• १५ चैत २०८०, बिहिबार

खप्तड शैलेश्वरी म्याराथनमा त्रिभुवन आर्मीका खड्का प्रथम

blog

म्याराथनमा खेलाडिहरु । तस्बिर : डिलबहादुर सिंह

डिलबहादुर सिंह

डोटी, जेठ १७ गते । हाई अल्टिच्युड खप्तड शैलेश्वरी म्याराथन प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का प्रथम हुनुभएको छ । बुधबार आयोजना गरिएको प्रतियोगितामा खप्तड राष्ट्रिय निकुञ्जभित्र पर्ने खप्तडको ३ हजार ३ सय फिट अग्लो उचाइबाट डोटी सिलगढीस्थित टुँडिखेलसम्म ४२ किलोमिटर दूरीलाई दुई घण्टा ३७ मिनेट ४६ सेकेन्डमा पार गर्दै खड्का प्रथम हुनुभएको हो । 

सिलगढी खप्तड पदमार्गमा भएको म्याराथन प्रतियोगितामा प्रथम भएका खड्काले नगद एक लाख २५ हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकै नरेन्द्रसिंह रावत दोस्रो हुनुभयो । रावतले निर्धारित ४२ किलोमिटरको दूरी २ घण्टा ३९ मिनेट ३४ सेकेन्डमा पार गर्नुभयो । 

प्रतियोगितामा दोस्रो हुनुभएका रावतले ८० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।  प्रतियोगितामा जुम्लाका कर्णाली स्पोर्टस् क्लबका वीरेन्द्र पाण्डेय तेस्रो हुनुभयो । पाण्डेयले २ घण्टा ४२ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै ५० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।   

डोटी उद्योग वाणिज्य सङ्घ र सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना तथा नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा आयोजित खप्तड शैलेश्वरी म्याराथनमा स्वदेशी तथा बिदेसी गरी ४८ जना खेलाडीको सहभागिता रहेको थियो ।

यस क्षेत्रकै प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र खप्तडको प्रचार प्रसार गर्ने उद्देश्यले म्याराथनको आयोजना गरिएको बताइएको छ । गत वर्ष पनि खप्तडमा लाग्ने गङ्गा दशहरा मेलाको अवसर पारेर म्याराथन प्रतियोगिताको आयोजना गरिएको थियो ।

महिलातर्फ पूर्णलक्ष्मी प्रथम

यसैगरी महिलातर्फको हाफ म्याराथनमा त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने प्रथम हुनुभएको छ  । हाफ म्याराथनका लागि निर्धारित दूरी २१.५ किलोमिटर एक घण्टा १४ मिनेट १८ सेकेन्डमा पार गर्दै न्यौपाने प्रथम हुनुभएको हो । हाफ म्याराथन प्रतियोगितामा नेपाल पुलिस क्लबकी रेखा विष्टले निर्धारित दूरी एक घण्टा २२ मिनेट १० सेकेन्डमा पार गर्दै दोस्रो र निर्धारित दूरी एक घण्टा २६ मिनेट ८ सेकेन्डमा पार गर्दै भैरवप्रसाद गणकी सुन्तला कडायत तेस्रो हुनुभयो । हाफ म्याराथनमा प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ ।