• १८ कात्तिक २०८२, मङ्गलबार

नेपालको गौरव हो वैद्यनाथ क्षेत्र

blog

पुराणहरूमा वैद्यनाथधामको उत्पत्ति र महत्व कस्तो छ ?, वैद्यनाथको वास्तविक क्षेत्र कुन हो ? यी कुराको गाँठो स्कन्द महापुराण अन्तर्गत मानसखण्डले खोल्दिएको छ ।

नेपालका पवित्र चारधाम वराह क्षेत्र, पाशुपत क्षेत्र, मुक्ति क्षेत्र र वैद्यनाथ क्षेत्रमध्ये एक महत्वपूर्ण धाम हो वैद्यनाथ क्षेत्र । धार्मिक तथा पौराणिक कथन अनुसार वृद्धगङ्गालगायत पञ्चनदीद्वारा सिञ्चित वैद्यनाथ क्षेत्र सशवले देवराजधानी बनाई जीवन र जगत्को कल्याणका लागि देव नायकका रूपमा बास गरेकाले अविस्मरणीय  छ ।

विभिन्न समयमा अविरल वर्षाबाट वृद्धगङ्गामा आएको बाढीको प्रलयकारी प्रकोपले वर, पिपल, ढाक (पलाँस) लगायतका वृक्षले पल्लवित तथा सुशोभित झारखण्ड वैद्यनाथ क्षेत्र चोइटिँदै उराठ र कहालीलाग्दो ढुङ्गेबगरमा परिणत हुन गयो । वृद्धगङ्गाको वर्षाकालीन उर्लिंदो प्रलयकारी भेलले पौराणिक कलाशैली र महत्व बोकेको वैद्यनाथ क्षेत्रको सबै प्राकृतिक, धार्मिक र ऐतिहासिक संरचना समुल नष्ट भए पनि जनमानसको आस्था र विश्वासका कारण ढुङ्गा र माटोको गारो लगाई त्यहाँ निर्माण गरिएको सानो मन्दिरमा स्थापना गरिएको शिवलिङ्गको पूजाअर्चना हुन थाल्यो ।

तीर्थमयी नेपाल जननीका न्यानो काखमा सृष्टिको प्रथम सूर्योदयको किरणका साथै सृष्टि विस्तार भएको बुझिन्छ । अनन्त हिमशृङ्खला, हिमनदीहरूले अभिशिक्त नेपालको धर्तीमा प्रथम पटक मानव सृष्टिसँगै मानव सभ्यताको विकास भएको विश्वास गरिन्छ । मानसरोवरको गर्भबाट उद्भूत भएका सीता, अलकानन्द, ब्रह्मपुत्र, कर्णाली, सिन्धु, महानदीबाट नै मानव मस्तिष्कको विकास भएको कुरा पौराणिक ग्रन्थहरूमा स्पष्ट उल्लेख गरिएको छ ।

कैलाश र मानसरोवरका छत्रछायामा सृष्टिका चरणले स्पर्श गरेको हुनाले नै हामीलाई मानव या मनुष्य भनिएको हो । मानवको विकास र मानवका लागि आवश्यक वस्तु व्यवस्थाको क्रममा करुणावतार भक्तवत्सलभूतभावन भगवान् शङ्करले मानव सभ्यताको सनातन व्यवस्था नभत्कियोस्, मानव पुरुषार्थ निर्बाध रूपमा अगाडि बढिरहोस् भन्ने पवित्र सङ्कल्पका साथ वैद्यनाथ भगवान्का रूपमा अवतार ग्रहण गरी मानव सभ्यताको संरक्षण गरेको कुरा पुराणहरूमा प्रसिद्धै छ । 

मनुष्य चेतनशील प्राणी भएकाले मनमा विचार र चिन्तनका धेरै धारा बग्छन् । पुराणहरूमा वैद्यनाथधामको उत्पत्ति र महìव कस्तो छ ?, वैद्यनाथको वास्तविक क्षेत्र कुन हो ? यी कुराको गाँठो स्कन्द महापुराण अन्तर्गत मानसखण्डले खोल्दिएको छ ।

मानसखण्ड अध्याय १६६ अनुसार भगवान् शङ्करलाई प्रसन्न पार्ने उद्देश्यले महर्षिहरूद्वारा वृद्धगङ्गा एवं सरस्वतीको सङ्गम क्षेत्रमा ठुलो यज्ञ गरिएको थियो । दुवै नदीको परम्पावन सङ्गमको क्षेत्र नै वैद्यनाथ क्षेत्रका नामले विख्यात छ । देवी पार्वती पनि त्यहाँ कुमार कार्तिकेयका साथमा रहन्छिन् भन्ने विश्वास गरिन्छ । वैद्यनाथ जति शङ्करका लागि कैलाश एवं विन्ध्यपर्वत पनि उति प्रिय छैनन् । जसरी भगीरथद्वारा भागीरथी गङ्गाले यस धराधाममा अवतीर्ण भई धराधामलाई पावन गरेकी थिइन् त्यसै गरी वैद्यनाथ क्षेत्रमा प्रवाहित वृद्धगङ्गाको पनि महत्व बताइएको छ । 

मानसखण्डमा उल्लेख प्रमाणका आधारमा अछाममा अवस्थित वैद्यनाथ र भारतको झारखण्डमा रहेको वैद्यनाथका विषयमा विचार गर्नै पर्छ । वैद्यनाथ क्षेत्र समीपमा वृद्धगङ्गा र सरस्वतीको सङ्गम हुनुपर्ने रहेछ । अर्को कुरा मानसरोवर सामुन्ने उत्तरमा पर्नुपर्ने र वैद्यनाथदेखि उत्तर युग्मपर्वत, शङ्खपर्वत, गिरिपर्वत, नन्दापर्वत आसपासमा हुनुपर्ने प्रमाण तीर्थहरूको व्याख्या गर्ने ग्रन्थहरूमा सर्वोपरि प्रामाणिक पुराण श्रीमद् स्कन्द महापुराणको मानसखण्डले स्पष्ट सङ्केत गरेको छ । भारतको झारखण्डमा अवस्थित वैद्यनाथ क्षेत्रमा वृद्ध र सरस्वतीको सङ्गम छ कि छैन भन्दा त्यहाँ त सरस्वती र वृद्धगङ्गा हुने त कुरै छाडौँ नदी सङ्गम नै छैन । 

यस कारण निशङ्क वैद्यनाथ क्षेत्र नेपालको अछाम जिल्लाको साँफेबगर दक्षिणमा पर्दछ । अन्य पुराणमा सङ्केत गरिए अनुसार जब दशानन लङ्काधिपति रावणले जगत् विजेता हुने लक्ष्यका साथ कैलाश मानसरोवरमा गएर सयौँ वर्ष कठोर तपस्या गरे परन्तु कसै गर्दा पनि शिवजी प्रसन्न भई दर्शन नदिएपछि रुष्ट भई दक्षिणतिर उनी लागे । जब वृद्धगङ्गाको सङ्गममा पारिलो र रमाइलो फाँट उनले देखे त्यहीँ ठुलो यज्ञ प्रारम्भ गरी शिव आराधना गर्न थाले । 

पुराणमा भनिएको छ, वर्षौंसम्म यज्ञ गरे पनि शङ्कर भगवान्ले प्रकट भएर दर्शन नदिएपछि अन्त्यमा रावणले आफ्नै शिर काटी यज्ञमा हवन गर्न थाले । जब नौ वटा शिर काटेर १० औँ शिर काट्न तलबार हातमा उठाएर गर्धनमा पु¥याए भगवान् शङ्करले रुद्रगणयुक्त भई पार्वतीका साथ प्रकट भएर रावणलाई दर्शन दिए । 

रावणको तपस्याबाट प्रसन्न शिवले रावणलाई मनोवाञ्छित वरदान दिएर गुमाएका नौ वटा शिर पनि जस्ताको तस्तै पारी जोडिदिए । रावणको तपस्याबाट प्रसन्न भएका शिव सधैँका लागि पावनी वृद्धगङ्गाको किनारमा वैद्यनाथ रूपमा प्रतिष्ठित भए । 

अछामको वैद्यनाथ क्षेत्र समान दुनियाँमा अरू कुनै क्षेत्र छैन । नेपालका तीर्थको वर्णन गर्ने एक मात्र ग्रन्थ हिमवत् खण्ड हो भन्दा सुदूरपश्चिमलाई नेपालबाट अलग पारिएको जस्तो बुझिन्छ । हिमवत् खण्डमा सुदूरपश्चिमको नेपाललाई हिमवत् खण्डबाहिरको मानिएको छ । स्कन्दपुराण अन्तर्गतको मानसखण्डमा वैद्यनाथ क्षेत्रको महात्म्य, महाकाली नदीको महात्म्य, खेचरादि खप्तड लेक, दार्चुलाको मल्लिकार्जुन, डोटीको शैलेश्वरी, दिपायलको सेती नदीलगायत अन्य विभिन्न नदी तीथको बृहत् व्याख्या गरिएको छ । 

आद्य शङ्कराचार्य अनुसार पूर्वोत्तरमा पर्ने ज्वाला (प्राकृतिक रूपमा निरन्तर बलिरहने) का निकट सधैँ पार्वतीसहित बसिरहेका शिवको पवित्रभूमि वैद्यनाथ क्षेत्र हो । १२ ज्योतिर्लिङ्गमध्येको केदार र बनारसबाहेक सबै ज्योतिर्लिङ्ग रहेको स्थानबाट पूर्वोत्तरमा दैलेख दुल्लुस्थित ज्वाला क्षेत्र रहेको छ । वैद्यनाथ क्षेत्रको धुनीमा आगो निभ्दा दैलेख दुल्लु ज्वाला क्षेत्रमा पर्ने पादुका ज्वालाबाट अग्नि ल्याएर मात्र धुनी प्रज्वलित गर्ने परम्पराले पनि वास्तविकताको थप पुष्टि गर्दछ । 

सिजाकाल वा त्यसभन्दा पहिला वैद्यनाथको मन्दिर कस्तो थियो भन्ने सम्बन्धमा कुनै प्रमाण भेटिएको छैन तर सिजापति राजाहरूले आफ्नो ताम्रपत्र आदिमा मङ्गलाचरणका रूपमा श्रीकोट नाम उल्लेख भएको श्लोक अनुसार सिजापतिहरूले अवश्य नै कलात्मक ढुङ्गाको देवल बनाएको र त्यसलाई अछामी राजाहरूले संरक्षित गरेको हुनु पर्छ ।

कत्युरबाट आएका डोटीका रैका राजाहरूले पनि वैद्यनाथलाई आफ्नो इष्टदेवताका रूपमा पुज्ने गरेका थिए । विसं १८४९ मा अछामलाई वैद्यनाथ बाबाबाट अप्रत्यक्ष रूपमा आशिष प्राप्त भयो भन्ने गोर्खा दरबारको मान्यता थियो । बाबाबाट पाएको सपना र तदनुरूप प्राप्त फलले गर्दा स्वयं श्री ५ रणबहादुर शाहले पीर आइतबारनाथलाई काठमाडौँ बोलाई प्रदान गरेको विसं १८५२ भाद्र १५ को लालमोहरले पनि पुस्ट्याइँ गरेको छ । 

श्री ३ जङ्गबहादुरको आदेशले विसं १९०६ मा बाँकावीरको हत्या गरी अछामी जनताबाट आलोचित भएको, अपमानले मात्र होइन निःसन्तान भएका कारण दुखित भएका कप्तान भवानी सिंह स्वाँरले विसं १९२०/२५ ताका वैद्यनाथ मन्दिरमा झिँगटीको सट्टा ताम्रपत्रले छाना छाई मर्मत गरेका थिए । सिजापति अछामी राजामध्ये कसैले बुढीगङ्गाको दाहिने किनारमा ठुलठुला ढुङ्गाले चिनेका सिँढी र ठकुरी अनि खड्काको साझा चितास्थान निर्माण गराए । वैद्यनाथ क्षेत्रमा महाधीशका रूपमा पीर हुन्थे ।

वैद्यनाथ क्षेत्रमा आवश्यकता अनुसार मर्मतसम्भारको दायित्व पीरको हुन्थ्यो । विसं २००७ सालपछि डोटी गौँडामा प्राचीन सम्पदाको महìव नबुझेका बडाहाकिम आउन थालेका र डोटीमा पाँचको सङ्ख्यामा रहेका पल्टनका लागि नगद तिरोको सट्टा बाध्य पारिएको चामल तिर्न अछामीले इन्कार गरेका कारण गौँडाले पनि यसतर्फ ध्यान दिएन । 

वृद्धगङ्गाको बर्सेनि कटानले २०२० सालसम्ममा त वैद्यनाथ क्षेत्रको केन्द्रविन्दु बगरमा परिणत भयो । अहिले प्राचीन सम्पदाको महत्व बुझेका भक्तका कारण पहिलेकै प्रतिष्ठा प्राप्तिको मार्गमा छ वैद्यनाथ क्षेत्र । हाम्रो प्राचीन सम्पदा हामीले संरक्षण र प्रचारप्रसार नगरे अरू कसले गर्छ । हामीले सत्य उजागर गर्नै पर्छ । वैद्यनाथ क्षेत्रका लागि लेखिने साहित्य आज अझै लेख्न बाँकी छ । 

–युवामञ्च

Author

शीतल गिरी