• १२ साउन २०८१, शनिबार

सार्वजनिक संस्थानको नाफा खस्कँदै

blog

काठमाडौँ, जेठ १५ गते ।  सरकारको लगानी अनुपातमा सार्वजनिक संस्थाहरूको वित्तीय लाभ भने खस्कँदै गएको पाइएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षाले आर्थिक वर्ष २०७८/७९ मा यस्ता संस्थानको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९४.१४ प्रतिशतले खस्किएको छ । 

सञ्चालनमा रहेका ३७ मध्ये २५ संस्थानको नाफाभन्दा नोक्सानीमा रहेका १७ संस्थानको नोक्सानीको दर उच्च रहेको समीक्षाले देखाएको छ । यसकै कारण सञ्चित नाफा ०.७४ प्रतिशतले घटेर एक खर्ब १२ अर्ब ७२ करोड रुपियाँ छ तर सञ्चित नोक्सानी गत वर्ष १७६.८ प्रतिशतले बढेर ६० अर्ब ३१ करोड कायम भएको औँल्याइएको छ । यस अनुसार समग्रमा सबै संस्थानको नाफा ४२.९ प्रतिशतले कमी आएर ५२ अर्ब ४० करोड रुपियाँमा सीमित भएको हो ।

नाफामा रहेका २५ संस्थानको खुद नाफा ३३.६५ प्रतिशतले बढेको समयमा नोक्सानीमा सञ्चालित १७ संस्थानको खुद नोक्सानी ६१०.९६ प्रतिशतले बढेको अवस्था प्रतिवेदनले देखाएको छ । सार्वजनिक संस्थानमा सरकारले ८.९७ प्रतिशतले लगानी बढाएर छ खर्ब १८ अर्ब पु-याइसकेको छ तर सेयरधनी कोष भने गत वर्षको तुलनामा ०.७४ प्रतिशत मात्रै बढेर सात खर्ब ६१ अर्ब पुगेको छ ।

आर्थिक वर्ष २०७८/७९ सम्म ४४ संस्थान अस्तित्वमा रहेकामा २१ मा पूर्ण स्वामित्व र २३ मा संयुक्त स्वामित्व छ ।

संस्थानहरूले आयकरमा गर्ने योगदान पनि समीक्षा वर्षमा खस्किएको देखिएको छ । आव २०७७/७८ को तुलनामा २.९६ प्रतिशत कम भएर १३ अर्ब ३८ करोड रुपियाँ भुक्तान गरेको देखिएको छ । कुल आयकरमा योगदान नै तीन आर्थिक वर्षमा खस्कँदै गएर ५.५९ प्रतिशतमा सीमित भएको प्रतिवेदनले देखाएको छ ।

सार्वजनिक संस्थानमा सरकारको लगानी घटाउँदै लैजानुपर्ने भनिँदै आए पनि सरकारले वित्तीय लगानी भने बढाउँदै लग्नु परेको देखिएको छ । खास गरी जलविद्युत् उत्पादन तथा प्रसारण लाइन, विमानस्थलजस्ता पूर्वाधार आयोजना, दूरसञ्चार, खानेपानी आयोजना जस्ता पूर्वाधार विस्तारमा ऋण तथा सेयर लगानी बढाउँदै जानुपर्ने अवस्था विद्यमान रहेको औँल्याइएको छ । 

नाफा कमाउनेमा नेपाल विद्युत् प्राधिकरण अग्रस्थानमा 

सो आर्थिक वर्षमा उच्च नाफा गर्नेमा नेपाल विद्युत् प्राधिकरणले १३ अर्ब ३७ करोड ४७ लाख रुपियाँसहित अग्रस्थानमा रहेको छ । दोस्रोमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आठ अर्ब ४७ करोड, राष्ट्रिय वाणिज्य बैङ्कले चार अर्ब २९ करोड, नागरिक लगानी कोषले तीन अर्ब १० करोड र निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन अर्ब रुपियाँ खुद नाफा आर्जन गरेको देखिएको छ ।

खुद नोक्सानी बेहोर्नेमा नेपाल आयल निगम अग्रस्थानमा ३८ अर्ब १७ करोड, नेपाल वायु सेवा निगममा एक अर्ब ७० करोड रुपियाँ नोक्सानीमा रहेको औँल्याइएको छ ।

रोजगारीमा सामान्य वृद्धि

सार्वजनिक संस्थानले प्रदान गर्ने रोजगारीको अवसर भने खासै बढ्दो देखिएको छैन । औद्योगिक क्षेत्रका संस्थानले अपेक्षाकृत उत्पादन तथा व्यवसाय बढाउन नसक्दा पाँच वर्षको अन्तरालमा कुल संस्थानमा कार्यरत जनशक्तिको सङ्ख्या एक हजार २१४ जना मात्र थप भएको छ । पाँच वर्षमा औद्योगिक, व्यापारिक जनोपयोगी क्षेत्रका सार्वजनिक संस्थानमा कर्मचारी सङ्ख्या घट्दै गएको पाइएको छ । रोजगारीको अवसर सवैभन्दा वित्तीय क्षेत्रले सिर्जना गरेको छ भने त्यसपछि सामाजिक क्षेत्रमा पनि रोजगारी सिर्जना सकारात्मक देखिएको छ ।