काठमाडौँ, पुस ५ गते । आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा भएको छ ।
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले शनिबार सूर्यकुमार यादव कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । यसअघि उपकप्तानको जिम्मेवारीमा रहनु भएका शुभमन् गिल टोलीबाट बाहिरिनु भएको छ ।
टोलीको उपकप्तान अक्षर पटेललाई बनाइएको छ । टोलीमा कप्तान सूर्यकुमार र उपकप्तान अक्षरसहित अभिषेक शर्मा, तिलक वर्मा, रिंकु सिंह, सन्जु सैमसन (विकेटकिपर), ईशान किसन (विकेटकिपर), शिवम दुबे, हार्दिक पाण्ड्या, वाशिंगटन सुन्दर, अर्शदीप सिंह, जसप्रित बुमराह, हर्षित राणा, कुलदीप यादव र वरुण चक्रवर्ती हुनुहुन्छ ।
नेपालको समेत सहभागिता रहने विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, अमेरिका, नामिबिया, नेदरल्यान्ड्स र पाकिस्तान रहेको छ ।
यस्तै समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाबे, आयरल्यान्ड र ओमान, समूह ‘सी’ मा इङ्ग्ल्यान्ड, वेस्टइन्डिज, बङ्गलादेश, इटली र नेपाल रहेको छ । समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र युएई रहेको छ ।