजन पौडेलले बताउनुभयो । सामान्य स्वास्थ्य समस्याबारेमा उपचार गराउने व्यवस्था नहुँदा वैदेशिक रोजगारमा गएका कैयौँ श्रमिकको उतै मृत्यु हुने गरेको केही भए पनि राहत होस् भनेर उक्त सेवा सुरु गरेको जानकारी दिनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेसँगै सेवा दिँदै आएको छ । बोर्डका अनुसार यसबाट वैदेशिक रोजगारीमा रहेका सबैले सेवा लिन सक्ने व्यवस्था गरिएको छ । विदेशमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या समाधान गर्न सहयोग पु-याउनका लागि पहिलो पटक सञ्चालनमा ल्याइएको उक्त सेवालाई प्रभावकारी बनाउन सजिलो नभएको स्वयम् सरकारका अधिकारी नै स्वीकार गर्छन् । 

बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले नेपालमा रहेको चिकित्सकले विदेशमा रहेका श्रमिकले भनेका कुरालाई आधार मानेर दिने स्वास्थ्य सेवा प्रत्यक्ष भेटेर बिरामी परीक्षण गरेजस्तो प्रभावकारी हुन नसक्ने बताउनुभयो । उहाँले विदेशमा कार्यरत श्रमिक सामान्य स्वास्थ्य समस्याका कारण जटिल अवस्थाको बिरामी हुन नपरोस् भनी टेलिमेडिसिनमार्फत श्रमिकको आवश्यकता अनुसार स्वास्थ्यसम्बन्धी सल्लाह, सुझाव र परामर्श उपलब्ध गराउन थालिएको जानकारी दिनुुभयो । बोर्डका अनुसार सार्वजनिक बिदाको दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गर्दै आएको छ । बोर्डका अनुसार विदेशमा रहेका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा लिनु परेमा ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा भाइबर, ह्वाट्स एप वा इमोलगायतका माध्यममार्फत सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था गरेको छ । 

कार्यकारी निर्देशक उप्रेतीले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई स्वास्थ्य समस्याबारेमा सल्लाह र सुझाव लिने ठाउँ नहुँदा हाम्रा श्रमिकले मृत्युवरण गर्नु परेकाले यसबाट केही हदसम्म कम हुने विश्वास व्यक्त गर्नुभयो । बोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि गत पुस महिनासम्म ११ हजार ५६२ जनाको वैदेशिक रोजगारका क्रममा मृत्यु भएको छ । सो अवधिमा अङ्गभङ्ग भएर फर्कनेको सङ्ख्या दुई हजार २५० जना रहेको छ । यो सङ्ख्या बोर्डबाट आर्थिक सहायता लिनेको मात्रै हो ।