• १३ वैशाख २०८१, बिहिबार

महँगोमा बिक्दै जलगैँडाको दाँत

blog

हात्तीको हाड तस्करीमा प्रतिबन्ध थपिएसँगै लोप हुने जोखिममा रहेको जलगैँडाको दाँतको तस्करी बढ्दो क्रममा रहेको छ। बेलायतले  हात्तीको हाड कारोबारमा प्रतिबन्ध लगाएपछि जलगैँडाको दाँत र हाडको व्यापारमा वृद्धि भएको छ। जलगैँडाका दाँत अनि दाह्रा सजावटका सामग्रीमा प्रयोग गरिन्छ।

कन्भेन्सन अफ इन्टरनेसनल ट्रेड इन इन्डेन्जर्ड स्पेसिज (सीआईटीईएस)अन्तर्गत जलगैँडाका अङ्ग किनबेच गर्न सकिन्छ तर अन्तर्राष्ट्रिय कारोबारका लागि भने निर्यात गर्ने अनुमति आवश्यक पर्छ। सन् १९७५ देखि सीआईटीइएसले जलगैँडाको तथ्याङ्क राख्न थालेपछि सन् २०१७ सम्म जलगैँडाका सात लाख ७० हजार किलो दाँत कानुनी रूपमै कारोबार भएको छ।

युरोपेली आयोगको प्रतिवेदनका अनुसार सन् २०२० मा युरोपेली सङ्घअन्तर्गतका राष्ट्रमा सबैभन्दा बढी बरामद भएको स्तनधारी प्राणीका अङ्गमा जलगैँडाको दाँत पर्छ। 

इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचर (आईयूसीएन)ले सन् २०१६ मा गरेको अनुमानका अनुसार ‘कमन हिपो’को सङ्ख्या एक लाख १५ हजारदेखि एक लाख ३० हजारको बीचमा छ। जुन सन् १९९४ यता ३० प्रतिशतले कम भएको छ। चोरीसिकार अनि बासस्थानको कमीका कारण उक्त सङ्ख्या निरन्तर रूपमा घटिरहेको पश्चिम अनि मध्यअफ्रिकाका १० राष्ट्रले एक प्रतिवेदनमा जनाएका छन्।

जलगैँडाको जन्मदर कम हुन्छ। उसले वर्षमा एउटा मात्रै सन्तान जन्माउँछ र यस कारण सङ्ख्यामा कमी हुनुको दीर्घकालीन प्रभाव पर्न सक्छ। सबै जलगैँडाको मूल बासस्थान अफ्रिका हो। यसका दुईवटा प्रजाति छन् : कमन हिपो र पिग्मी हिपो।  सन् २०१६ मा कमन हिपोको सङ्ख्या एक लाख १५ हजारदेखि एक लाख ३० हजार गणना गरिएको थियो अनि पिग्मी हिपोको सङ्ख्या दुई हजारदेखि तीन हजार छ।