धनगढी समाचारदाता
धनगढी, चैत १० गते । पछाडितिर ‘सादा जीवन उच्च विचार’ लेखिएको ना.६ ख ७७८ नम्बरको ट्रकले एउटै दिशामा गइरहेको गोरुगाडालाई पछाडिबाट ठक्कर दियो । कैलालीको कैलारी गाउँपालिका–५, बैजपुरनजिक बुधबार राति हुलाकी राजमार्गमा भएको यो दुर्घटनामा बयलगाडामा सवार ज्येष्ठ दम्पतीको मात्रै ज्यान गएन गाडा तान्ने गोरु पनि मर्यो ।
धनगढी उपमहानगरपालिका–३ का ३३ वर्षीय रुबेन थापामगरले चलाएको ट्रकले दिएको ठक्करबाट कैलारी–५, पवेराका ६० वर्षीय कलेसु चौधरी र उहाँकी ७० वर्षीय श्रीमती सीतरानीले अकालमै ज्यान गुमाउनु पर्यो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले भन्नुभयो, “ठक्करबाट श्रीमान्श्रीमती दुवैको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो । उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याए पनि उहाँहरूलाई बचाउन सकिएन ।”
दुर्घटना भएको क्षेत्रमा सडकबत्ती छैन । चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । गत फागुन ५ गते पनि इलाका प्रहरी कार्यालय हसुलियानजिकै हुलाकी राजमार्गमा कैलारी–७ का वडाध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीको ठक्करले महिलाको ज्यान गयो । नियन्त्रण गुमाएको भे.१ च ४२७५ नम्बरको महेन्द्रा कोरेक्स गाडीले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलचालक कैलारी–५ की ३० वर्षीय इप्सा चौधरीको घटनास्थलमै ज्यान गएको थियो ।
हुलाकी राजमार्गमा पछिल्लो एक महिनाभित्र घटेका यी दुई दुर्घटना प्रतिनिधिमूलक मात्रै हुन् तर यो राजमार्गमा सडक दुर्घटना बढ्दो छ, थुप्रैले ज्यान गुमाइरहेका छन् । हुलाकी राजमार्ग पछिल्लो समय स्तरोन्नति हुँदै जाँदा दुर्घटना पनि बढिरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को हालसम्म कैलालीमा २९५ सवारी दुर्घटना भएका छन् । जसमा ६५ जना व्यक्तिको मृत्यु भएको छ भने ४६६ जना घाइते भएका छन् । धेरै जसो दुर्घटना हुलाकी राजमार्गमा भइरहेको जनाइएको छ ।