सिराज खान
नेपालगन्ज, जेठ २४ गते । बाँके जिल्लाको दोस्रो ठुलो सहर कोहलपुर नगर योजना भित्रका सडकहरू स्तरोन्नति गर्ने कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका अधिकांश स्थानमा नाला निर्माण गर्ने कार्य सम्पन्न भइसकेकोले सडक निर्माणलाई अगाडी बढाइएको हो ।
कोहलपुर नगर विकास समितिका अध्यक्ष पूर्णप्रसाद आचार्यले नगर योजना भित्रका सडकहरू चौडा पार्नका लागि नगर विकास समितिले प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले पहिलो चरणमा तीन किलोमिटर छ सय मिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न सुरु गर्न थालिएको जनाउनुभयो । समितिका अध्यक्ष आचार्यका अनुसार सडक स्तरोन्नतिसहित कालोपत्रेको लागि टेन्डर आह्वान गरेर निर्माण कम्पनीसँग सम्झौतासमेत भइसकेको छ ।
उहाँले थप्नुभयो–‘हामी आउनुभन्दा अगाडिबाट नै टाउन क्षेत्रमा नाली स्तरोन्नतिको काम चलिरहेको थियो । त्यो काम सकिएसँगै सडक कालोपत्रे हुँदै छ, त्यसैका लागि टेन्डर आह्वान गरेर निर्माण कम्पनीसँग सम्झौता गरिसकेका छौँ । अब काम अगाडि बढिसक्यो ।’ तीन किलोमिटर ६०० मिटर सडक स्तरोन्नतिसहित कालोपत्रेका लागि भ्याटबाहेक आठ करोड ९० लाख रुपियाँमा सम्झौता भएको कोहलपुर नगर विकास समितिले जनाएको छ ।
नगर विकास समितिका अध्यक्ष आचार्यले खड्का निर्माण सेवा बाँकेसँग सो रकममा सडक निर्माणको सम्झौता गरिएको जनाउनुभयो । उहाँले नगर विकाससँग स्रोतको अभाव भएकाले पहिलो चरणमा ३ हजार छ सय मिटर सडक स्तरोन्नतिसहित कालोपत्रे हुन गइरहेको बताउनुभयो । बाँकी रहेका क्षेत्रमा दोस्रो चरणमा सडक स्तरोन्नतिसहित कालोपत्रे गरिने योजना छ ।
कोहलपुर नगर विकास समितिका इन्जिनियर बिराज अर्यालले टाउन प्लानिङ क्षेत्रसहित कोहलपुरलाई नै सुन्दर बनाउन आफूहरू लागिपरेको जनाउँदै सडक स्तरोन्नतिसहित कालोपत्रे गरिने बताउनुभयो । उहाँले भन्नुभयो–‘कालोपत्रे गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ, चार सेन्टिमिटर बाक्लो कालोपत्रे हुनेछ ।’
इन्जिनियर अर्यालका अनुसार पहिलो चरणमा नाली स्तरोन्नति गरिएका हरियाली मार्ग, उज्ज्वल मेडिकल मार्ग, रेडक्रस मार्ग हुँदै मेडिकल कलेजको उत्तर गेट, बसपार्कदेखि दक्षिण एनटिभीरोड लगायतका सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न लागिएको छ । पहिलो चरणमा करिब चार सय मिटर सडक तीन मिटर चौडा ढलानसमेत गर्ने तय भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुर नजिकै, गोल पार्क नजिकै र एन टिभी रोड नजिकै सडक ढलान गरिनेछ ।