• २७ मङ्सिर २०८२, शनिबार

आँखाका बिरामीलाई निःशुल्क उपचार गर्दै आरुघाट गाउँपालिका

blog

गुणबहादुर रोका 
सुलीकोट, मङ्सिर २७ गते ।
गोरखाको आरुघाट गाउँपालिकाले आफ्नो पालिका भित्रका आँखाका बिरामीहरुलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । आरुघाट गाउँकार्यपालिकाको केहि दिन अघि बसेको बैठकले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती, विशेष गरी आँखासम्बन्धी रोगले गाउँमा बढ्दो प्रभावलाई मध्यनजर गर्दै यो महत्त्वपूर्ण कदम चाल्ने निर्णय गरेको हो ।

आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठका अनुसार आँखामा हुने सामान्य समस्यादेखि लिएर गम्भीर अवस्थासम्मका बिरामीलाई प्राथामिक जाँच, विस्तृत परीक्षण, औषधी उपचार तथा आवश्याक परे शल्यक्रियासहितको सेवा निःशुल्क उपलब्ध गराउने उहाँले बताउनुभयो ।

आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिनेबारे पालिका र गोरखा लायन्स आँखा सेवाकेन्द तथा विशेषज्ञ चिकित्सकसँग समन्वय गरी प्रत्योक वडाको टोलमा क्याम्प सञ्चालन गर्ने सम्झौता भई निःशुल्क उपचार गर्ने निर्णय शुक्रबार भएको छ ।

‘‘आरुघाटमा आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई अत्यधिक मात्रामा आँखाको समस्या देखियो,’’ गाउँपालिकाका अध्यक्ष राजु गुरुङले भन्नुभयो, ‘‘गाउँपालिकाको प्रमुख प्राथामिकता स्वास्थ्य हो त्यसैले विद्यालयका विद्यार्थीहरुमा मोतियाबिन्दु र वृद्धावृद्धामा जलबिन्दु देखिएपछि विशेष कार्यक्रमको रुपमा अघि बढाएका हौँ ।’’

‘‘अबदेखि आरुघाट गाउँपालिका बासिन्दाले गोरखा लायन्स आँखा सेवा केन्द्रबाट उपचार पाउनुहुनेछ,’’ प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले भन्नुभयो, ‘‘आरुघाट आधारभुत अस्पतालले स्कनिङ गरेर पठाएका मोतिया बिन्दुका बिरामीहरुलाई गोरखा लायन्स केन्द्रले निःशुल्क शल्य क्रिया गर्नेछ ।’’

त्यसबापत गाउँपालिकाले प्रतिव्यक्ति पाँच हजार रुपियाँ सेवा केन्द्रलाई प्रदान गर्नुपर्नेछ । पोखराको हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा सेवा केन्द्रले सो सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।

आर्थिक अभावका कारण उपचारदेखि टाढा रहँदै आएका धेरै आरुघाटवासीहरुले अब सहज रुपमा गुणस्तरिय आँखाको सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । सम्झौतामा आरुघाट गाउँपालिकाका प्रमुख राजु गुरुङ र गोरखा लायन्स आँखा सेवा केन्द्रका अध्यक्ष श्रवण जोशीले शुक्रबार हस्ताक्षार गर्नुभएको छ  ।