अमरराज नहर्की
तनहुँ, कात्तिक १९ गते । तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुन भञ्याङमा भएको झैझगडामा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार स्थानीय ७० वर्षीय खिमबहादुर गुरुङ र ५८ वर्षीय खुसीमान गुरुङबीच आइतबार साँझ झैझगडा भएको थियो ।
झगडाका क्रममा खिमबहादुरले चिरपट प्रहार गर्दा खुसीमानको टाउकोमा चोट लागी गम्भीर घाइते हुनु भएको थियो ।
घाइतेलाई उपचारका लागि तत्काल बन्दीपुर अस्पताल लगिएको थियो। टाउको र दाहिने खुट्टामा चोट लागेको खुसीमानलाई प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको थियो ।
पोखरास्थित फिस्टेल अस्पतालमा उपचारको क्रममा राति १०ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव गण्डकी अस्पताल, पोखराको शवगृहमा राखिएको छ ।कुटपिट गर्ने खिमबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।