• १३ वैशाख २०८१, बिहिबार

सिमसार क्षेत्र संरक्षण गर्न पोखरी सरसफाइ

blog

बुटवल समाचारदाता

बुटवल, जेठ २६ गते । सिमसार क्षेत्रको संरक्षण गर्ने भन्दै रुपन्देहीको सैनामैना नगरपालिकाले नगरभित्र रहेका पुराना पोखरी सफाइ अभियान सुरु गरेको छ। पोखरी र तालतलैयाको सरसफाइ र संरक्षण गरेर सैनामैनालाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना अनुसार सिमसार क्षेत्र संरक्षणको पहल सुरु गरिएको हो।

त्यस्ता पोखरीलाई पर्यापर्यटनसँग जोड्ने गरी नगरपालिकाले पोखरीको संरक्षण गर्न आर्थिक वर्ष २०७९/८० मा १० लाख रुपियाँ बजेटसमेत विनियोजन गरेको थियो। जैविक विविधतासँग सम्बन्धित रहेका त्यस्ता पोखरीलाई संरक्षण गरी पर्यावरणीय क्षेत्रको प्रवर्धनमा समेत टेवा पु¥याउन सकिने सैनामैना नगरपालिकाको भनाइ छ। 

नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले पोखरीको संरक्षण गरेर त्यसबाट सिँचाइलगायतको सुविधा लिन सकिने भएको र त्यस्ता पोखरी जैविक विविधताको हिसाबले पनि महत्वपूर्ण रहेकाले नगरपालिकाले संरक्षणको पहल सुरु गरेको बताउनुभयो। 

नगरपालिकाले सैनामैना–४ को लेडुवामा रहेको करिब १२ बिघा क्षेत्रफलको पोखरीलाई जैविक पर्यटनसँग जोड्दै यो वर्षदेखि संरक्षण गर्न थालेको हो। उक्त पोखरीलाई पर्यटनसँग जोडेर विकास गर्न सके त्यसबाट स्थानीय समुदायको आयआर्जनमा समेत टेवा पुग्ने नगरपालिकाले विश्वास लिएको छ। 

उक्त पोखरी छेउमा सारसको बथान देख्न सकिन्छ भने अरू दर्जनौँ प्रकारका चराको बासस्थान क्षेत्रसमेत रहेको छ। नगरपालिकाले कृषि र सिँचाइका लागि मात्र नभई पोखरीलाई भविष्यमा पर्यापर्यटनसँग जोड्ने गरी पोखरीको संरक्षणको काम अघि बढाएको नगर प्रमुख शर्माको भनाइ छ। सैनामैनाको व्यापारिक केन्द्र मुर्गियाबाट डेढ किलोमिटरको दूरीमा पर्ने उक्त पोखरीलाई पर्यापर्यटनसँग जोडेर विकास गर्न सकिए पोखरी पर्यटकीय केन्द्रका रूपमा विकास हुने देखिएको छ। साथै पोखरीले स्थानीयलाई रोजगारीसँग जोड्दै दर्जनौँ चराचुरुङगीको बासस्थान क्षेत्रका रूपमा समेत विकास हुने स्थानीयको भनाइ छ।