• १० मंसिर २०८१, सोमबार

पुस्तकालयमा ‘डोजर आतङ्क’

blog

गण्डकी प्रदेशकै एक मात्र महानगरपालिका पोखराको व्यस्त बजारमा थियो, पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय । महेन्द्रपुलस्थित आर्ट ग्यालरी र पुस्तकालय भत्काएर संसारभरका झन्डा फहराउने महत्वाकाङ्क्षी योजनाका साथ डोजर चलाइयो । झन्डापार्क बनाउन भन्दै पोखरा महानगरका मेयर धनराज आचार्यको अगुवाइमा पुस्तकालयमा डोजर मच्चाइएको हो ।

गण्डकी प्रदेशमा रहेको पुस्तकालयमा डोजर आतङ्क मच्चिइरहँदा उता सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको जानकी गाउँपालिका प्रमुख गणेश चौधरी पुस्तकालय सञ्चालनको गृहकार्यमा जुट्नुभएको छ । पोखरा महानगरपालिका प्रमुख आचार्यले डोजर चलाउनुअघि नै चौधरीले जानकी गाउँपालिकामा पुस्तकालय स्थापना गर्ने योजना बुनिसक्नुभएको थियो । त्यसका लागि उहाँले पालिकाका तर्फबाट गर्नुपर्ने काम त छँदै छ, साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग पनि सहयोगका लागि आग्रह गर्नुभएको छ । आग्रह गरिएका केहीबाट ‘ग्रिन सिग्नल’ पाएपछि पालिका प्रमुख चौधरी कम्ती उत्साहित हुनुहुन्न । उहाँ भन्नुहुन्छ, “पालिकामा पुस्तकालय स्थापना गर्ने योजना छिट्टै पूरा हुनेमा विश्वस्त छु ।”   

हुन पनि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को (ज) मा रहेको आधारभूत र माध्यमिक शिक्षा अन्तर्गत दफा १९ मा पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा उल्लेख छ । यसका साथै पछिल्लो समय सरकारले एक स्थानीय तह, एक नमुना पुस्तकालयको अवधारणा पनि अघि सारेको छ । स्थानीय तहमा पुस्तकालय स्थापना गर्न र भएका पुस्तकालयको संरक्षणका लागि यसरी कानुनी रूपमै स्पष्ट व्यवस्था हुँदाहुँदै पनि पोखरा महानगरका प्रमुख धनराज आचार्यले सनकका भरमा संयुक्त राष्ट्रसङ्घमा आबद्ध १९५ देशको झन्डा गाड्ने र ती झन्डामुनि सम्बन्धित देशको नाम लेखिने भन्दै पुस्तकालयमा डोजर चलाएर रमिता देखाउनुभएको छ । झन्डापार्कका लागि लायन्स क्लब इन्टरनेसनलले ७० रुपियाँ लाख खर्च गर्ने बताइएको छ । मेयर आचार्य लायन्स क्लब इन्टरनेसनलका पूर्वराष्ट्रिय अध्यक्षसमेत हुनुहुन्छ ।

पोखराको मुख्य व्यापारिक केन्द्र महेन्द्रपुलमा रहेको यो पुस्तकालय पाठकका लागि त उपयोगी थियो नै, साथै साहित्यिक रचना वाचनदेखि सार्वजनिक सरोकारका विषयमा पनि नियमित छलफल हुने गथ्र्यो । आजको दिनमा त पुस्तकालयको महत्व छ नै, साथै ऐतिहासिक महìव पनि उत्तिकै छ । पञ्चायतकालमा यही वाचनालयमा भेला भएर स्थानीय ज्ञानगुनका कुरा सिक्ने गर्थे । वाचनालयमा नियमित रूपमा भेला हुने स्थानीयकै पहलमा २०४९ सालमा पुस्तकालय खुल्न सम्भव भएको हो । जसका लागि तत्कालीन पोखरा नगरपालिकाले पनि सहयोग गरेको थियो । जुन पुस्तकालयमा करिब १२ हजार पुस्तकसहित विभिन्न विषयका अन्तर्राष्ट्रिय स्तरका जर्नलसमेत राखिएको थियो । पठन संस्कृतिको महत्व बुझेर नै हुनु पर्छ, काठमाडौँस्थित अमेरिकी दूतावासले पुस्तकालय प्रवर्धनका लागि भौतिक र आर्थिक सहयोगसमेत उपलब्ध गराउँदै आएको थियो । 

पुस्तकालय भनेको खुला समाजको पक्षमा बहस र छलफल गर्ने सार्वजनिक स्थल पनि हो तर यस्तो बौद्धिक थलोमा डोजर चलाएर पोखराको पर्यटन प्रवर्धन गर्ने पोखराका नगर प्रमुखको तर्क तुक न बेतुक सिवाय अरू केही पनि होइन । झन्डापार्क बनाउने भन्दै डोजर चलाउने महानगर प्रमुखले बुझ्नुपर्छ कि पुस्तकालय भनेको ज्ञानको भण्डार हो । जसले गर्दा संसारभर पुस्तकालयलाई प्रतिष्ठाको विषय बनाउने गरिएको छ । अर्थात् कुनै विश्वविद्यालय, विद्यालय वा सार्वजनिक संस्थाले आफूसँग पुस्तकालय छ भने त्यसलाई गौरव ठान्ने गर्छन् । पुस्तकालय निर्माण गरेर पठन संस्कृतिलाई बढवा दिनुपर्नेमा भएकै पुस्तकालय भत्काउनुले स्थानीय तहका जनप्रतिनिधिको बौद्धिक स्तर प्रस्ट हुन्छ । पुस्तकालय मासेर झन्डापार्क बनाएको भन्ने कुरा थाहा पाउँदा पोखरा घुम्न आएका पर्यटकले महानगर प्रमुखलाई के भन्लान् ? बरु पोखरा घुम्न आउने पर्यटकका लागि अन्तर्राष्ट्रिय स्तरको पुस्तकालय बनाएर संसारभरबाट प्रकाशित नयाँ नयाँ पुस्तक पढ्ने व्यवस्था मिलाउनु पथ्र्यो । यसो भएको भए उनीहरूले पोखरा महानगरका प्रमुखको प्रशंसा मात्र गर्ने थिएनन्, आफ्नो देशमा फर्केर पुस्तकालयको प्रचारप्रसार पनि गर्ने थिए ।  

हात हातमा मोबाइलबाट ताजा सूचनाको अपडेट भइरहेको युगमा पुस्तकालयप्रति धेरैको रुचि नहोला भन्ने कतिपयको बुझाइ हुन पनि सक्छ तर पुस्तकालयको महत्व बुझेकाहरू त्यस भनाइप्रति सहमत हुन सक्दैनन् । त्यसकारण राजनीतिक नेतृत्वले बुझ्नुपर्छ पुस्तकालय भनेको सूचना र ज्ञानको भण्डार हो । जसले व्यक्तिको चेतना वृद्धिमा सहयोगीको भूमिका खेलेको हुन्छ । त्यसकारण पुस्तकालयले लेखपढ संस्कृतिलाई बढावा त दिएको छ नै साथै सामाजिक रूपमा घुलमिल हुने र विभिन्न मुद्दाको बहस गर्ने थलो पनि भएको छ । पुस्तकालयमा किताबसँगै पाठकका बिचमा विचारको आदानप्रदान पनि हुन्छ । 

सामुदायिक पुस्तकालय यस्तो हुनु पर्छ, जसले समुदायका सदस्यलाई सुसूचित गराउने त छँदै छ, साथै सशक्तीकरण गराउने र समुदायको विकासमा प्रत्यक्ष रूपमा सहभागी गराउने काम पनि गर्छ । त्यसकारण सामुदायिक पुस्तकालयको विकास र विस्तारका लागि स्थानीय सरकारको भूमिका सहयोगी हुनु पर्छ । यसो हुँदा सामुदायिक पुस्तकालय र स्थानीय सरकारबिचको सम्बन्ध थप घनिष्ठ हुने छ । यति मात्र होइन, समुदायको आवश्यकता पूर्ति गर्नका लागि स्थानीय सरकारले यस्ता पुस्तकालयसँग सहकार्य गर्न सक्छन् । जसले गर्दा समुदायका आवश्यकता र प्राथमिकता के कस्ता छन्, त्यसबारेको सूचना आदानप्रदानमा स्थानीयलाई सहभागी गराउने र समुदायका मुद्दाबारे जानकारी गराउने काममा पुस्तकालयले अग्रसरता लिन सक्छन् ।  

यस्ता सार्वजनिक पुस्तकालयभनेका समुदायको विकासका लागि महत्वपूर्ण स्रोत पनि हुन् । जहाँ समुदायका सदस्यबिच समुदायको विकास निर्माणलगायतका विषयमा पर्याप्त बहस हुन्छ । छलफल गर्न सकिन्छ । यस्ता पुस्तकालयले शिक्षा, सामुदायिक विकास, डिजिटल साक्षरता, सिप आदिबारे सिकाउँछ । सामाजिक सञ्जालको सही ढङ्गले प्रयोग गर्न सक्दा त्यसबाट पर्याप्त लाभ लिन पनि सकिन्छ तर यसको जथाभाबी प्रयोगले समाजमा अनेक किसिमका विकृति र विसङ्गति फैलिएका छन् । त्यसको कसरी सदुपयोग गर्न सकिन्छ र जोगिने उपाय के कस्ता हुन सक्छन् भनेर स्थानीय स्तरमा चेतना फैलाउने काम पनि सामुदायिक पुस्तकालयमार्फत गर्न सकिन्छ ।  

अमेरिकास्थित प्यु रिसर्च सेन्टरले प्रकाशित गरेको एक अध्ययन अनुसार १६ वर्ष र त्योभन्दा बढी उमेरका आधाभन्दा बढी अमेरिकीले सार्वजनिक पुस्तकालय प्रयोग गर्छन् । नेपालमा पुस्तकालयका प्रयोगकर्ताका बारेमा कुनै अध्ययन अनुसन्धान त भएको छैन तर पनि घर घरमा देखिने सामाजिक सञ्जालको व्यस्तता हेर्दा के भन्न सकिन्छ भने नयाँ पुस्ताका लागि पुस्तकालय नौलो ठाउँ भएको छ । जहाँ कतिपयले पाइलो समेत नटेकेका हुन सक्छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगले मानिसलाई एकाङ्की बनाएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीको भनाइमा सामाजिक सञ्जालले समाजमा मानसिक समस्या उत्पन्न हुन थालेको सङ्केत गरेको छ । जुन समस्याको उपचारमा ढिलाइ भएमा भोलिका दिनमा भयानक समस्या उत्पन्न गराउनेतर्फ उनीहरूले सजग गराएका छन् । यी र यस्ता समस्याबाट समाजलाई मुक्ति दिलाउनका लागि पनि आजको दिनमा पुस्तकालयको आवश्यकता र महìव झनै बढेको छ । त्यसकारण आआफ्नो स्थानीय तहमा पुस्तकालय स्थापनाका लागि स्थानीय तह र तिनको नेतृत्वले अगुवाइ गर्नुपर्ने आजको आवश्यकता भएको छ । किनभने पछिल्लो समय स्थानीय तहमा साधनस्रोतको अभावमा पुस्तकालय स्थापना गर्न सकिएन भन्ने अवस्था छैन । त्यसका लागि नेतृत्वको इच्छाशक्ति मात्र भए पनि पुग्छ । त्यसकारण पालिकाको तर्फबाट पुस्तकालय स्थापनाको सुरुवात मात्र गर्ने हो भने भोलिका दिनमा सहयोगी खोजी खोजी आउने छन् । स्थानीय तहमा यस्तो पुस्तकालय स्थापना होस् जहाँ सबै उमेर समूहका मानिस भेला हुन सकून् र उनीहरूले आफूलाई मन परेको किताब पढ्न पाऊन् । यसो हुँदा समाजका सदस्यले आपसमा ज्ञान र विचार साटासाट गर्न सक्छन् । यसले अन्ततः विचारको दायरा फराकिलो बनाउन मद्दत पु-याउँछ । समाजलाई सही बाटोमा डो-याउने भनेकै सद्विचारले हो ।  

यति धेरै महत्व भएको पुस्तकालय मासेर झन्डापार्क बनाउन आतुर पोखरा महानगरपालिका प्रमुख आचार्य तिनैमध्येका एक नेपाली हुनुहुन्छ जसले ‘हात्ती पढेर ठुलो भएको हो र’ भनेर पढाइलाई खिसीट्युरी गर्नुभएको छ । आशा गरौँ, यस्तो निन्दनीय काम अरू स्थानीय तहका जनप्रतिनिधिले दोहो-याउने छैनन् । 

लेखक पत्रकार हुनुहुन्छ ।   

Author

रामजी दाहाल