चितवन, जेठ १६ गते । कुनै बेला घनाजङ्गल, न्यून मानव बस्तीबीच औँलोको महामारी हुने चितवन पछिल्लो समय ‘हेल्थ सिटी’ का रूपमा विकास भएको छ ।
पहाडी क्षेत्रबाट बाध्यताले झर्ने चितवन अहिले उपचारका लागि आउने थलो रूपमा विकास हुँदै गएको छ । वि.सं. २०१४ मा डिस्पेन्सरीका रूपमा हालको भरतपुर अस्पताल भएको ठाउँमा स्वास्थ्य संस्था स्थापना भएर सुरु भएपछि पछिल्लो १५ वर्षमा आमूल परिवर्तन भएको छ ।
यहाँ क्यान्सर, आँखा, अङ्ग प्रत्यारोपणसहितका अति विशिष्टीकृत सेवासहित ६ हजार हाराहारी क्षमता शय्याका अस्पताल सञ्चालनमा छन् । छ सय शय्याको सरकारी भरतपुर अस्पताल, दुई ठुला मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा अस्पताल र २३ वटा निजी अस्पतालले सेवा दिइरहेका छन् ।
देशैभर र भारतीय सीमा क्षेत्रबाट समेत यहाँ उपचारका लागि बिरामी आउने गर्दछन् । पछिल्लो समय थपिएका सेवा सुविधाका कारण नेपालमा हुने सबै खालका उपचार यहाँ हुने गरेका छन् । छिमेकी मुलुक भारतका दिल्ली, मुम्बई जस्ता सहरमा जाने बिरामीसमेत पछिल्ला वर्षहरूमा यही उपचार गर्न थालेको चिकित्सकहरू बताउँछन् ।
निजी र सरकारी अस्पतालहरूमा बिरामीको चाप बढ्दो छ । जिल्लाको भरतपुर क्षेत्रमा अधिकांश स्वास्थ्य संस्था छन् । यहाँ रहेको सरकारी भरतपुर अस्पतालमा सधैँ बिरामी भरिभराउ हुन्छन् भने वरिपरि रहेका दुई मेडिकल कलेज र निजी अस्पतालहरूमा पनि बिरामीको चाप उत्तिकै छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा छिमेकी देश भारत र बङ्गलादेशबाट समेत बिरामी आउने गरेका छन् । त्यहाँको चापलाई निजी स्तरमा रहेको चितवन मेडिकल कलेजको सिएमसी क्यान्सर इन्स्टिच्युटले कम गर्ने गरेको छ ।
आँखा उपचारमा पनि भरतपुर आँखा अस्पताल नेपालकै अब्बल बनेको छ । देशका विभिन्न क्षेत्रसँगै भारतीय भूभागबाट समेत यहाँ आँखा उपचारका लागि बिरामी आउने गरेका छन् । बढ्दो बिरामीको चापसँगै निजी क्षेत्रले समेत अत्याधुनिक उपकरणहरू भित्र्याएका छन् । कतिपय उपकरण विश्वका धनी मुलुकमा प्रयोग हुनेभन्दा कम छैनन् । विशिष्टीकृत अध्ययन हासिल गरेका धेरै चिकित्सक अहिले जिल्लामा कार्यरत छन् ।
चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपाने विगतको तुलनामा पछिल्ला वर्षहरूमा स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मारेको बताउनुहुन्छ । आम नागरिक शिक्षितसँगै संसारका बारेमा बुझ्न थालेपछि स्वास्थ्य क्षेत्रमा पनि उनीहरूको चासो बढ्दै गएको भन्दै उहाँले आवश्यकताले पनि स्वास्थ्य क्षेत्रमा थप सुधार ल्याउन प्रेरित गरेको बताउनुभयो । बिरामीहरू बुझ्ने भएसँगै उपचार गर्ने चिकित्सक स्वास्थ्यकर्मीहरुले अध्ययन गर्न थालेको र उपचार राम्रो बन्दै गएको उहाँले बताउनुभयो ।
पछिल्ला वर्षहरूमा सिटिस्क्यान, एमआरआई जस्ता उपकरणहरू भित्रिएसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको उपचार यहाँ हुन थालेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेपालमा हुने सबै खालका उपचार चितवनमा सम्भव छ ।”
नेपाल नेत्रज्योति सङ्घ चितवनका पूर्वसभापति चिजकुमार मास्के गएको १५ वर्षमा आँखा उपचारका क्षेत्रमा ठुलो फड्को मारेको बताउनुहुन्छ । चितवन र छिमेकी जिल्लासँगै भारतका समेत बिरामी आँखा उपचारका लागि भरतपुर आँखा अस्पताल आउने गरेको उहाँको भनाइ छ । नेपालमा हुने सबै खालका आँखा उपचार गर्न सक्ने गरी आवश्यक जनशक्ति र उपकरण यही समयमा यहाँ भित्रिएको मास्केको भनाइ छ । उहाँले भन्नुभयो, “देशभित्र हुने सबै खालका उपचार गर्न हामी सक्षम छौँ ।”
भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल गणतन्त्रपछि जिल्लामा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भएको बताउनुहुन्छ । भरतपुरमा रहेको भरतपुर अस्पताललाई सङ्घीय अस्पताल बनाइएको, शिक्षक अस्पताल भरतपुरमै बन्ने तयारीमा रहेको, एक सय शय्याको आयुर्वेदिक अस्पताल यही बन्न लागेको, महानगरपालिका एक वडा एक स्वास्थ्य केन्द्र नीति अघि बढाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “राजधानीपछिको स्वास्थ्य उपचारको केन्द्र भरतपुर बनेको छ ।”
सरकार र निजी क्षेत्रले सँगसँगै यहाँको स्वास्थ्य क्षेत्रको विकासमा अघि बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “देशभित्र हुने उपचारका लागि भरतपुर छोडेर अन्यत्र जानु पर्दैन ।” चितवनसहित छिमेकका धेरै जिल्ला र भारतीय क्षेत्रबाट समेत उपचारका लागि बिरामी आउने गरेको दाहालले बताउनुभयो । यहाँको सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन महानगर लागिपरेको उहाँले जानकारी दिनुभयो ।
निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारी १५ वर्ष अघिसम्म डोरीले दाँत फुकाल्ने गरेको चितवनमा अहिले लेजर प्रविधि प्रयोग भएको उदाहरण दिनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रो जिल्लामा अमेरिका जस्ता विकसित मुलुकहरूमा प्रयोग हुने प्रविधि भित्रिएका छन् ।”
बाल सघन उपचार कक्ष र सघन उपचार कक्ष नहुँदा धेरै नवजात शिशु र अन्य बिरामीहरूले ज्यान गुमाउनु परेको विगत स्मरण गर्दै उहाँले अहिले घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने सेवासमेत विकास भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले अनलाइनमार्फत स्वास्थ्य सेवा लिन सक्ने व्यवस्था छ । घरमै स्वास्थ्यकर्मी पुगेर सेवा दिन थाल्नुभएको छ ।”
जिल्लामा स्वास्थ्यमा भएको लगानीमध्ये ८० प्रतिशत निजी क्षेत्रको भएको भन्दै उहाँले स्वास्थ्यमा देशमै उत्कृष्ट सेवा दिन सकिएको दाबी गर्नुभयो । निजी क्षेत्रका मात्रै मेडिकल कलेजबाहेक जिल्लाभरमा २३ वटा अस्पताल भएको उहाँले जानकारी दिनुभयो । विगतमा दुर्घटनाका घाइतेहरू उपचार नपाएर ज्यान गुमाउने परेको भन्दै उहाँले अहिले छिमेकी जिल्लाबाट समेत घाइते यहाँ ल्याउन लागिएको बताउनुभयो ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका अध्यक्ष डा विजयराज न्यौपानेले गणतन्त्रपछि स्वास्थ्य क्षेत्रमा गुणात्मक परिवर्तन आएको बताउनुभयो । एक सय शय्याको क्यान्सर अस्पताल पाँच सय शय्याको पुगेको छ । नेपालभर मात्र नभएर छिमेकी देशहरूबाट समेत बिरामी आउन थालेका छन् । अस्पतालले विशिष्टीकृत सेवा दिन सुरु गरेको छ ।
निजी क्षेत्रले समेत क्यान्सरको उपचार थालेको बताउँदै उहाँले देशकै उपचारको केन्द्र बन्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो जिल्लामा झन्डै एक हजार विशेषज्ञ चिकित्सक छन् ।”
जिल्लामा गुणस्तरीय उपचारमा जोड दिन थालिएको छ । अत्याधुनिक उपकरण भित्रिएसँगै परीक्षण विश्वसनीय बनेको र उपचार सहज हुँदै गएको न्यौपाने बताउनुहुन्छ । कुनै समय चिकित्सक पाउन मुस्किल पर्ने यस जिल्लामा अहिले विशिष्टीकृत सेवा सुरु भएको बताउनुभयो ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले गणतन्त्रपछि नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा गुणात्मक प्रगति भएको बताउनुभयो । भरतपुर अस्पताल एक सय ५० शय्याबाट ६ सय शय्यामा पुगेको भन्दै उहाँले भौतिक निर्माणमा उल्लेख्य प्रगति भएको बताउनुभयो । अस्पताल सङ्घीय बन्न सफल भएको छ । यससँगै विशिष्टीकृत सेवा दिन सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
सिटिस्क्यान जस्ता उपकरणहरू अस्पतालमा भित्रिएको र छिट्टै एमआरआईसमेत आउँदै गरेको उहाँको भनाइ छ । अत्याधुनिक शल्यक्रिया कक्ष निर्माण गरिएको छ । राजधानी बाहिरको उत्कृष्ट सरकारी अस्पताल बन्न सकेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आम नागरिकमा सरकारी अस्पतालमा उपचार गराउनु पर्छ भन्ने भावनाको विकास गराउने गरी काम भएको छ ।” जनशक्ति थपिन नसक्दा चाप थेग्न भने कठिन भएको पौडेल बताउनुहुन्छ ।
गणतन्त्रपछि देशभरकै स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अस्पताल बन्ने क्रम बढेको छ भने चिकित्सकहरू गाउँ–गाउँमा पुग्न थालेका छन् यसबाट स्वास्थ्य क्षेत्रमा ठुलो सफलता मिलेको छ ।” पहिला पहिला जिल्लामा एउटा अस्पताल र एउटा डाक्टर हुन्थ्यो उहाँले थप्नुभयो, “अहिले त्यो अवस्था छैन । नेपालमा गणतन्त्र आइसकेपछि बनाएका नीतिहरू दुर्गममा गएर पढेका डाक्टरहरूले छिटो बढुवा हुने भएकाले सबैतिर चिकित्सक पुगेका छन् ।”
स्वास्थ्य शिक्षाका हिसाबले पनि चितवन महत्त्वपूर्ण स्थान हो । यहाँका दुई मेडिकल कलेजका अतिरिक्त प्राविधिक शिक्षा तथा तालिम परिषद्अन्तर्गत स्कुल अफ हेल्थ साइन र अन्य निजी स्वास्थ्य संस्थाहरूले पनि नर्सिङ लगायतका स्वास्थ्य शिक्षाको अध्ययन अध्यापन गराउँदै आएका छन् ।
भूकम्प र कोरोना जस्ता ठुला विपत्तिहरूमा चितवनको स्वास्थ्य क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको छ । विसं २०७२ को भूकम्पमा ठुलो सङ्ख्यामा घाइते भएकाहरूलाई पहाडी जिल्लाहरूबाट समेत यहाँ ल्याएर उपचार गरिएको थियो । राजधानी काठमाडौं लगायतका पहाडी जिल्लाका अस्पतालहरूले थेग्न नसकेको अवस्थामा यहाँका अस्पतालहरूले उपचारको व्यवस्था गरेका थिए । जसले गर्दा विपत्तिको समयमा सहज भएको थियो ।
कोरोना सङ्क्रमणको समयमा पनि चितवनको स्वास्थ्य क्षेत्रले निकै ठुलो योगदान दिएको छ । जिल्ला र छिमेकी जिल्लाका मात्रै होइन, सुदूरपश्चिमदेखि पूर्व र पहाडी क्षेत्रका बिरामी यहाँ आएर सहज उपचार पाएका छन् ।
एम्बुलेन्स र हेलिकोप्टरबाट समेत सङ्क्रमितलाई यहाँ उपचारका लागि ल्याइएको थियो । कोरोना सङ्क्रमण उच्च दरमा पुगेको समयमा राजधानी काठमाडौं लगायतका ठुला सहरमा अक्सिजन र शय्या नपाएर बिरामी छटपटाइरहेको समयमा यहाँ भने कुनै पनि दिन अक्सिजनको अभाव भएन भने शय्या नपाएर बिरामीले भर्ना हुन नपाउने अवस्था आएन । यस हिसाबले पनि यहाँको स्वास्थ्य क्षेत्रले राष्ट्रलाई आइपर्ने स्वास्थ्य सङ्कटलाई थेग्दै आएको छ । रासस