• ८ वैशाख २०८१, शनिबार

जनयुद्धको प्रतिफल गणतन्त्र

blog

काठमाडौं, जेठ १४ गते। नेकपा (माओवादी केन्द्र)उपाध्यक्षका पम्फा भुसालले नेपालमा गणतन्त्रको स्थापना एउटा युग परिवर्तनको आयाम रहेको बताउनुभएको छ। नेपालमा गणतन्त्र स्थापना भएको १५ पुगेर १६ वर्ष लागेको सन्दर्भमा निरंकुशता, एकात्मकताको अन्त्य, अधिकार र अवसरबाट वञ्चित वर्ग समुदायको अवसरको प्राप्ति एवम् वंशवादमा आधारित व्यवस्थाबाट जनताले जनताका लागि प्रतिनिधि निर्वाचित गर्ने लोकतान्त्रिक प्रणाली भएकोले यो एक युग परिवर्तनको परिघटना भएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “आफ्नो शासक आफैंले निर्वाचित गर्ने एउटा लोकतान्त्रिक प्रणाली पनि हो। त्यसैले नेपालमा गणतन्त्रको स्थापना एउटा युग परिवर्तनको आयाम हो। एउटा परिघटना, एउटा इतिहास, एउटा क्रान्ति हो।”

गणतन्त्र आजको दिनसम्म आइपुग्दा नागरिकका आधारभूत आवश्यकता वा मौलिक हकका सन्दर्भमा उहाँले जनताका जीवनसँग सम्बन्धित अधिकार संविधानमा सुनिश्चित गरिएको र यो क्रमशः कार्यान्वयनमा गएको बताउनुभयो। “यसको कार्यान्वयन आर्थिक विकास समृद्धिसँग सम्बन्धित पनि हो। त्यसैले राजनीतिक अधिकार प्राप्तिको जुन एउटा उपलब्धि हो त्यसैको सापेक्षतामा विकास अझै भएको छैन। हिजोको तुलनामा भएको छ तर, संविधानले मौलिक अधिकारमा राखे अनुरुपको जति प्राप्त गर्ने हो। त्यो चाहिँ अझ पुगेको छैन”, उहाँले भन्नुभयो।

निरंकुशताको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने हिजोको राजनीतिक उद्देश्य भन्नुहुँदै उहाँले अबका दिनमा आर्थिक सामाजिक क्रान्तिको एजेण्डामा देश अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “समृद्धि, न्यायोचित वितरण, सुशासन जस्ता विषय अबका एजेण्डा हुन् जसले देशको आर्थिक सामाजिक विकास गर्छ।”


जनयुद्धको प्रतिफल

गणतन्त्र स्थापनामा पार्टीको भूमिकाको सन्दर्भमा उहाँले तत्कालीन समयमा यथास्थिति व्यवस्थाभित्र अलि सुधारात्मक खालका आन्दोलन हुने गरेको बताउनुभयो माओवादी आन्दोलनको एजेण्डा कालान्तरमा राष्ट्रकै एजेण्डा बन्न सफल भएको दाबी गर्नुभयो। “माओवादीको एजेण्डामा केन्द्रित रहेर भएको दश वर्षको जनयुद्धको प्रतिफल हो। यद्दपि, २००७ सालमा संविधान सभाको कुरा उठ्यो त्यो हरायो। त्यसपछि पटक–पटकका आन्दोलन उही यथास्थिती व्यवस्थाभित्र अलि सुधारात्मक खालका थिए”, उहाँले भन्नुभयो। 

स्मरणीय परिघटना

आन्दोलनको एक यात्री आफू पनि भएको खुसी प्रकट गर्नुहुँदै उहाँले गणतन्त्र घोषणाको क्षण स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, “म सम्झिन्छु त्यो बेला अन्तरिम सरकारमा पनि थिएँ। बिहानै ७ बजेदेखि बालुवाटारमा क्याबिनेट बैठक बस्यो तर दिनभरी रस्साकस्सी भएर जनताले उत्सवको रुपमा मनाउने तयारी गरे। तर दिनभर सम्भव नभएपछि राति झण्डै १२ बज्न केही मिनेट अगाडि हामी गणतन्त्रको घोषणा गर्न सफल भएका हौं। त्यसैले आफ्नो जीवनको एउटा महत्वपूर्ण गौरवको दिन हो। हिजो कसैले नपत्याउने बेलामा पनि गणतन्त्र सम्भव छ भनेर हामी आन्दोलनमा भाग लिएका हौं।” उहाँले २०६५ जेठ १५ लाई जीवनको सबैभन्दा स्मरणीय परिघटनाको रुपमा सम्झने गरेको बताउनुभयो। 

उहाँले विस्तृत शान्ति सम्झौताका धेरै विषय कार्यान्वयन भएको बताउनुभयो। तर, सत्य निरुपण मेलमिलाप आयोगको काम भने बाँकी रहेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “घाइते, अपांगका समस्या आंशिक ढंगले हल भए, आंशिक ढंगले बाँकी छन्। परिवर्तनको आन्दोलनमा जीवन जोखिममा राखेर यो परिवर्तनलाई सम्भव बनाउने, आफू चाहिँ घाइते, अपांग बन्ने ती योद्धाप्रति,नेपाली आमाका छोराछोरीप्रति सम्मान गरेर मात्रै गणतन्त्रको सम्मान हुन्छ। संघीय लोकतन्त्रको सम्मान हुन्छ। त्यसैले छिटोभन्दा छिटो कुनै बाहना या कुनै बाधा बिना सत्य निरुपण सम्बन्धी कानुन परिमार्जन गर्नु छ, संसदमा प्रवेश भएको छ। समितिमा उपसमिति बनेर छलफल हुँदैछ। एकदम छोटो समयमा चाहिँ त्यसलाई  निर्क्यौल गरेर जानुपर्छ।”

उहाँले महिलाको नेतृत्व आन्दोलनको सापेक्षतामा हुने हुँदा हिजो नभएका धेरै चीज आज भए पनि यो अपुग रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले हामी ३३ प्रतिशत गर्यौं। यो त ठुलो कुरा छ।  महिलाको जनसंख्याको अनुपातमा प्रतनिधित्वमा, नेतृत्वमा ती अधिकारको कार्यान्वयनमा आर्थिक, सामाजिक विकासको साझा हिस्सेदार बन्ने सन्दर्भमा चाहिँ शतप्रतिशत महिलाले आफ्नो प्रतिनिधित्व र नेतृत्व विकास गर्ने अवसर चाहिँ सबैले पाउनुपर्छ। रचनात्मक ढंगले चाहिँ अहिले पाएका अधिकारको कार्यान्वयन गर्ने, अपुग १७ प्रतिशत अबको आन्दोलनको एजेण्डा बनाएर अनि त्यसमा जनमत सिर्जना गर्ने, अनि भएन दबाब दिने, र पर्यो‍ भने आन्दोलनमा गएर पनि अधिकार प्राप्ति गर्नुपर्छ, यो राजनीतिक अधिकारको कुरा हो।” माओवादी उपाध्यक्षका पूर्व मन्त्री पम्फा भुसालसँगको कुराकानीका आधारमा मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो सामग्री

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।