• २८ चैत २०८२, शनिबार

लालीगुराँस पार्क पर्यटकको नयाँ गन्तव्य

blog

लालीगुराँस पार्कमा रमाउँदै गरेका पर्यटकहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, चैत २८ गते । म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडोपानीको लालीगुराँस पार्क पर्यटकको नयाँ गन्तव्यका रुपमा विकास भएको छ । 

वसन्त ऋतुको आगमन सँगै पाखाभरी ढकमक्क गुराँस फुलेर राताम्य भएको छ । लालीगुराँस फुलेर मनमोहक र आकर्षक बनेको गुराँस पार्कमा यतिखेर स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको छ । 

घोडेपानी देखि नजिकै रहेको लालीगुराँस पार्कमा पुगेर फोटो र भिडियो खिच्नेहरुको यो सिजनमा भिड लागेको छ । पुनहिलको भ्रमणमा बेनी देखि जानुभएका धनिलाल गुर्बजाले लालीगुराँस पार्क वरिपरी लालीगुराँस फुलेर निकै मनमोहक बनेको बताउनुभयो । 

गुराँसले ढाकिएको जङ्गल, मनमोहक दृश्य र फोटो–भिडियो खिच्न उपयुक्त स्थानका कारण लालीगुराँस पार्क पर्यटकको नयाँ रोजाइ बन्दै गएको गुर्बजाले बताउनुभयो ।   

अन्नपूर्ण पदयात्रामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई घना गुराँसे जङ्गलको अवलोकन गराउने, पर्यटकको बसाइ लम्बाउने र घोडेपानीमा थप पर्यटक आकर्षित गर्ने उद्देश्यले दुईवर्ष अघि यहाँ लालीगुराँस पार्क निर्माण गरिएको थियो । 

लालिगुराँस पार्क पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा विकास हुनथालेको अन्नपूर्ण गाउँपालिका ६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । 

घोडेपानीको जङ्गलमा मात्र आठ प्रजातिका गुराँस पाइने गर्दछन् । घोडेपानीबाट २० मिनेटको पदयात्राको दूरीमा रहेको कालीसारस्थित साढे तीन हेक्टर क्षेत्रफलमा लालीगुराँस पार्क निर्माण गरिएको छ । 

पार्कमा चरा अवलोकन केन्द्र, वन्यजन्तुका लागि सानो प्राकृतिक स्वरुपको पोखरी,पदमार्ग र ठूला अक्षरले गुराँस पार्क लेखिएको सेल्फी बोर्ड राखिएको छ ।  

पार्कमा शौचालय, चरा अवलोकन गर्नेहरूका लागि बेन्च, पर्यटक बस्ने गोलघर र पदमार्ग निर्माण गरिएको छ । बिहानीपख पुन हिलको भ्रमण गरेका पर्यटक दिउँसोमा गुराँस पार्क हुँदै प्यारीवराह ताल पुगेर मनोरम दृश्यावलोकन गरेर पुन घोडेपानी फर्किन सक्छन् ।  

प्यारीवराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्ने सुविधा पनि छ । पार्कले पर्यापर्यटनमा योगदान पु¥याउने र घोडेपानीमा पर्यटकको बसाई अवधि लम्बिने अपेक्षा गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।