• १० चैत २०८२, मङ्गलबार

गाउँ रित्तिँदै, सहरतर्फ बसाइँसराइको लहर

blog

तम्घास समाचारदाता

तम्घास (गुल्मी), चैत १० गते । गुल्मीमा गाउँबाट सहरतर्फ बसाइँसराइ गर्ने क्म रोकिएको छैन, बरु पछिल्ला वर्षमा अझ तीव्र बन्दै गएको तथ्याङ्कले देखाएको छ । ग्रामीण क्षेत्रमा सडक पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवामा सुधार हुँदै गए पनि स्थायी बसोबासका लागि भने नागरिकको रोजाइ सहर नै बन्ने गरेको देखिन्छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिकामा मात्र पछिल्लो २० महिनाको अवधिमा ३४४ घरपरिवारका एक हजार २९४ जना गाउँ छाडेर अन्यत्र बसाइँ सरेका छन् । गाउँपालिकाको पञ्जीकरण शाखाका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म १५६ परिवारका ५४६ जना र त्यसयता हालसम्म १८८ परिवारका ७४८ जना बसाइँ सरेका हुन् ।

वडागत विवरण हेर्दा वडा नम्बर २ अर्वेनी र वडा नम्बर ६ खडगकोटबाट सबैभन्दा बढी बसाइँसराइ भएको देखिन्छ । अर्वेनीबाट ७० घरपरिवारका २८८ जना र खडगकोटबाट ७७ घरपरिवारका २८० जना गाउँ छाडेका छन् । त्यस्तै वडा नम्बर १ बाट ३९ परिवारका १६३ जना, वडा नम्बर ३ बाट २१ परिवारका ९२ जना, वडा नम्बर ४ बाट ३० परिवारका ११७ जना, वडा नम्बर ५ बाट ४८ परिवारका १५२ जना र वडा नम्बर ७ बाट ५९ परिवारका २०२ जना बसाइँ सरेका छन् ।

यता सोही अवधिमा गाउँपालिकाभित्र अन्य स्थानबाट बसाइँ सरेर आउनेको सङ्ख्या भने निकै न्यून देखिएको छ । कुल २१ घरपरिवारका ७९ जना मात्र पालिकामा भित्रिएका छन् । यसबाहेक बसाइँसराइको औपचारिक दर्ता नगरी सहरमा कोठा भाडामा बस्ने तथा बालबालिकाको शिक्षाका लागि अस्थायी रूपमा सहर सर्नेको सङ्ख्या अझ ठुलो रहेको स्थानीय तहको अनुमान छ ।

गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले कृषि तथा पशुपालनलाई व्यावसायिक बनाएर बसाइँसराइ न्यूनीकरण गर्ने प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उत्पादनमा आधारित अनुदान, सुन्तला खेती विस्तारका लागि खाडल खन्न सहयोग तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति लिएका छौँ ।”

सामाजिक क्षेत्रमा समेत विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । गाउँपालिकामा छोरी जन्मिएपछि बैङ्क खाता खोल्दै १० हजार रुपियाँ जम्मा गरिदिने नीति लागु गरिएको छ । छोरीले नागरिकता प्राप्त गरेपछि मात्र सो रकम वितरण गरिन्छ । यस्तै ‘उपाध्यक्षसँग सुत्केरी कार्यक्रम’ अन्तर्गत सुत्केरी भेटघाटका क्रममा पोषण सहयोग प्रदान गर्ने अभ्यास पनि सुरु गरिएको छ ।

यद्यपि स्थानीय तहले विभिन्न प्रोत्साहनमूलक कार्यक्रम ल्याए पनि रोजगारीको अभाव, उच्च शिक्षाको खोजी, स्वास्थ्य सेवाको पहुँच र आधुनिक जीवनशैलीको आकर्षणका कारण गाउँबाट सहरतर्फको बसाइँसराइलाई रोक्न चुनौतीपूर्ण बन्दै गएको देखिन्छ । ग्रामीण विकासका प्रयासलाई अझ प्रभावकारी बनाउँदै स्थानीयस्तरमै रोजगारी र अवसर सिर्जना गर्न सके मात्र यो प्रवृत्ति नियन्त्रणमा आउन सक्ने देखिन्छ ।