• २० वैशाख २०८१, बिहिबार

अनियमित वर्षाले समस्यामा कृषक

blog

काठमाडौँ, जेठ ३० गते । तापक्रम र मनसुनको उतारचढावले कृषि उत्पादनमा गहिरो असर पर्न थालेको छ । नेपालको खेती मौसमी प्रणालीमा निर्भर छ तर कृषिसँग सम्बन्धित मौसमी सूचना अनिश्चित छ । जसका कारण किसानले बारम्बार नोक्सानी बेहोर्नुपरेको कृषि विज्ञहरूको गुनासो छ ।

अघिल्लो वर्ष असोजमा बेमौसमी वर्षा हुँदा खेतमै काटेको धान सोत्तर बन्यो । यो वर्ष हिउँदमा कम वर्षा हुँदा बाली राम्रो उत्पादन भएन । यस पटकको वर्षामा पनि कम पानी पर्ने पूर्वानुमान छ तर मनसुन भित्रिने र सक्रिय रहने सही समयको सूचना किसानले पाउन सकेका छैनन् । 

गत साताको खडेरीले धानको ब्याड सुक्यो, मकैका बोट सुके । बाली रोगविज्ञ चेतना मानन्धरका अनुसार खडेरीमा बाली सखाप हुने समस्या बढी आउँछ । उहाँ भन्नुहुन्छ, “सुकेको बोट फेरि बिउँतिन्छ वा बिउँतिँदैन वा रोग लाग्यो कि भनेर जँचाउन किसान आइरहेका छन् । त्यसैले मौसमी समस्याको जानकारी दिनु आवश्यक छ ।” 

पानी र वातावरणको असन्तुलनका कारण मौसमी बालीमा रोग तथा किराका समस्या पनि देखिन्छन् । बाढी, डुबान र खडेरीको विकल्पसहितको जानकारी नहुँदा बाली नोक्सान हुने प्रबल सम्भावना रहेको उहाँ बताउनुहुन्छ । बायोटिक समस्याले देखिने रोगको पहिचान गरेर उपचार गर्न सकिन्छ । पहिल्यै उपचार गरेर लगाइएमा पनि रोग र वातावरणको असर कम पर्ने सुझाव उहाँले दिनुभयो । 

कृषि मौसमविद् रामेश्वर रिमालले एक सातादेखि अत्यधिक तातो बढ्दा मकै र धानको बिउमा बढी असर परेको बताउनुभयो । त्यस्तै गाईवस्तुमा पनि तापक्रमको अप्रत्यक्ष असर परेको छ । दुहुना गाईवस्तुमा गर्मीको तनाव अर्थात् हिटस्ट्रोक भएको पाइएको छ । मौसमको उतारचढावकै कारण यस्तो भयो भन्ने चेतना किसानसम्म पुग्न सकेको छैन । पशुमा हुने यस्ता समस्याले दूध कम दिने, श्वासप्रश्वास समस्या आउने गर्छ । 

त्योभन्दा पनि यसपालि वर्षा कम हुँदा सिधा असर नेपालको धान उत्पादनमा पर्ने उहाँ बताउनुहुन्छ । असिञ्चित क्षेत्रमा धान रोपाइँ कम हुने भएको छ । मनसुन ढिला हुँदै जाँदा रोपाइँ यो वर्ष पनि सामान्यभन्दा पर सर्ने भएको छ । सुरुवाती चरणमा मनसुन कम सक्रिय हुने भएकाले पनि समस्या आउने उहाँ बताउनुहुन्छ । 

त्यस्तै मनसुनमा हुने वर्षाको दर र कहिले कति वर्षा हुन्छ भन्ने यकिन जानकारी छैन । उहाँले भन्नुभयो, “मनसुन सुरु भएको एक सातामै मनसुन ब्रेक हुँदा किसान समस्यामा पर्न सक्छन् ।” गत हिउँदमा कम वर्षा हुँदा गहुँ र तोरी बाली उत्पादनमा असर पुग्यो । तरकारी बालीतर्फ व्यावसायिक खेतीमा थोपा सिँचाइले राहत दिए पनि खुला खेतीमा निर्भर साना किसानको बाली राम्रो भएन ।

वर्षाको उतारचढावले जनजीविकाको आधार मानिने खाद्य चक्रमा गहिरो खाडल सिर्जना गर्ने अनुमान कृषि विज्ञले गर्नुभएको छ । किसानलाई लक्षित गर्दै एक महिनाअघिदेखि नै सुक्खा धानको ब्याड राख्न सुझाइएको रिमालले जानकारी दिनुभयो । सिञ्चित क्षेत्रमा त्यति फरक पर्दैैन तर धान रोप्ने समय र रोपेपछि २१–२५ दिनभित्र मल हाल्ने बेला पानी दिनुपर्छ । धान पसाउने र फुल्ने समयमा पनि पानी चाहिन्छ । त्यसैले यो वर्ष कुन अवस्थामा कति पानी प¥यो भन्ने कुराले धेरै फरक पार्छ । मनसुन ब्रेक हुँदा बढ्ने तातोले पहिले परेको पानी जमिनबाट वाष्पीकरण भएर जाने समस्याले सुक्खापन ल्याउन सक्छ । सिँचाइमा पनि जमिनमुनिको पानी कम हुन्छ । मनसुनमा वर्षा कम हुने पूर्वानुमानले कृषि सङ्कटको चिन्ता छ । मौसमी प्रणालीमा देखिएको परिवर्तन जलवायु परिवर्तनसँग जोडिएको विषय हुन्छ । यसले नेपालको खेती प्रणालीमा केही वर्षयता गहिरो असर पार्न थालेको छ । 

तथापि जलवायु परिवर्तनसँग लडेर त्यसको विकल्पमा जानुको विकल्प नरहेको कृषि वातावरणविद् विष्णुप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार जलवायु परिवर्तनसँग अनुकूलन हुने गरी खेती लगाउन किसानलाई प्रोत्साहित गर्ने र त्यही अनुसारको सूचना प्रवाहमा जोड दिनुपर्छ । पानी कम पर्ने, तापक्रम बढ्ने क्रम बढिरहेकाले त्यसको असर कृषिसँगै देशकै कुल गार्हस्थ उत्पादनमा पर्दै जान थालेको छ । नेपालको ६८ प्रतिशत जनसङ्ख्या प्रत्यक्ष कृषिमा आबद्ध छ, जसले कुल राजस्वको ३५ प्रतिशत ओगटेको छ । कुल गार्हस्थ उत्पादनमा ३५.३३ प्रतिशत प्रत्यक्ष योगदान छ ।