सुख र खुसी कसलाई चाहिँदैन र ? तर त्यो सबैलाई कहाँ मिल्दोरहेछ । मेरो जन्म पश्चिम नेपालमा भएको हो । मेरा घरमा आमाबाबा हुनुहुन्थ्यो । मलाई संसारकै भाग्यमानी परिवार मेरै होलाजस्तो लाग्थ्यो तर खुसी लामो समय टिकेन । दैवको आँखा लाग्यो ।
परिवारमा अनेक अप्ठ्यारा आए । त्यसै कारणले परिवार विछिप्त भयो । हामी नीलम, इन्द्रा, पार्वती, लक्ष्मी, बिन्दु र माया लाबड छ दिदीबहिनीको बिजोग भयो । हाम्रा लागि घर अब घर रहेन ।
भगवान्ले सबैलाई मद्दत गर्छन् रे । त्यो पनि हो रहेछ । चार वर्षअघि हामी छवटी दिदीबहिनीलाई एसओएस हर्मनमाइनर विद्यालयमा पढ्न र त्यहीँको मायालु घरमा बस्ने वातावरण मिल्यो । हामी छ जना दिदीबहिनीलाई सुरुमा त भाषाको धेरै समस्या भयो तर गुरु र साथीको सहयोगले विस्तारै सहज बन्दै गयो । आज हामी एसओएस स्कुलको गाउँमा बसेर पढ्ने, रमाउने गर्छौं ।
हामीलाई गाउँको केही सम्झना आए पनि आमा अम्बिका र बाबा तुलसी छुजुको मायाले पुराना घाउ बिर्साएको छ । आज हामी अरू साथीजस्तै स्कुल जाने, पढ्ने, हाँस्ने, खेल्ने र रमाउने भएका छौँ ।
हामी अरूजस्तै गरेर चाडपर्व र जन्मदिन मनाउन पाउँछौँ । आमा–आन्टी सबैले खुब माया गर्नुहुन्छ । आज म कक्षा ८ मा पढ्छु । साथमा सबै जना मिलेर बसेका छौँ । आँट र साहस लिएर अघि बढ्ने हो भने सहयोगी हात पाइने रहेछ । अर्को कुरा त खुसी खोज्न अन्त कतै होइन आफैँभित्र खोज । आफैँसँग पाइन्छजस्तो लाग्छ । भविष्यमा गएर मलाई नर्स बनेर देशको सेवा गर्ने इच्छा छ ।