• ५ पुस २०८२, शनिबार

नयाँ शक्तिसँग सकेसम्म एकता, नभए चुनावी सहकार्यः खनाल

blog

क्याप्सनः रास्वपा गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नु हुँदै नेता शिशिर खनाल। तस्बिरः गोरखापत्र

लेखनाथ, पुस ५ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचन केन्द्रित भएर चुनावी तयारी र राजनीतिक सहकार्यलाई सँगसँगै लगेको नेता शिशिर खनालले बताउनु भएको छ। रास्वपा केन्द्रीय सचिवालय सदस्य खनालले शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले आगामी निर्वाचनबाट देशको सबैभन्दा ठुलो शक्ति रास्वपा बन्ने जिकिर गर्नुभयो। 

उहाँले पुराना दलहरूसँग चुनावी गठबन्धन नगर्ने तर नयाँ दलहरूसँग सहकार्य र गठबन्धन हुन सक्ने उल्लेख गर्नुभयो। “हाम्रो पुराना दलहरूसँग चुनावी गठबन्धन गर्दैनौँ भन्ने नीति छ,” नेता खनालले भन्नुभयो, “नयाँ र विचार समान भएका दलहरूसँग सकेसम्म एकता, त्यसो तत्काल सम्भव नभए चुनावी गठबन्धन हुन सक्छ।”

रास्वपाको उच्चस्तरीय वार्ता समितिका उपसंयोजकसमेत रहनु भएका खनालले भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका प्रमुख बालेनसँग सहकार्यका लागि छलफल जारी रहेको उहाँको भनाइ छ। 

पार्टीका गण्डकी प्रदेशका समानुपातिक उम्मेदवार छनोट प्रक्रियाबारे जानकारी दिन आयोजित कार्यक्रममा उहाँले गण्डकीबाट ४३ जना समानुपातिका उम्मेदवारहरू सूचीकृत भएको उल्लेख गर्नुभयो। उहाँले निश्चित विधि र मापदण्डका आधारमा उम्मेदवारहरू छनोट हुने बताउनु भयो।

“देशभरबाट दुई सय ३० जना र गण्डकीबाट ४३ जनाको उम्मेदवारी दर्ता भएको छ,” उहाँले भन्नुभयो, “यो सूचीबाटै गण्डकीबाट १३ जना र देशभरबाट एक सय १० जनाको छनोट गरिन्छ।” 

उम्मेदवारी दर्ता गराइसकेका समानुपातिक उम्मेदवारको पुस ३ र ४ गते दाबीविरोधको समय रहेकोमा गण्डकीमा कसैविरुद्ध पनि दाबीविरोध परेन। शनिबार उम्मेदवारहरूबिच छलफल गरी अन्तिम नामावली प्रकाशन, पुस ६ देखि ११ गतेसम्म उम्मेदवारीका विभिन्न चरण पार गर्दै १२ र १३ गते प्राइमरी इलेक्सन हुने छ। 

एपबाट भएको प्राइमरी चुनावका विजेतालाई समेटेर १४ गते उम्मेदवारहरूको नामावली निर्वाचना आयोगमा बुझाइने पार्टीका गण्डकी प्रदेश सभापति राजन गौतमले जानकारी दिनुभयो।