• १४ मंसिर २०८१, शुक्रबार

स्थानीय तहका आधुनिक भवन बन्दै

blog

बाँकेको डुडुवा गाउँपालिकाको नयाँ आधुनिक भवन ।

गोविन्द शर्मा

बाँके, जेठ १७ गते । बाँकेको डुडुवा गाउँपालिकाले १३ करोड २६ लाखको लागतमा वडा नम्बर ३ को बनकट्टीमा नयाँ आधुनिक भवन निर्माण गरेको छ । अत्याधुनिक भवन निर्माण भएपछि अपाङ्गता भएका नागरिक लगायतका आम सेवाग्राहीले सहजरुपमा सेवा प्रवाह प्राप्त गर्ने गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो  

बाँकेका आठ वटा स्थानीय तहमध्ये नेपालगञ्ज उप–महानगरपालिकाको मात्रै पुरानै भवनबाट कार्य सञ्चालन भइरहेको छ । सशस्त्र द्वन्द्वकालमा क्षतिग्रस्त भवन शान्ति प्रक्रियापछि अत्याधुनिक भवन निर्माण गरिएका कारण नयाँ भवन बनाउन आवश्यक छैन । तर अन्य स्थानीय तहमा भने भवन निर्माण कार्य जारी छ । बजैनाथ गाउँपालिकाको भवन केही समय पहिले निर्माण सम्पन्न भई सेवा सञ्चालनमा आएको छ । 

यस्तै, खजुरा गाउँपालिकाको भवन निर्माण भने ढिलाइ भएको छ । साबिकको बागेश्वरी गाविस कार्यालयमा थप केही संरचना बनाएर हाल गाउँपालिकाले काम गरिरहेको छ । जानकी गाउँपालिकाले वडा नम्बर ३ इन्द्रपुरको मानपुरमा अस्थायी संरचनाबाट कार्यालय सञ्चालन गरी नयाँ भवन सोही नजिकै निर्माण गरिरहेको छ । 

कोहलपुर नगरपालिकाले अस्थायी संरचना निर्माण गरी कार्य सञ्चालन गरेको छ भने नयाँ आधुनिक भवन निर्माणको क्रममा जारी छ । 

नरैनापुर गाउँपालिका पनि साबिकको नरैनापुर गाविसको कार्यालयबाट सञ्चालन भइरहेको छ । पालिकाको नयाँ भवन निर्माणकै क्रममा छ । राप्ती–सोनारी गाउँपालिकाका अध्यक्ष तप्तवहादुर पौडेलले सिक्टा सिँचाई आयोजनाको मूल बाँध र हेडवक्रसको काम भएको समयमा निर्माण गरिएको भवनबाट गाउँपालिकाको कार्य सञ्चालन भईरहेको भन्दै स्थान अभाव रहेको बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, ‘पालिकाको सेवा प्रवाहका लागि अहिलेको भवन अपर्याप्तता भएका कारण नयाँ भवन निर्माणका लागि सर्वपक्षीय सहमतिको प्रयास गरिएको छ । 

काठमाडौंमा रहेको सिंहदरबार झैँ स्थानीय तहका भवन निर्माणमा कसको ठुलो बनाउने प्रतिस्पर्धा भएजस्तै सेवा प्रवाहमा समेत प्रतिस्पर्धा हुनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ ।